Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

यात्रा संस्मरण- मध्यपश्चिम विश्वविद्यालयले जुराएको त्यो भ्रमण

स्वर्णीम सपनामा आधारित निष्पट्ट अधेँरी रात चिर्दै ल्याएको त्यो सुन्दर बिहान अर्थात २०७७ चैत्र ०४ गते बुधबारको बिहान । मनमा अनेकन तरङ्ग, अनेकन प्रश्न र अनेकन उत्तर सूर्योदयमा लिप्त भएको सुर्खेतको उर्वर भूमि दाँया तर्फ प्रिय सखा टेकेन्द्र खड्का र बायाँ तर्फ दीपक तिवारी भ्रमण कै विषयमा केन्द्रीत विविध सन्दर्भमा दिव्य संवाद गर्दै मध्यपश्चिम विश्वविद्यालयको प्रवेशद्वारमा पुगेको पत्तै भएन । विश्वविद्यालयको आगनमा शिक्षाशास्त्र संङ्कायका सहायक डीन आदरणीय गुरु भद्र, शालीन र बौद्धिक व्यक्तित्व विष्णुकुमार खड्का संग संयोगबस मंगलमय भेट उहाँ संग पनि शैक्षिक भ्रमण मै केन्द्रीत रहेर प्रेमील संवाद तथा शुभेक्षा र शुभकामना ग्रहण संगसंगै गुरुदेवले जोड्नु भएको माया नमार्नू है भन्ने वाक्य हृदयको बाटो हुदै अन्तरहृदयमा गएर टक्क अडियो ।

दीपक उपाध्याय

आधुनिक नेपाली नाटक र एकाङ्कीको विषयमा गुरुआमा फूलमती खरेलले अध्यापन गराई रहेको बेला विस्तारै बन्द ढोका खोलेर गुरुआमा संग अध्यापन कक्षमा प्रवेश अनुमती के मागेथें प्रत्येक साथीहरुको मन हिन्दु दर्शन र बौद्ध दर्शनको अनुसन्धानार्थ दिव्य स्थल श्री स्वर्गद्वारी र लुम्बिनीमा शैक्षिक भ्रमणको विषयमानै केन्द्रीत भयो । सबैको मनमा भ्रमणको हुटहुटी, अनन्त कल्पना, दिव्य मनोरञ्जन गर्ने चाहना, चाँडै विश्वविद्यालयको आगन छोडेर श्री स्वर्गद्वारी र लुम्बिनी तर्फ प्रस्थान गर्ने अभिलाषा आदि, ईत्यादी । भ्रमण अनुमति पत्रका लागि शिक्षाशास्त्र केन्दीय क्याम्पसका क्याम्पस प्रमुख अत्यन्तै सरल, शालीन, कञ्चन मनका संवाहक र यथार्थताको गोरेटोमा निर्लिप्तता पूर्वक सफर गर्ने एक बौद्धिक यात्री आदरणीय गुरु जसविर रोकाको कार्यकक्ष प्रवेश गरेँ । मेरो प्रस्ताव सजिलै ग्रहण गर्दै क्याम्पस प्रमुखबाट भ्रमण अनुमति पत्र संगै सुझाव, सल्लाह, शुभेक्षा र शुभकामना प्रदान । शैक्षिक भ्रमण सफलताको पहिलो चरणको हिस्सेदार क्याम्पस प्रमुख आदरणीय गुरु जसविर रोकालाई यो संस्मरण लेख्न बस्दा म सप्रेम सम्झिरहेछु ।

