Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

गृहले बढायो प्रचण्ड र नेपालको सुरक्षा

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाउन थालिएको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई खटाइएको हो ।

कार्यविधिले प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था गरेको छ । तर सुरक्षा चुनौती भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा प्रचण्डलाई डीएसपीको नेतृत्वमा सुरक्षा दिने निर्णय भएको मन्त्रालयका एक उच्च अधिकृतले बताए ।

भीआईपी सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई घरेलु काममा प्रयोग गरिएकाले विकृति बढेको भन्दै रामबहादुर थापा ‘बादल’को कार्यकालमा गृह मन्त्रालयले भीआईपी सुरक्षा मापदण्ड बनाएको थियो । त्यसअनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले आजीवन प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र र दुई जना नेपाल प्रहरीका कर्मचारी सुरक्षार्थ प्रयोग गर्न सक्छन् ।

कार्यविधि ल्याएलगत्तै प्रचण्डले ओली सरकारले पूर्वाग्रह राखेर सुरक्षाकर्मी घटाएको भन्दै गुनासो गरेका थिए र पूर्वजनमुक्ति सेनालाई खटाएका थिए ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत प्रचण्डमाथि सुरक्षा चनौती रहेकाले डीएसपीको नेतृत्वमा सुरक्षा दिनु अस्वभाविक नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘कार्यविधिले पनि थ्रेटको आधारमा पनि सुरक्षाकर्मी थपघट गर्न सकिने परिकल्पना गरेको छ, त्यही अनुसार सुरक्षाकर्मी थपिएको हो ।’

यसैबीच, नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा पनि बढाइएको छ । ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो ।