नेपाल मगर संघको प्रादेशिक भेला सुरु
सुर्खेत ।
नेपाल मगर संघको कर्णाली प्रदेश स्तरीय प्रथम सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्काले भेलाको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भन्नुभयो, ‘राजनीतिक स्थिरताको पक्षमा नेपाली काँग्रेसले कुनै पनि मूल्य र मान्यतालाई बिर्सने छैन । वर्तमान संविधानमा केही कमजोरीहरु छन् । तर तिनलाई मिलाएर अगाडि लैजान आवश्यक छ । हामीले संविधानलाई सुधार गरेर अगाडि बढ्न आवश्यक छ । तर त्यसका लागि वर्तमान संविधानलाई रक्षा गर्न आवश्यक छ ।’ मूलभूत मूल्य र मान्यतामा असर नपर्ने गरि काँग्रेसले संविधान जारी गरेको बताउँदै विभिन्न तह र तप्काका समस्याहरुलाई समाधान गर्न संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । नेपाली काँग्रेसले सबै जाती, भाषा, धर्म र संस्कृतिको जगेर्नाका लागि सबैको सम्मान गर्ने महामन्त्री खड्काको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य ह्दयराम थानीले भन्नुभयो, चिल्ला कुरा गरेर होइन काँग्रेसले विधान संशोधन गरेर भएपनि मगरलाई सम्मानजनक स्थान दिनुपर्छ । सबैले पद अनुसारको जिम्मा लिनु पर्ने उहाँको भनाई थियो । कर्णाली प्रदेश काँग्रेसका लागि कठिन भएपनि कसैलाई काखा र पाखा गर्ने छैन उहाँले भन्नुभयो । वर्तमान सरकारको बारेमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, यो सरकारको बारेमा कुरा गर्नै मन छैन । केपी ओलीसँग सत्ता सहकार्य गर्न नहुनेमा उहाँले जोड दिनुभयो । सरकारमा जाने सम्बन्धमा काँग्रेसले बुद्धिमत्ता पूर्ण ढंगले निर्णय लिनु पर्ने थानीको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीले भन्नुभयो, नातागोताको कुरा गर्ने भएकोले हामी अगाडि बढ्न नसकेका हौ । आफ्नैको खुट्टा तान्ने प्रबृत्तिले पनि हामीलाई अगाडि बढ्न गारो भएको बताउँदै भोली हुने प्रशिक्षणमा सही कुरा सिकाउनु पर्ने बताउनु भयो ।
सम्मेलनमा विभिन्न वक्ताहरुले नेपाल मगर संघका बारेमा आ–आफ्ना भनाईहरु राख्नुभएको थियो । भोली (शनिबार) प्रशिक्षण समेत हुने जनाइएको छ भने प्रशिक्षणमा नेपाली काँग्रेसका युवा नेता गगन थापाको समेत सहभागीता रहने आयोजकले जनाएका छन् ।
नेपाल मगर संघको भेलामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाही, ह्दयराम थानी र टि.एन. योगीका साथै ओम थापा मगर, पूर्वमन्त्री शिवराज जोशी, प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठ, नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी दैलेखका सभापति कृष्णकुमार बिसीलगायतको सहभागीता रहेको थियो । भेलाको सभापत्वि नेपाल मगर संघ कर्णाली प्रदेशका सभापति पूर्णबहादुर राना मगरले गर्नुभएको थियो ।