प्रियजनहरु संगको मेरो जीवनको पहिलो शैक्षिक भ्रमण म पनि निकै उत्साहित । प्राय सधैँ बोकिरहने सानो झोला, एकसरो लुगा संगसंगै विशाल अवसर र चुनौति भिरेर सूर्यास्तको समयमा विश्वविद्यालयको आगनमा पाइला टेकेँ । यस्तो लाग्यो शिक्षाशास्त्र केन्द्रीय क्याम्पसको प्रशासनीक भवनले शुभेक्षा प्रकट गरिरहेछ, सरस्वती माताको आगनमा हाँसेर फूलेका फूलहरुले शुभकामनाका सुकुमार शब्दहरु पस्किरहेछन् आदि, ईत्यादी । भ्रमणमा सहभागी सम्पूर्ण प्रियजनहरुको मनमा अनन्त उत्साह, तनमा नविन पहिरन र हातमा खुसीको झोला समातेर यात्रा आरम्भको खातिर विश्वविद्यालयको आगनमा पर्खिरहेको बस तर्फ आइरहेछन् । बस चढ्नु पूर्व प्रिय बैनी अरुणा आचार्यले प्रत्येकको निधारमा लगाइदिएको रातो टीका संगै आरम्भ भयो हाम्रो रङ्गीन यात्रा । बिचबिचमा उमा उपाध्याय बैनी संगको पे्रमील दोहोरी, प्रिय साथी गंगा आचार्य संगको नमीलेको नाच, उत्पात हाँसो, असाध्यै मनोरञ्जन, सबैको मनमा अनेकन जिज्ञासा आदि यात्राको पूर्वाद्र्धका स्मरणीय कुराहरु हुन् । यात्रा त रातको हो तथापी मन उज्यालो भए पछि रात पनि अँध्यारो नलाग्दो रहेछ । मेरो जीवनमा पहिलो पटक उज्यालो रातको आगमन भएको अनुभूत म गरिरहेथेँ । रातभरको यात्रा किन्तु थकान बिनाको यात्रा । २०७७ चैत्र ५ गते सूर्योदय संगै लुटपटिएर आयो विश्वभरका लाखौँ मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटीकाका रुपमा विकसित हुँदै गइरहेको बौद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको पवित्र स्थल लुम्बिनी ।
बिहानीको नित्यकर्म र खाजा खाए पश्चात् आरम्भ भयो हेर्दा पनि शान्तिको अनुभूत हुने पवित्र स्थल लुम्बिनीको भ्रमण । गौतम बुद्धलाई त्यसै शान्तिका प्रतिक भनिएको रहेनछ भन्ने कुराको प्रत्याक्षानुभूति त्यहाँको सुन्दर र शान्त दृष्यहरुलाई प्रत्याक्षावलोकन गरेपछि थाहा हुँदोरहेछ । पवित्र स्थल लुम्बीनीमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु भएकोले सबैभन्दा पहिले त्यहाँ प्रस्थान गर्ने मानसिक योजना तयार भए संगै मायादेवी मन्दिरको पवित्र आगनमा भ्रमणमा सहभागी सम्पूर्ण साथीहरु संगै मेरा पाउहरु टक्क अडिए । विभिन्न शताब्दिमा निर्मित मन्दिरका विभिन्न तहहरुले त्यस मन्दिरको महत्व तथा प्राचीनता माथी प्रकाश पार्दछन् । बुद्धको जन्म दृष्य सहितको प्राचीन मायादेवी मुर्ति त्यस मन्दिरभित्र अवस्थित छ । ई.पू. पाँचौ शताब्दिदेखि सातौँ शताब्दि सम्मका मन्दिरभित्रका भग्नावशेष दृष्यहरुले कोमल मनलाई भावुक बनाउँछन् । त्यसैगरी चौथो शताब्दीमा निर्मित मायादेवीको मुर्तिले बुद्धको जन्म दृष्यलाई देखाएको छ । मायादेवीले सहाराको लागि दाहिने हात रुखको हाँगा समाउनु भएको, देब्रेपट्टि छेउमा उहाँकी बहिनी प्रजापती उभिनुभएको, दूई देवगणहरु भगवानको स्वागतका लागि तयारी अवस्थामा रहेको र नवजात बुद्धको मुर्ति बिचमा रहेको दृष्यले मनलाई बुद्धको ऐतिहासिक पृष्ठभूमि तर्पm लैजान्छ । त्यहाँ अवस्थित लाखौँ पर्यटकको जिज्ञासाको प्रथम विन्दु जन्मस्मारक शिलाले बुद्धको जन्म विन्दुको अनुभूत स्पष्ट गराउँछ । मायादेवी मन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९६६ मा पत्ता लागेको कुरा उल्लेख गरिएको छ । ई.पु. २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ एक अर्को महत्वपूर्ण धरोहर हो । त्यस अशोक स्तम्भमा कुँदिएको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्यको ऐतिहासिक प्रमाण दिन्छ । बुद्धको जन्म स्थल र लुम्बिनीको सम्बन्धमा त्यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण, आधिकारिक तथा ऐतिहासिक अभिलेख हो । अशोक स्तम्भको दक्षिणमा अवस्थित मायादेवीले बुद्ध भगवानालाई जन्म दिनुभन्दा अगाडी नुहाउनु भएको साथै बुद्धलाई पनि त्यहाँ प्रथम स्नान गराई शुद्ध बनाइएको भन्ने विश्वासलाई स्मरण गर्दै पवित्र पोखरी (पुष्करिणी) लाई नियालेको त्यो दृष्य यो संस्मरण लेख्दै गर्दा सम्झिँदा पनि बडो दिव्य आनन्दानुभूति गरिरहेछु ।

