Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

एमयूमा ‘हेलो इफेक्ट’ आधारमा रिजल्ट

सुर्खेत ।
कर्णाली प्रदेशको शैक्षिक धरोहरको रुपमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले हेलो इफेक्टका आधारमा प्रवेश परीक्षाको रिजल्ट गरेको छ । यसरी आफू नजिकका ठानिने र पहुँचवालाहरुको फोनका आधारमा प्रवेश परीक्षामा सामेल भएका विद्यार्थीहरुलाई मात्र उर्तीर्ण गराउँदा वीरेन्द्रनगर बाहिरबाट परीक्षा दिन आएका करिब १०० जना भन्दा बढी विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ ।


मध्यपश्चिमाञ्चल विश्वविद्यालयले संचालन गरेको स्कूल अफ ल मा कानून विषय अध्ययनका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुको रिजल्ट गर्ने क्रममा हेलो इफेक्ट अर्थात चिनजान र भनसुनका आधारमा रिजल्ट प्रकाशित गर्दा अन्य विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको हो ।

हामीलाई पनि कानून पढ्ने मन छ । हामी पनि कानून पढ्नका लागि आएका हौ तर हाम्रो भविष्य माथि नै खेलवाड भएको छ भन्छन् प्रकाश उपाध्याय । विश्वविद्यालयले सबैलाई समान रुपमा हेर्नु पर्नेमा त्यसो नगरेको कारण आफूले कानून पढ्ने योजना अधुरै रहने हो कि भन्ने चिन्ताले ग्रसित बनाएको बताउँछिन् निशा शाही ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापकहरु विभिन्न निजि कलेजहरुमा पढाउने र सोही व्यक्ति विए एलएलविको प्रवेश परीक्षाको प्रश्नपत्र निर्माण गर्ने अनि अन्र्तावार्तादेखि रिजल्ट प्रकाशनमा समेत तिनै उपप्राध्यापकहरुको संलग्नता भएकाले यस्तो स्थितिको सिर्जना भएको बुझिएको छ । प्रवेश परीक्षाको रिजल्ट भइसकेपछि प्रश्नपत्र निर्माणदेखि रिजल्ट प्रकाशन समेतमा सहयोग गरेको भन्दै केही उपप्राध्यापकहरु केही नीजि कलेजहरुले पाटीको आयोजना गरेको बताउँछन् अर्का परीक्षार्थी कलम थापा ।

प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्र रुपमा परीक्षा दिएका परीक्षार्थीहरुले उक्त परीक्षा रद्द गरी पुनः विषय विशेषज्ञहरुको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिष्टारको कार्यालयमा निवेदन समेत दर्ता गरेको रश्मी शाहीले बताइन् ।

यस सम्बन्धमा विश्वविद्यालयका रजिष्टार डा. नारायणप्रसाद पौडेलले भने, ‘प्रवेश परीक्षाका बारेमा आएका विद्यार्थीका गुनासाहरु अध्ययन भइरहेको छ । विद्यार्थीहरुले भने अनुसार कमजोरी भएको देखिँदैन तर छानविन समिति बन्नका लागि कार्यकारीबाटै निर्णय गर्नुपर्छ ।’