Loading... आजः ४ बैशाख २०८१, मंगलवार । Tuesday 16th April 2024

कर्णालीका नवनियुक्त मन्त्रीको सपथ आज साँझ ६ बजे

सुर्खेत ।
कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ आज साँझ ६ बजेको लागि तयारी भएको छ । आजै तीनजना मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको हो ।

नन्दसिंह बुढा (डोल्पा), अमरबहादुर थापा (दैलेख) र कुर्मराज शाही (कालीकोट)लाई मन्त्री पदको शपथ गराउने तयारी गरिएको कर्णाली प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गर्नुभएको थियो । नेकपा एमालेले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमा मत विभाजन हुँदा उनीहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका थिए ।

अमरबहादुर र कुर्मराज पहिलोपटक मन्त्री बन्न लाग्नु भएको हो भने नन्दसिंह बुढा पहिले पनि मन्त्री हुनुहुन्थ्यो । पहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएका बुढालाई अहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेकी विमला केसीलाई भने आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

फ्लोर क्रस गरेका एमालेका अर्का सांसद प्रकाश ज्वाला भने मन्त्री बन्नु भएन । उहाँलाई पनि उपयुक्त समयमा उपयुक्त जिम्मेवारी दिने मुख्यमन्त्री शाहीको तयारी छ । पार्टीको ह्वीप नमानेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीलाई साथ दिएको भन्दै एमालेले तीजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्न सिफारिस गरेको छ ।