Loading... आजः ३ आश्विन २०७८, आईतवार । Sunday 19th September 2021

जनताको करबाट उठेको बजेटलाई किन खेर फाल्ने ? मन्त्री थापा

नेपाली कम्यूनिष्ट आन्दोलनको क्षेत्रमा लामो समय व्यतित गरेर दैलेखको पार्टी नेतृत्वलाई १५ वर्षसम्म कुशलता प्रदान गर्दै संविधान सभा सदस्य समेत भइसक्नु भएका दैलेखी कम्यूनिष्ट आन्दोलनका एक हस्ताक्षर कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ, अम्मर बहादुर थापा । कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेकोमा पछिल्लो समय पार्टीको कारवाहीमा पर्नुभएका मन्त्री थापासँग समसामयिक विषयमा क्वीकखबर डटकमका लागि सम्पादक खगेन्द्र अधिकारीले गरेको कुराकानीको सम्पादित अंशः

भौतिक पूर्वाधार विकास मन्त्री अम्मर बहादुर थापा ।

कर्णाली प्रदेशको मन्त्री भइसकेपछि विकास निर्माणका कार्यमा कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ ?
कर्णाली प्रदेश आफैमा भौगोलिक विकटता भएको प्रदेश हो । यहाँको तथ्याँकले पनि यहाँ ५१ प्रतिशत भन्दा बढि जनताहरु गरिबीको रेखामुनी रहेका छन् । हामी गरिबीको रेखा छौ भनेर भन्दै गर्दा यहाँको गरिबी न्यूनिकरण हुने होइन । त्यसका लागि आयआर्जनमूलक कार्यहरु गर्नु जरुरी छ । कर्णालीमा अहिले कति परिवारका आफ्नै बास छैनन् भन्ने कुरालाई हामीले राम्रोसँग बुझेका छौ । त्यसैले दुर्गममा रहेका, उत्पीडनमा परेका छन् तिनको विषयमा योजना बनाएको छु । जनता आवास कार्यक्रमलाई प्राथामिकताका साथ अगाडि लैजाने योजना छ । त्यसैले यो वर्ष कर्णालीमा घर विहिन परिवारका लागि धेरै घरहरुको निर्माण गर्ने कार्यको सूरुवात हुँदैछ । राज्यको स्रोत साधन गरिबीको रेखामुनी परेका जनता समक्ष पुग्न सकेको छैन । गरिबीको रेखामुनी रहेका जनता समक्ष राज्यको स्रोत साधन कसरी पु¥याउन सकिन्छ भन्नेमा मैले प्रदेशको मन्त्रीपरिषदमा समेत छलफल चलाएको छु । तिनको जिविकोपार्जनका लागि जीवनस्तर माथि उठाउन आवश्यक छ । कर्णाली प्रदेश सरकारको ‘समृद्ध कर्णाली:सुखारी कर्णालीवासी’ भन्ने नारालाई सत्य सावित गर्नका लागि ५१ प्रतिशत जनताका बीचमा राज्यको स्रोत साधन पुग्नुपर्छ ।

गरिबीको रेखामुनी रहेका जनताका पक्षमा काम गर्छौ भन्दै गर्दा भ्याटमा दर्ता भएको प्रमाण पत्र मागेर गरिबीको रेखालाई न्यूनिकरण गर्न सकिदैन । अर्काको काम गरेर छाक टार्नेहरुसँग प्रस्तावनाको माग गरेर अल्मल्याउने अनि पहुँचमा भएकाहरुले फेरी आफ्नो स्वार्थपूर्ति गनेृ जुन स्थिति छ । त्यसलाई चिर्ने योजना छ । अबको दिनमा गरिबीको रेखामुनी रहेका जनताका बीचमा कसरी पुग्ने ? जो साँच्चिकै पीडित छन्, जसलाई साँच्चिकै सहयोगको आवश्यकता छ त्यहाँसम्म कसरी जाने भन्ने बारेमा कर्णाली प्रदेश सरकार चिन्तनशील छ ।

