Loading... आजः २ असार २०७८, बुधबार । Wednesday 16th June 2021

निषेधाज्ञाको पालना गरौं

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै यसले नेपालमा पनि तिब्र रुप लिएको छ । यसबाट बच्नका लागि एउटै मात्र उपायको रुपमा भौतिक दुरीको कायम गर्नु र सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गर्नु नै हो । यसै कुरालाई मध्यनजर गरेर संक्रमितको दर उच्च भएका जिल्लाहरुमा निषेधाज्ञा लागु भएका छन् । त्यसै अन्तर्गत कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा पनि निषेधाज्ञा लागु भएको एक हप्ता भन्दा बढि भइसकेको छ । यो क्रमलाई स्थानीय प्रशासनले यही वैशाख ३१ गतेसम्म लम्ब्याएको छ । नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि गरिएको निषेधाज्ञा जनताकै लागि हो भन्ने कुरालाई जबसम्म बुझ्न र व्यवहारमा लागु गर्न सकिँदैन तबसम्म यसको अवज्ञा गर्ने क्रम चलिरहन्छ । सरकारले गरेको निषेधाज्ञा हाम्रै लागि हो हाम्रैका लागि हो भन्ने कुरालाई आत्मसाथ गरेर यसको पूर्ण रुपमा पालना गर्नु सचेत नागरिकहरुको जिम्मेवारी र कर्तव्य दुबै हो ।

निषेधाज्ञाको समयमा समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्नु प्रशासनदेखि आम नागरिकहरुको पनि कर्तव्य हो । तर निषेधाज्ञाकै समयमा कसरी फाइदा लुट्न सकिन्छ र कसरी छोटो समयमा नै धनि बन्न सकिन्छ भनेर अवसरको खोजि गर्नेहरु मौका पर्खिरहेका हुन्छन् । मान्छे एकातिर समस्यामा परिरहेको हुन्छ भने त्यसलाई मानसिक, आर्थिक र सामाजिक रुपमा धरासायी बनाउनेहरुलाई कानून बमोजिम कडा कारवाही गर्न आवश्यक छ । पछिल्लो समयमा सुर्खेतमा अखाद्य वस्तुको ओसारपसार भइरहेको छ । खाद्य वस्तुको ढुवानी गर्नका लागि बनाइएको पासको दुरुपयोग गरेर यस्तो समयमा सुर्तिजन्य पदार्थ लगायत अन्य पदार्थहरु समेत ओसारपसार हुनु दुःखद कुरा हो । सर्वसाधारण नागरिकहरुले अत्यावश्यक वस्तुहरु प्राप्त गर्न नसकिरहेको अवस्थामा अखाद्य वस्तुको ओसारपसार गरेर अकूत सम्पत्तिको आर्जन गर्न खोज्नेहरु सजायका भागिदार बन्नै पर्छ ।

निषेधाज्ञाको समयमा विभिन्न संघसंस्थाका परिचय पत्र बोकेर हिड्नेहरु पनि सचेत हुन आवश्यक छ । आइडी कार्ड झुण्ड्याउँदैमा कोरोनाबाट बचिने होइन । अत्यावश्यक कार्यका लागि प्रशासनको अनुमति लिएर हिड्नका लागि मात्र यसको प्रयोग गर्नुपर्नेमा कतिपयले नक्कली आइडी कार्ड समेत बनाएर प्रयोग गरिएको पाइनुले निषेधाज्ञाको खिल्ली उडेको छ । यस्ता नक्कली कार्डको प्रयोग गर्नेहरुलाई पनि कानून बमोजिम कारवाही गर्न आवश्यक छ भने त्यसरी निषेधाज्ञाको अवज्ञाले भोली हामीमा हाम्रो परिवारमा अथवा हाम्रो समाजमा र देशमा नै कोरोनाले खतरनाक रुप लिन सक्ने भएकोले निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्नु गराउनु् तपाईं हामी सबैको कर्तव्य र जिम्मेवारी हो । आजको सूक्ष्मदृष्टिमा प्रकाशित सम्पादकीय ।