Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता

सुर्खेत

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता दिने निर्णय गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीमा रातदिन नभनि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप भत्ता दिने निर्णय गरेको हो । प्रदेशमा बसेर काम गरुन् भन्ने हेतुले एकसय ३५ प्रतिशत सम्म थप प्रोत्साहन रकमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

साथै कोभिड १९ को प्रतिकार्य व्यवस्थापनमा शव व्यवस्थापन लगायतका कार्यमा सुरक्षाकर्मीलाई समेत खटाइएको छ । र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका लागि कोभिड १९ प्रतिकार्यको लागि आवश्यक लजिस्टिकको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेश सरकारले स्थानीय तहहरुमा सञ्चालित अस्पतालहरुलाई कोरोना विरुद्ध लड्नको लागि बजेट दिने निर्णय गरेको छ। जसका लागि सरकारले कोरोना रोकथामका लागि भन्दैँ १२ करोड १२ लाख २० हजार बजेट उपलब्ध गराएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका र प्रतिकार्य व्यवस्थापनका लागि ३३ वटा स्थानीय तह अन्तर्गतका रणनैतिक अस्पतालहरुलाई उक्त रकम प्रदान गरिने प्रदेश सरकारले जनाएको छ ।