योजनाको प्राथामिकिकरण कसरी गर्नुहुन्छ ?
प्राथामिकिकरण भनेको कसलाई अति आवश्यक छ । त्यसको अध्ययन गर्ने हो । जनता आवासकै कुरा गरौ । जसको छाना छैन । जसले छिमेकीको घरमा शरण लिनु परेको अवस्था छ । कतिपयले छिमेकीका गोठहरुमा रात गुजारीरहेका अवस्था छन् । जसले त्रिपालमुनी गुजारा चलाउनु परेको छ । तिनीहरुलाई राज्यले घर निर्माण गरेर छानामुनस् ल्याउने । छानामुनी ल्याएर मात्र हामी छोड्दैनौ । उनीहरुलाई बाँच्नका लागि आधारभूत आवश्यकता पूर्ति गर्ने तर्फ पनि हामीले सोचेका छौ । जसका लागि कृषि मन्त्रालयसँग पनि हाम्रो छलफल चलेको छ । कम्तिमा पनि उनीहरुलाई कृषिमा निर्भर बनाउन सकेको खण्डमा एकातिर स्थानीय उत्पादनमा बृद्धि हुने अर्कोतिर उनीहरुको दैनिक जीवन गुजारा गर्नमा पनि सहयोग हुने । त्यसरी हामीले योजनाहरुको प्राथामिकिकरण गर्छौ । जसले गर्दा गरिबी न्यूनिकरण कार्यको ढोका खोल्न हामीलाई सहयोग पुग्नेछ ।

२०७१ सालमा आएको बाढीका कारण विस्थापितहरु अहिलेसम्म त्रिपालमुनी छन् । व्यवस्थापन खै ?
तिनीहरुको विषयमा वार्षिक योजनाहरु परिरहेका छन् । त्यसको सदुपयोग कतिको भयो भएन ? त्यसको अनुगमनको आवश्यकता छ । तर कतिपय अवस्थामा यथार्थ बाढीपीडितहरुले राहत नपाउने अनि बाठाहरुले राहत लगिदिने प्रवृत्तिको अन्त्य गर्नुपनि आवश्यक छ । सुकुम्बासीले भन्दा हुकुमवासीले जग्गा पाएका धेरै उदाहरणहरु छन् । त्यसैले त्यसलाई कडाइका साथ अनुगमन गरिन्छ । राज्यले दिएको स्रोत र साधनलाई उपयोग गर्न लगाएर उनीहरुलाई छानामुनी सार्ने कार्यमा लागिपरेकै छौ । द्वन्द्वपीडित भनेर द्वन्द्वमा नपरेकाले राहत लैजाने तर सत्य पीडित भएकाहरुको नामै नआउने अवस्थाको अन्त्य गर्छौ ।

यहाँले बनाउनु भएका योजनाहरु पूरा गर्न कोरोना भाइरस बाधक भयो भन्ने उम्किने त होला नि ?
कोरोनालाई दोष दिएर हामी आफ्नो कार्यबाट भाग्न मिल्छ ? कोरोनाले विश्वलाई आक्रान्त पारेकै छ । तर पनि त्यससँग संघर्ष गर्दै नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै विकास निर्माणका कार्य अघि बढिएन भने हामीलेत कोरोनालाई दोष दिन्छौ तर हामीलाई दोष दिने त जनताहरु पनि छन् नि । राजनीतिकर्मीका लागि जनता भन्दा ठूलो कोही हुँदैन । त्यसैले जनताको स्वास्थ्य सुरक्षा पनि गर्छौ अनि जनतालाई आवश्यक विकासका योजनाहरु पनि क्रमवद्ध रुपमा सम्पन्न गर्दै अगाडि बढ्छौ । जनताको स्वास्थ्य सुरक्षाका लागि हामीले स्वास्थ्यकर्मी, अस्पताल लगायत सरोकारवालाहरुसँग गर्नु पर्ने छलफल, उनीहरुलाई चाहिने आवश्यक भौतिक सामग्रीदेखि बजेटसम्मको व्यवस्था गर्नका लागि जुन कार्य गरिरहेका छौ त यहाँहरुलाई पनि जानकारी नै छ । कोरोनाले असर पार्छ । पार्दैन भन्ने होइन । कोरोना माहामारीका कारण पार्ने असरलाई चिर्दै बाँच्नु बचाउनु हाम्रो दायित्व हो ।

