Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु

काठमाडौं ।

कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे/तीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।

‘रेगलुर र आंशिक सबै परीक्षा सुरु गरेका छौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘विद्यार्थीहरु अलमोस्ट सबै सहभागी भएका छन् ।’

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

केही प्राविधिक समस्या आएको स्वीकार्दै परीक्षा नियन्त्रक जोशीले अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको र नमिलेका अन्य कुराहरु विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने बताए ।

‘परीक्षा दिन आएकालाई परीक्षामा बसाउनुस् पछि सच्याउँछौं भनेका छौं, जे होस् राम्रो भयो, सबैजसो उपस्थित भएका छन्,’ उनले भने ।

बिहान सात बजेबाट परीक्षा सुरु भएको र अहिलेसम्म गम्भीर समस्या केही पनि नआएकाले आफूहरु उत्साहित भएको उनले बताए । परीक्षा सन्चालनमा सहयोग गरेको भन्दै उनले सबै विद्यार्थी, अभिभावक, कर्मचारीलगायतलाई धन्यवादसमेत दिए ।