अस्पताल माथि राजनीति
पछिल्लो समयमा कर्णाली प्रदेश अस्पताल माथि राजनीतिक गतिविधिहरु अघि बढिरहेका छन् । साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएपछि नै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा राजनीति गर्न सुरु गरिएको थियो । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने निकायमा राजनीति गरेर जनतालाई भ्रम सिर्जना गर्दै भोटको लालसा राख्नु कदापी क्षम्य छैन । अस्पताललाई प्रदेशको मातहतमा ल्याईसकेपछि अहिले फेरी संघकै मातहतमा लैजानका लागि गरिएका निर्णयहरु सर्वजनिक भइरहेका छन् । यसले कर्णालीवासीका सर्वसाधारण जनतालाई स्वास्थ्य उपचार नपाइएला कि भन्ने पिरलो छ भने नेताहरुलाई आफूले गरेको हो भन्दै जनतालाई भ्रम छर्न सकिन्छ कि र जनमतलाई आफ्नो पक्षमा ल्याउन सकिन्छ कि भन्ने चिन्ता बाहेक अरु छैन ।
अस्पतालको संरचना सुर्खेतमै रहने हो । सेवा यहीका जनताले पाउने हुन् तर काम गर्ने र गराउनेहरुका बीचमा हुने तालमेल र जिम्मेवारी बोधको कुरामा प्रदेश मातहतमा भएपनि त्यसलाई हेर्ने र त्यसको अभिभावकत्व निर्वाह गर्ने अधिकार र कर्तव्य संघीय सरकारमा छँदैछ । संघीयताको अभ्यासको सुरुवातसँगै अस्पताललाई पनि प्रदेश सरकारको मातहतमा दिइसकेपछि यसमा भएका परिवर्तन तथा यसबाट यहाँका नागरिकले प्राप्त गरेको सेवालाई विश्लेषण गर्न जरुरी छ । तर त्यसो नगरेरै कोरोना महामारीको समयमा विरामी भर्ना गर्न सकिदैन भनेर अस्पताल निर्देशकले निकालेको विज्ञप्तिलाई नै आधार बनाएर अस्पताल र प्रदेश सरकारको कमजोरी भएको भन्ने अर्थ लगाउँदै अस्पताललाई संघमा लैजाने हो भने भोलीका दिनमा अन्य संरचनाहरुले समेत कमीकमजोरी गरेका बेलामा यो नजिरले कत्तिको काम गर्ला भन्ने बारेमा सोच्न आवश्यक छ ।
यदि प्रदेश सरकारले आफ्नो मातहतमा रहेको अस्पताललाई सही ढंगले संचालन गर्न नसकेको भन्दै राजनीतिक चलखेल हुने हो भने भोली प्रदेश सरकारले काम गर्न नसक्ने अवस्था आएको बेलामा वा कुनै प्रदेश नै आत्मनिर्भर बन्न नसक्ने अवस्था आयो भने अझ भन्ने हो के गर्ने ? प्रदेशको औचित्य छैन भनेर संघमा गाभ्ने काम हुने हो भने हिजोका दिनमा यति ठूलो आन्दोलन अनि त्यो त्याग र बलिदानी गरेर संघीयतामा होमिनुको के फाइदा थियो । त्यसैले अहिले कर्णाली प्रदेश अस्पताललाई निशाना बनाएर जुन राजनीतिक खेल खेलिँदै छ त्यो गलत छ र जनताको हितमा छैन भन्ने कुरालाई बेलैमा बुझ्न आवश्यक छ । अन्यथा भोली पछुताउनु बाहेक अर्को उपाय हुने छैन ।