फरक फरक कला र शिल्पले निर्मित अत्यन्तै मनमोहक राजकीय थाई बिहार, महाबोधी समाज बिहार कलकत्ता, म्यानमार गोल्डेन स्तुपा तथा बिहार, अन्तरर्राष्ट्रिय भिक्षुणी बिहार नेपाल, श्रीलङ्का बिहार, द ग्रेट लोटस स्तुपा जर्मनी, सिंगापुर बिहार, लिल्सन बिहार फ्रान्स, युनाइटेड टुंग्राम बिहार नेपाल, भियतनाम बिहार, अष्ट्रियन बिहार, चिनियाँ बिहार, कोरियन बिहार, डुबक्युड छोलिङ् बिहार, कर्मा स्याङ्तेन लिङ्ग नेपाल, विश्व शान्ति स्तुप जापान, लुम्बीनी सङग्रालय, लुम्बिनी अन्तरर्राष्ट्रिय अनुसन्धान संस्था यि सबै लुम्बिनी भ्रमणका अविष्मरणीय स्थलहरु हुन् । लुम्बिनी त शान्त छ नै तर लुम्बिनी संग गाँसिएको लुम्बिनी आसपासका क्षेत्रहरुमा शान्तिको गहिरो अनुभूत म गरिरहेथेँ ।

