Loading... आजः २८ बैशाख २०७८, मंगलवार । Tuesday 11th May 2021

शैक्षिक सत्र सुरु हुन नपाउँदै निजी विद्यालयसँग पब्लिकेशनहरुको कमिसनको खेल सुरु

सुर्खेत ।

यस वर्षको शैक्षिक सत्र असार १ गतेबाट सुरु हुने भएपनि कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भने निजी विद्यालयहरुसँग पब्लिकेशनहरुको कमिसनको खेल सुरु हुन थालेको छ । पव्लिकेशनहरुले निजी विद्यालयहरुसँग कमिसनको खेल खेल्ने र अभिभावकको ढाड सेक्ने पुरानै प्रवृत्ति भएपनि यस वर्ष कोरोना महामारीका कारण थला परेका निजी विद्यालय र पब्लिकेशन भने शैक्षिक सत्र सुरु हुन अभावै यस्तो घृणित कार्यमा लागिसकेका छन् ।

नाम नबताउने सर्तमा एक निजी विद्यालयका शिक्षकले भने -हामी त काम गर्ने मान्छे मात्र हौ । नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक नपाएर हामी आफै श्रम शोषणमा परिरहेका छौ तर पनि अभिभावकलाई निकै मर्कामा पार्ने खेल हुन्छ र भइरहेको छ ।

यता स्टेशनरी व्यावसायीहरुले पाठ्यपुस्तकमा प्रिन्ट भएकै मूल्यमा पुस्तक विक्री गर्नु पर्ने निर्णय गरेर एक रुपैयाँ पनि छुट नदिने अनि उता पुस्तक व्यावसायीहरुबाटै विद्यालयले भने ३० देखि ५० प्रतिशतसम्म कमिसन खाने गरेको पाइएको छ । साना कक्षाका पुस्तकहरुको अत्याधिक मूल्य राख्ने र विद्यालयलाई ५० प्रतिशतसम्म कमिसन दिने पब्लिकेशनहरुकै पुरानै चलन हो । जसको मार केवल अभिभावकहरुले मात्र खेप्नु परिरहेको बताउँछन् वीरेन्द्रनगर ६ का ललिता कुमारी शाही । एलकेजीको किताब १ हजार २७५ सम्म हालेर किन्नु पर्छ । एकातिर बालबालिकालाई भारी अर्कोतिर अभिभावकलाई आर्थिक बोझ ।

पब्लिकेशनहरुले त्यसरी दिने कमिशन विद्यालय संचालकलाई बुझाउने र आफ्नो पब्लिकेशनबाट प्रकाशित पुस्तक किन्न लगाउने यो पनि एक खालको सिण्डिकेट नै भन्छन्, वीरेन्द्रनगर ८ का जीवन शाही । उनले भने, बालबालिकाको दिमागले धान्ने भन्दा बढि किताब किन्न लगाउनु, एक वर्ष पठाएको किताब पछिल्लो वर्ष काम नलाग्ने बनाउनुले आर्थिक चलखेल हुन्छ भन्ने थाह छ तर के गर्नु बाध्य भएर पढाउनु परेको छ ।

पब्लिकेशनका संचालक एउटै तर नाम मात्र फरक राखेर पनि उनीहरुले आर्थिक चलखेल गरिरहेका छन् । त्यसरी काम गर्दा एकातिर सरकारलाई बुझाउनु पर्ने करमा पनि छलि गर्न सकिने उनीहरुको चाल हो भने अर्कोतिर यो वा त्यो पब्लिकेशनको नाममा आफैले ब्रम्हलुट गर्न सकिने प्रपञ्च ।

यस सम्बन्धमा निजी विद्यालयका छाता संगठनहरु प्याब्सन तथा एन प्याब्सन समेत मौन रहने गरेका छन् भने सरकारी निकायबाट अनुगमन गर्ने निकाय त कानमा तेल हाले झै भएका छन् ।

यस सम्बन्धमा वीरेन्द्रनगर नगरपालिका नगर शिक्षाका आशा अधिकृत उत्तम आचार्यले भन्नुभयो, ‘यो पुरानै समस्या हो । तर पनि अनुगमन गर्छौ कमी कमजोरी गरेको पाइएमा कानून बमोजिम कारवाही गर्छौ ।’ पाठ्यक्रम विकास केन्द्रले तोके बमोजिमका पाठ्यपुस्तक मात्र विक्री वितरण गर्नुपर्ने, नेपाल सरकारले तोकेको मूल्यमा विक्री वितरण गर्नु पर्ने कतै पनि कमीसन लेनदेन गर्न नपाइने भएकोले त्यसो नगर्न हामी जानकारी पनि गराउँछौं आचार्यले भन्नुभयो । यस्ता गलत कार्यहरुलाई रोक्नका लागि सबै क्षेत्रलगायत अभिभावक समेत सचेत हुन आवश्यक छ, आचार्यले बताउनु भयो ।