Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कांग्रेस नेतृत्वमा १२ को दाबी

कांग्रेस महाधिवेशन : देउवा र पौडेलको नेतृत्व अस्वीकार्य

काठमाडौं  |

नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्।

शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन्। स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महतले दाबी गरेका छन्। यस्तै युवा नेता कल्याण गुरुङले पनि आफू सभापतिको उम्मेदवार हुने घोषणा गरे।

पौडेलले आफू एक पटक मात्रै चुनाव लड्ने भन्दै सहयोगका लागि आग्रह गरेका छन्। अब देउवा र पौडेलबाट नचल्ने भएकाले आफूलाई उम्मेदवार बनाउन अन्य नेताले आग्रह गरेका छन्। डा.शेखर कोइरालाले विगत लामो समयदेखि सभापतिका लागि भन्दै अभियान नै सञ्चालन गरिरहेका छन्।

आगामी १४ औं महाधिवेशनमा आफ्नो समूह एक भएर जानुपर्ने विषयमा पौडेल पक्षको भेलामा छलफल भएको थियो। आफ्नो समूह एक भएर चुनाव लड्नुपर्छ भन्ने विषयमा छलफल भएको नेता गुरुङले बताए। उनले भने, ‘तर निचोडमा पुगेको छैन, छलफल जारी छ।’ उनले जनचाहनाअनुसार नै युवा नेतृत्व गरेर आफू चुनावमा जाने बताए।

आगामी महाधिवेशनमा ५० प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आउने भएकाले आफूलाई जित्न सजिलो हुने उनको दाबी छ। ‘५० प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ आउँछन्, पुराना राजनीतिक नियुक्तिलगायतका विषयमा भएको काखापाखाले नेतृत्वसँग रुष्ट छन्,’ उनले भने।
पौडेल पक्षको भेलामा क्रियाशील सदस्यताको छानबिनको कस्तो मापदण्ड बनाउने भन्ने विषयमा छलफल भएको युवा नेता गुरुङले जानकारी दिए।

निधि, कोइराला र सिंहबीच छलफल 
त्यस्तै, पारिवारिक विरासतका उत्तराधिकारीका रूपमा रहेका नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनका लागि भन्दै छलफल चलाइरहेका छन्। शुक्रबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनको विषयमा छलफल भएको छ।

उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ। हाम्रो पहलमा सबै खुसी छन्।’ पूर्वमहामन्त्री सिंहले त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए। उनले भने, ‘समय आएपछि त्यो हुन्छ। एक÷दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन। हामी सकारात्मक दिशातिर गइरहेका छौं। यो छलफललाई निरन्तरता दिनेछौं।’

यसअघि विमलेन्द्र निधिको निवासमा छलफल गरेका थिए।  निधि देउवा प्यानलमा छन् भने कोइराला र सिंह पौडल प्यानलमा छन्। महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र, गणेशमान पुत्र प्रकाशमान र बीपी कोइराला पुत्र डा. शशांकको यो छलफलले कांग्रेस राजनीतिमा पछिल्लो समयमा हलचल नै उत्पन्न भएको छ। उनीहरूले १३ औं महाधिवेशनमा उम्मेदवार भएका देउवा, पौडेल र सिटौलालाई फेरि दाबी गर्न नदिने रणनीति बनाएका छन्। तीन जनाबीच सहमति गरेर पावर सेयरिङ गर्ने रणनीतिमा पनि उनीहरू छन्। स्रोतः अन्नपूर्णपोष्ट