भ्रमण पश्चात् लुम्बिनीको प्रवेशद्वार अगाडीको होटेलमा खाएको खानाको स्वाद अहिले पनि मेरो जिब्रोले महशुस गरिरहेछ । खाना त खाना थियो तर त्यो खाना मात्र थिएन एक दिव्य शान्ति पनि थियो । सबै प्रियजनहरुलाई खानामा सहजीकरण गर्ने अत्यन्तै शालिन, सरल, खस्रो बोली तथापी कमलो हृदय र मायालु स्वभावकी प्रिय बैनी लक्ष्मी कोइराला र आफैमा कलाकार, चित्रकार, विद्यार्थी राजनीतिमा क्रियाशिल मेरो अनन्य मित्र नेपाली भाषासाहित्यको विद्यार्थी प्रकाश विश्वकर्मा मेरो सम्झनामा आइरहने पात्रहरु हुन् । बिहानको खाना पश्चात् प्रारम्भ भयो श्री स्वर्गद्वारीको यात्रा बसबाट बाहिर नियाल्दै गर्दा देखिने रुपन्देहीका सुन्दर दृष्यहरु आँखाको नानीमा कैद गर्दै, विशेष गरी दमौली हिँड माया मै संगै रमौली……. बोलको सुन्दर गीतम नाच्दै, दोहोरी गाउँदै कला, साहित्यलाई झल्काउँदै लुम्बिनीदेखि प्यूठानसम्म आइपुगेको पत्तै भएन । भ्रमणका क्रममा हाम्रो अभिभावकीय भूमिकामा रहनुभएका गुरुदेव लक्ष्मीप्रसाद आचार्य र उहाँसंग जोडिएको रमाइलो भ्रमण सफलताको प्रमुख कारक हो । उहाँ गुरु हो तथापी गुरु मात्र होइन भ्रमणको सहयात्री, भ्रमणमा सहभागी सबै प्रियजनहरुको एउटा असल साथी, एउटा असल अभिभावक मलाई कहिल्यै लागेन कि उहाँ यति धेरै उदार, परार्थी र ठूलो छाती भएको मान्छे हो भन्ने तर त्यो सुन्दर भ्रमणले उहाँको हृदय छाम्ने अवसर प्रदान गर्यो । प्यूठानको भृङ्ग्री पुगिसकेपछि हामी संगै सहयात्रा गरेर गएको बस करिब १४ किलोमिटरको उकालोको यात्रा गर्न नसक्ने कुराले सबै प्रियजनहरुलाई भएको अलिक तनाव, अलिक निराशा र अलिक असहजताको मधुर छायाँ मेरो मानसपटलमा अहिले पनि छ , तथापी नयाँ बसमा चढेर जाँदै गर्दा भृङ्ग्रीदेखि श्री स्वर्गद्वारी आश्रम जाने उकालो बाटोमा सधैँ गम्भिर देखिने, मधुर बोली भएकी प्रिय बैनी चन्द्रा रोकाया र चञ्चले तर साह्रै मायालु, प्रिय बैनी सुनिता ढकालले सुललित रुपमा गाएका श्री स्वर्गद्वारी महाप्रभूमा समर्पित दिव्य भजन र त्यो भजनले दिएको आनन्द आहा ! कस्तो दिव्य आनन्द । सानो गाडी त्यसैमा जवरजस्त खाँदिएर बसेका २० जना तर पनि सहजताको महशुस शान्तिमय मन भएपछि सामान्य असहजताले कुनै असर नगर्दो रहेछ क्यार । धरमपानी पुगेपछि बस बाट ओर्लेर श्री स्वर्गद्वारीको प्रवेशद्वार प्रवेश गरेर करिब आधा घण्टा लाग्ने सिडीको यात्रा आरम्भ भयो । प्रिय बैनी कविता लम्साललाई त्यो उकालोमा पिठिउँमा बोकेर लगेको सम्झना अहिले पनि ताजै छ । म कवितलाई बोकिरहेको थिए तथापी मलाई लागिरहेको थियो मैले कुनै मान्छे बोकिरहेको छैन दिव्य कविता सुन्दै उकालो पार गरिरहेको छु । श्री स्वर्गद्वारी महाप्रभुको आगनको स्पर्श गर्ने वित्तिकै चारैतिर अगरबत्तिको सुगन्ध, शङ्ख तथा घण्टीको सुललित रुपमा बगेको सुमधुर लय, स्वाहाकारका गगनभेदी ध्वनि र चित्तरञ्जक वेदध्वनिको गुञ्जायमानले साँच्चै स्वर्गमा पुगेको अनभूत गरायो । यज्ञशाला अगाडी भएको त्यो साँझको भजन, सदा मिठो मुस्कान पस्किरहने प्रिय बैनी जगतकुमारी शाही, बैनी नविना भट्टराई, बैनी अङ्गना के.सी., तारा बम ठकुरी, प्रिय साथी प्रेमाला थापा, तुल्सी सुवेदी, आशिका आचार्य, प्रिय बैनी सरस्वती शाही, सिर्जना ढकाल, आदरणीय दाइ प्रमोद न्यौपाने, झलक रिजाल, आदरणीय दिदी राधिका साँउत, बालकुमारी थापा, विष्णा आर.सीको सुन्दर नृत्य यो संस्मरण लेख्न बस्दा मेरो आखाँको नानीमा घुमिरहेकोछ । त्यो साँझ प्रिय बैनी अञ्जु उपाध्याय र भगवती काफ्ले संगै बसेर भण्डारमा खाएको महिको कडि र रोटीको दिव्य स्वाद सम्झँदा अहिले पनि मेरो जिब्रो निथु्रक्कै भिजेको अनुभूत म गरिरहन्छु । भ्रमणको अभिभावकीय भूमिकामा रहनु भएकी गुरुआमा हेमा वन जसलाई म दिदी भन्न रुचाउँछु । आदरणीय दिदी हेमा वनले दिनु भएको पे्ररणा, असहजतामा थप्नु भएको साहस, उहाँले निभाउनु भएको अभिभावकीय भूमिकाले मलाई नतमस्तक बनायो । प्रिय दिदी हेमा वन यो संस्मरण लेख्दै गर्दा मैले हजुरलाई सप्रेम सम्झिरहेछु ।