असारे विकासमा बजेट खर्च गर्ने, योजना निर्माण गर्ने अनि बनेका संरचनााहरु दीर्घकालिन नहुने समस्याको अन्त्य हुन्छ त ?
एकदम सही प्रश्न उठाउनु भयो । तपाईंले भने झैँ यो असारे विकासको चर्चा हुन थालेको धेरै वर्षहरु भइसके । त्यसैले अहिले यो मन्त्रालय मैले सम्हालेको छु । त्यसैले विकास देखाउनका लागि मात्र होइन । विकास त उपभोग गर्नका लागि हुनुपर्दछ । त्यसका लागि विकास निर्माणका कार्यहरु नियमसंगत गर्नुपर्दछ । भौतिक संरचनाहरु दीर्घकालिन टिकाउ हुनुपर्दछ । माापदण्ड अनुसार बन्नुपर्दछ । जसका लागि मैले सर्व प्रथम सम्बन्धित कार्यालयका प्रमुखहरुसँग छलफल गरिसकेको छु । जसमा विकासका लक्ष्य प्राप्तिका लागि मैले निर्देशन दिनु पर्नेहरुलाई निर्देशन गरिसकेको छु । कोभिडका कारण केही असर गर्छ नै तरपनि तिब्रगतिका साथ अगाडि बढ्नुपर्छ । जनताका आवश्यकताका आधारमा विकास निर्माणका संरचनाहरु निर्माण गर्नुपर्छ । आज पुल निर्माण गरियो भने त्यो फेरी दुईवर्ष पछि नयाँ बनाउनु पर्ने अवस्था आउँछ भने त्यस्ता विकास गरेर जनताको करबाट उठेको बजेटलाई किन खेर फाल्ने ? यो कुरामा म निकै सचेत छु ।

अलिकति फरक प्रसंगमा जाऔ, तपाईं त फ्लोर नै क्रस गरेको मान्छे । विकास निर्माण गर्दा सरोकारवालासँग कसरी अगाडि बढ्नु हुन्छ ?
विकास निर्माण गर्ने कुरा झ्वाट्ट पनि हुँदैन र कहिले काँही झ्वाट्ट पनि गर्नुपर्ने हुन्छ । त्यसरी गर्दै गर्दा मापदण्ड नै मिचिदिने अधिकार कसैलाई छैन । अनि वर्षौवर्षसम्म ठेक्का अलपत्र पार्ने अधिकार पनि कसैलाई छैन । त्यसैले सर्वप्रथम निर्माण व्यावसायीहरुसँग छलफल गर्छु म । राम्रो गर्नेलाई प्रोत्साहन गर्ने र गल्ती गर्नेलाई कानून बमोजिम दण्डसजायको पनि व्यवस्था हुन आवश्यक छ । काम नगर्ने निर्माण व्यावसायीहरुलाई कालो सूचीमा राखेर कारवाहीको सुरुवात हुन्छ । त्यसका लागि कार्यालय प्रमुखसँग रेकर्ड माग गरिसकेको छु ।

दल, कार्यकर्ता र आफन्तको दबाब र प्रभावमा पर्नु हुँदैन भन्ने विश्वासिला आधारहरु के छन् ?
मान्छेले विश्वास गर्न सक्नुपर्छ । विश्वास भन्ना साथ गलत कुरालाई पनि विश्वास गर्नुहोस् भन्दिन म । तर तपाईंहरुलाई विश्वास भएको एउटा कुरा के हो भने म कसैको दबाबमा बस्ने मान्छे होइन । मैले फ्लोर क्रस गरे किन म कसैको दबाबमा बस्दिन भन्ने पुष्टि भएन । त्यो भन्दा ठूलो विश्वास के हुनसक्छ । जनताका लागि गरिने राम्रा कामका लागि मसँग सहमति गर्नुपर्छ । अझ भन्नुहुन्छ भने मलाई जनताले विश्वास गरेका छन् । जुन काम गर्छु भन्छु त्यो काम टाउको टेकेर गर्छु अनि जुन काम गर्न सक्दिन भन्छु त्यो काम मबाट हुँदै हुँदैन ।

