पुरुषहरु खेतमा महिलाहरु वनतिर
सुर्खेत ।
यतिबेला असार चलिरहेको छ । यस वर्ष बेलैमा मनसुन सुरु भएपनि केही दिनदेखि वर्षा रोकिएका कारण सुर्खेतका सबै खेतहरुमा धान रोपाइँ हुन सकिरहेका छैनन् । तरपनि नजिकैका नालाहरुबाट पम्पसेटको मद्दतले पानी तानेर रोपाइँ गर्न किसानहरु व्यस्त छन् । विहानैदेखि पुरुषहरु खेतमा आली लगाउन तथा मेलो बनाउनमा व्यस्त देखिन्छन् भने महिलाहरु वनतिर लाग्छन् ।
घरपालुवा जनावरका लागि घाँस तथा दाउराका लागि महिलाहरु वनमा जाने गरेका हुन् । असारको महिनामा दिनमा घान रोपाइँका लागि महिलाहरु पनि रोपारको रुपमा खेतको काममा व्यस्त हुनु पर्ने भएकोले विहानै घाँस दाउराको जोहो गर्नका लागि महिलाहरु वनमा जाने गरेको बताउनु हुन्छ वीरेन्द्रनगर ११ निवासी पविसरा रेग्मी । पुरुषहरु घाँस दाउराका लागि कमै काम गर्ने गरेको सुनाउँदै रेग्मीले भन्नुभयो, ‘घाँस दाउराको काम गर्ने त सधैँ हामीहरुले नै हो जस्तो भएको छ तर आजभोली खेतमा काम गर्नुपर्ने भएकोले पुरुषहरुको फुर्सद नै हुँदैन ।’
सामुदायिक वन भएकोले नजिकै घाँस दाउरा काट्न निषेध गरिएको छ । त्यही भएर पनि अलि टाढा जानु पर्ने र यता रोपाइँपनि भेटाउनु पर्ने भएकोले घाँस दाउराको जोहो गर्नका लागि महिलाहरु निकै हतारिएका देखिन्छन् । घाँस दाउराका लागि वनमा आउँदा प्राकृतिक सुन्दरताको मज्जा लिन पाइने भएकोले पनि आनन्द आउने बताउनु हुन्छ वीरेन्द्रनगर ११ कै पवित्रा शाही । विहानै चराचुरुङ्गीको आवाजले मीठो धुन बजेको जस्तै लाग्छ । अनि प्रयाप्त अक्सिजन पनि पाइने भएकोले झनै आनन्द आउने गर्दछ शाहीले थप्नु भयो ।
जे होस् असारमा मानो रोपेर मुरी उब्जाउने दिन भएकाले पनि किसानहरु कत्ति पनि अल्छी नगरेर काम गरिरहेका हुन्छन् जुन हेर्दा र सँगसँगै काम गर्दा पनि आनन्दको अनुभूति हुन्छ । भनिन्छ, असारमा सुरुवाल लगाउने मान्छे मंसिरमा पराल चोर्दछ । (रुपा प्रशिक्षार्थी पत्रकार हुन् ।)