२०७७ चैत्र ६ गतेको बिहान श्री स्वर्गद्वारी आश्रमको उत्तरी भागमा माछापुच्छे, धौलागिरी जस्ता पवित्र हिमालयको अनुपम दृष्य, पूर्व, पश्चिम, दक्षिण भागमा प्राकृतिक सौन्दर्यले भरिएको अनुपम दृष्य, शिवालय तथा यज्ञशालामा हजारौँ भक्तजनको भिड ती दिव्य दृष्यले मनलाई बडो प्रफुल्ल बनाए । तनलाई शितलताको अनुभूति दिए । सबै प्रियजनका साथमा सबैभन्दा पहिले श्री स्वर्गद्वारी महाप्रभुको समाधि स्थल मुख्य शिवालय मन्दिरको दर्शन त्यसैगरी महाप्रभुले १९५२ सालमा वेदका मन्त्रोच्चारणद्वारा अग्नि निकाली अखण्ड महायज्ञको स्थापना गर्नुभएको जुन अहिले सम्म पनि अनवरत रुपमा त्यही प्रक्रियाबाट चल्दै आइरहेको छ, यज्ञशालाको दर्शन तथा ज्वालाको दर्शन जीवनमा कहिल्यै भुल्न नसकिने क्षण हुन् । सदा वेदध्वनि गुञ्जायमान हुने पाठशाला र त्यहाँ अवस्थित कलिला वटुकहरु मेरो स्मृतिको पानामा सदा सुरक्षित रहनेछन् । हरेक वर्ष गोवद्र्धन पूजाको दिन बृहत मेला लाग्ने यज्ञशालाको आगनमा अवस्थित गोवद्र्धन प्रर्वतको अवलोकन, महाप्रभुले तपस्या गर्नुभएको ऐतिहासिक बाँझबृक्षको अवलोकन तथा करिब ५०० गाईहरुले शुशोभित गौशालाको दर्शन तथा अवलोकनले जीवनलाई अध्यात्म जगतको सुन्दर फाँटमा पुगाउँछ । श्री स्वर्गद्वारी आश्रमबाट दक्षिण तर्फ करिब २०० मिटर हिडेपछि भेटिने गुफा जसले महाप्रभुको ऐतिहासितालाई स्पष्ट पार्छ । अग्लो डाँडा तथा सुन्दर प्राकृतिक सौन्दर्यका विचमा अवस्थित सिद्धस्थान र त्यो सिद्धस्थानको आगनमा बसेर भएको भ्रमणको समिक्षा मेरो अन्तरहृदयको एउटा कुनामा सुरक्षित छ । वैशाखपूर्णिमा, गुरुपूर्णिमा, पुत्रदा एकादशी, मंशिर शुक्ल चौथी, लक्ष्मीपूजा, फूलपाती आदि श्री स्वर्गद्वारीमा बृहत मेला लाग्ने समयहरु हुन् । स्वर्गद्वारी शिखरको प्रत्येक कणमा शिवको निवास छ । प्रकृतिको प्रत्येक आवगमनमा परमात्माको अनुग्रह छ । त्यहाँका प्रत्येक कार्यमा शिवशक्तिको उर्जा समाहित भएको पाइन्छ । श्री स्वर्गद्वारी एउटा अनुभूतिजन्य विषय हो, अमुर्त हो र अनुभवगम्य हो ।

श्री स्वर्गद्वारीको भ्रमण तथा दर्शन पश्चात् कर्मभूमि सुर्खेतको यात्रा आरम्भ भयो । श्री स्वर्गद्वारीबाट भृङ्ग्री झर्दै गर्दाको निकै रसिक, अत्यन्तै सरल स्वभावका आदरणीय दाजु टिकाराम भण्डारीको सुन्दर नाच, मानव सेवामा संलग्न आदरणीय दिदि खगिसरा बास्तोलाको सुमधुर स्वरमा बगेका लोक गीतहरु बसमा मनोरञ्जन हुनुका प्रमुख कारणहरु हुन् । दाङको लमहीमा विश्राम गरेर खाएको चटपटे र त्यो चटपटेले सुर्खेत पुग्नेबेलासम्म दिएको उर्जा, भ्रमणको अभिभावकीय भूमिकामा रहनु भएकी गुरुआमा नानीमाया राना र उहाँको नाच, मिलनसार स्वभाव तथा स्नेही स्वभाव मेरो मनमा कहिल्यै ननिस्किने गरी बसेको छ । लमहीदेखि सुर्खेत आउँदै गर्दाको रमाइलो, त्यो उत्पात हाँसो भ्रमणको उत्तराद्र्धको अविष्मरणीय कुरा हो । मेरो सर्वाधिक प्रिय भाइ अत्यन्तै सहयोगी तथा मिलनसार र सहनसिल मुकुन्द हमाल र प्रिय भाइ गोकेन्द्र जैसी संग त्यो भ्रमणमा जोडीएका विविध सन्दर्भहरु मेरो सम्झनामा रहिरहनेछन् । भनिन्छ जीवन यात्रा हो । यात्रा सुखद् पनि हुन्छ र दःुखद् पनि । करिब तीन दिनको यात्रा तथा भ्रमण सकेर वीरेन्द्रनगर ४ कालागाउँमा अवस्थित कोठामा पुगेपछि सोचेँ त्यस्तो यात्रा र त्यस्ता प्रियजनहरुसंगको यात्रा जीवनभर भइरहोस् । भ्रमणमा सहभागी सबै प्रियजनहरुमा सप्रेम सम्झना समर्पण, धेरै धेरै माया ।