एकातिर पार्टीले कारवाही गरिसक्यो । अर्कोतिर भविष्यमा आउने निर्वाचन छन् । अबको राजनीतिक यात्राका बारेमा बताइदिनुहोस् न ।
पार्टीले कारवाही ग¥यो । म संविधान सभाको सदस्य पनि भएकोले हामीले नै कानूनको निर्माण गरेका हौ । कारवाही हुन्छ भन्ने पनि थाह थियो । तर त्यो कारवाहीलाई म कारवाही मान्दैन । अल्पमतले गरेको कारवाही कारवाही हुन्छ ? गणपुरक संख्या नै नपुगेर गरिएको कारवाही मान्य हुन्छ ? अर्को कुरा के भने कम्यूनिष्ट पार्टीको सिपाही हुँ । १५ वर्ष जिल्लामा नेतृत्व गरे । पार्टी बचाउनका लागि मैले जुन योगदान गरेको छु त्यसले आफैलाई खुसी दिन्छ । फ्लोर क्रस गर्दा मुटु ढुकढुक नभएको होइन । तर पार्टीका लागि जनताका लागि मैले प्रसस्त काम गरेको छु । तर यतिबेला कम्यूनिष्ट आन्दोलनलाई नै विसर्जन गर्ने बाटोमा जाने जुन खेल भयो त्यसलाई मान्न सकिएन । सहमति र समझदारी तर्फ भन्दा पनि एकाधिकार कायम गर्ने ढंगबाट अगाडि बढ्न थालेपछि फ्लोर क्रम गर्नै पर्ने देखे । कम्यूनिष्ट आन्दोलनलाई बिसर्जनबाट बचाउनका लागि फ्लोर क्रम गरिएकै हो । २०५४ सालमा फरक मतको पक्षमा रहेर विभाजनको विपक्षमा रहेको मान्छे हुँ । अझैँ पनि यदि नेकपा एमाले एकतावद्ध भएर अगाडि बढ्छ भने म एक जना व्यक्ति पदबाट हट्ने मात्र होइन जीवनबाट पनि हट्न तयार छु । तर नेकपा एमाले, कम्यूनिष्ट आन्दोलन, माक्र्सवादी विचारलाई गति दिन सकिन्छ भने आन्दोलनमा गएको एउटा योद्धा शहिद हुन तयार छ । अन्यायका विरुद्धमा लागिएको हो मन्त्री पद प्राप्त गर्नका लागि लागिएको होइन ।

मन्त्री भएपछि गृहजिल्ला जाँदाको अनुभव बताइदिनु होस् न ।
जनताले बाटो बाटोमा स्वागत गरे । ठाउँ ठाउँमा स्वागत गरे । म मन्त्री भइसकेपछि मेरा समर्थक मात्र होइन मेरा विपक्षमा बोल्नेहरुले पनि स्वागत गरे । निडर र स्वच्छ विचारको मान्छे हो भनेर चिन्नेहरुले खुसी व्यक्त गरे । जनतामा खुसी छाएको छ । जनताका सम्मानका निमित्त दबाबमा पर्ने मान्छे होइन फ्लोर क्रस गरेर भएपनि कम्यूनिष्ट आन्दोलनको रक्षाको लागि लडिरहेकोमा बधाई दिए । कर्णाली प्रदेशको विकासका लागि आफ्नो कार्यकाल सफल बनाउने कार्यमा तल्लिन छु ।

अन्तमा,
अन्यायका विरुद्धमा लड्छु भनिरहँन पर्दैन त्यो । मेरो पृष्ठभूमिले पनि देखाएको छ । फ्लोर क्रम गरेपनि पार्टी छोडेको छैन । म अहिले पनि नेकपा एमालेकै सिपाही हुँ । कतिपय साथीहरु पार्टी छोडेर दरबार छिर्दासम्म हिनताबोध नगर्नेहरु छन् । मैले गलत कुरालाई मान्न नसकेर फ्लोर क्रस गरेको मात्र हुँ । म मेरा लागि कम्यूनिष्ट भएको होइन समाजका लागि, जनताका लागि कम्यूनिष्ट आन्दोलनको सफलताका लागि म कम्यूनिष्ट भएको हुँ । अहिले हामीलाई ढोका भित्र थुन्ने प्रयास गरिएको छ । ढोका खुलेन भने भोली बाध्य भएर झ्याल फोडेर बाहिर निस्किनु पर्ने अवस्था आउन सक्छ । त्यसका लागि पनि तयार छौ । जनताको आवश्यकतालाई पूर्ण रुपमा पूर्ति गर्नका लागि हामी अगाडि बढ्नु पर्छ । माक्र्सवादको बाटोबाट अम्मरबहादुर थापा कहिल्यै पनि दायाँबायाँ लाग्दैन । धन्यवाद ।