पूर्वतयारी थालौं
विश्वमा फैलिएको कोरोना भाइरसको तेस्रो लहर नेपालमा पनि देखा परिसकेको छ । पहिलो लहरको समयमा खासै मानवीय क्षति नभएपनि दोस्रो लहरसम्म आइपुग्दा नेपालमा पनि ९ हजार ५ सय भन्दा बढिले ज्यान गुमाइसकेका छन् । एकपछि अर्को गर्दै आउने कोरोनाका नयाँ–नयाँ भेरियन्टले मानव जीवनमा थप संकट पैदा गरिरहेका छन् । जसका कारण मानव जीवन निकै प्रभावित भइरहेको छ । लकडाउन तथा निषेधाज्ञाले संक्रमण फैलिनबाट केही नियन्त्रण गर्न सकिएपनि यो नै यसको उपचार भने होइन । कोरोना संक्रमण भइहालेमा त्यसको उपचारको लागि गर्नु पर्ने व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।
कर्णाली प्रदेश आफैमा विकट र विपन्न भएकोले र यहाँका स्वास्थ्य संस्थाहरुमा पर्याप्त उपकरणको कमी भएको कुरा संघीयदेखि स्थानीय सरकारहरुलाई समेत जानकारी नै छ । पहिलो र दोस्रो लहरसँग जेनतेन जुधेको कर्णाली प्रदेशमा तेस्रो लहरसँग जुध्नका लागि बेलैमा पूर्वतयारी थाल्न आवश्यक छ । कोरोनाको संक्रमण फैलिन नदिनका लागि अपनाउनु पर्ने सर्तकतादेखि नागरिकहरुको दैनिक जीवनमा आवश्यक पर्ने अत्यावश्यक वस्तुहरु, खाद्यन्न तथा औषधीहरुलगायतको उचित प्रबन्ध मिलाउन सक्ने हो भने उसले पार्ने प्रभावबाट आउन सक्ने समस्यासँग जोगिन र जोगाउन सकिन्छ ।
कोरोना लागिहालेमा के गर्ने र लाग्न नदिनका लागि के गर्ने भन्ने बारेमा ठोस योजना बनाएर अगाडि बढ्नु पर्छ । त्यसका साथै आम नागरिकहरुले पनि आफू र आफ्नाको स्वास्थ्यलाई सुरक्षित राख्नका लागि सरकारले तोकेका मापदण्डहरु पूर्ण रुपमा पालना गर्नैपर्छ । कोरोना केही होइन भन्ने ठानेर लापरवाही गरियो भने त्यसले निम्त्याउन सक्ने विषम परिस्थितिले जीवनभरका लागि पछुताउनु बाहेक अरु केही हुनेछैन । त्यसैले कोरोनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनका लागि नागारिकस्तरबाट पनि पूर्वतयारी हुनु नै पर्छ । सरकारको मात्र भर परेर नागरिकहरुले लापरवाही गरेको खण्डमा सरकारलाई व्यवस्थापनमा समस्या आउन सक्छ भने विरामीहरुले अनाहकमा ज्यान गुमाउनु पर्ने हुनसक्छ । कोरोनाले सानो ठूलो वा धनि गरिब नचिन्ने भएकोले म फालानो पदको मान्छे वा म यस्तो र उस्तो मान्छे भन्दै अनाहकका कुरा गरेर आफूलाई सर्वैसर्वा ठान्न थालियो रोगको शिकार हुन बेर लाग्दैन । आफू आफ्नो परिवार आफ्नो भविष्यलाई ख्याल गरेर नागरिकहरु पनि सचेत बनौ अनि सरकारले पनि छैन र सकिदैन भनेर पन्छिन नमिल्ने भएकोले आवश्यक पूर्वतयारीमा आजैदेखि जुटौं । अनि मात्र कोरोनाको तेस्रो लहरको सामना गर्न सहज होला कि ।






