Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

कोरोनाका कारण “संकटमा नेपाली संस्कृति”

सुर्खेत ।
विश्वमा पाश्चात्य भन्दा पूर्विय दर्शन पूरानो मात्र होइन वैज्ञानिक पनि मानिन्छ । विश्वको सबैभन्दा पूरानो धर्म हिन्दु र पुरानो भाषा संस्कृत भएकाले पनि पूर्विय दर्शन बलियो भएको हुनुपर्छ । त्यति मात्र होइन पूर्विय दर्शन वैज्ञानिक र व्यवहारिक दुबै छ । त्यही पूर्विय दर्शनको मूलथलोका रुपमा रहेको भारत र नेपालमा हिन्दु संस्कृति संचालनमा रहेको छ । निकै व्यवहारिक र वैज्ञानिक रुपमा रहेको नेपाली संस्कृति पछिल्लो समयमा विश्वलाई नै प्रभावित पार्ने गरि आएको कोरोनाका कारण संकटमा पर्न थालेको छ ।

फाइल फोटो

नेपाल बहुभाषिक, बहुजातीय र बहुधार्मिक देश भएकाले पनि यहाँ विभिन्न संस्कृतिहरु हुने नै भए । त्यसमा पनि ८१ प्रतिशत हिन्दुहरुको बाहुल्यता तथा करिब ९० प्रतिशतको हाराहारीमा ओमकार परिवारहरु भएकोले पनि यहाँको धार्मिक सहिष्णुता निकै बलियो छ । देशमा भएको राजनीतिक परिवर्तनसँगै देश धर्म निरपेक्ष भएपनि धार्मिक रुपमा कुनै खलल नपुग्नु खुसीको कुरा हो ।

चीनबाट सुरु भएको कोरोना विश्वभर फैलिने क्रममा नेपालमा पनि आइपुग्यो र त्यसबाट मान्छेले ज्यान गुमाउन थाले त्यसपछि कोरोनाले नेपाली संस्कृति माथि हमला गर्न सुरु भयो । कोरोनाको संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन स्वास्थ्य सुरक्षाका कारण सरकारी निकायबाटै हुन थाल्यो । मृतकका परिवार तथा आफन्तहरुले शवमा दागबत्ति पनि दिन पाएनन् । डोजरको सहायतामा खाल्डो खन्ने र त्यो खाल्डोमा शव गाड्ने कार्यको सुरुवात भयो । हिन्दु परम्परा अनुसार शवलाई दाहसंस्कार गर्नु पर्नेमा स्वास्थ्य सुरक्षाको कारणले पनि त्यसो गर्न नसक्नु कोरोनाले निम्त्याएको संकटले हिन्दु संस्कृति माथिको प्रहार भयो । इष्टमित्रमा परेको सारो गारोमा समेत सहभागी हुन नपाउनु र दुःखसुख साटासाट गर्न नपाउनुले नेपालीहरुको मन नराम्रोसँग कुँडिएको छ ।

यसैगरी नेपाली संस्कृति अनुसार मनाइने विभिन्न पर्व, दिवस, जात्रा तथा अन्य विशेष दिनहरु समेत कोरोनाको प्रभावका कारण संकटमा पर्न थालेका छन् । साउने सक्रान्तिलाई लुतो फाल्ने दिनका रुपमा मनाइन्छ भने त्यसपछि प्रायः विभिन्न साना तथा ठूला पर्वहरुको सुरुवात हुने गर्दछ ।

रक्षाबन्धनको दिनमा हिन्दु परम्परा अनुसार तागाधारीहरु लगायतले रक्षाबन्धन बाँध्ने जनै फेर्ने लगायतका कार्यहरु गर्दछन् भने गत वर्ष र यस वर्ष नेपाली समाजले राम्रोसँग रक्षाबन्धन नै बाँध्न पाएनन् । त्यति मात्र होइन विभिन्न देव देवीमा मठमन्दिरमा हुने पूजाआजा समेत प्रभावित भएका छन् । एकातिर देशको अर्थतन्त्र, मानव जीवन र दैनिक कार्यहरु समेत प्रभावित भएका छन् भने अर्कोतिर संस्कृति माथि प्रहार जस्तै भएको छ ।

कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला लगायतका जिल्लाहरुमा यतिबेला वर्षे जात्राहरुको रौनक गतवर्ष पनि देखिएन भने यस वर्ष पनि देखिएन । रक्षाबन्धन बाँधेसँगै सुरु हुने गाईजात्रा, रोपाइँजात्रा, हिलेजात्रा, बाघजात्रा, लाखेजात्रा जस्ता पर्वहरुको रौनक हराउन थालेको छ । कोरोनाको संकट आउनु पूर्व यी जात्राहरुको रौनकले नेपाली समाजलाई प्रफूलित बनाउने गर्दथ्यो भने कोरोनाका कारण स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने र ज्यान जोगाउनु पर्ने भएकाले पनि यी जात्राहरु मनाउन र मान्नु पर्ने अवस्थाको सिर्जना भएको छ । अर्कोतिर काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लाहरुमा मनाइने विभिन्न जात्राहरु पनि केवल औपचारिकतामा मनाउन सरकारले समेत अनुरोध गरेको छ । यो बाध्यता पनि हो ।

अबको केही दिनपछि नेपाली हिन्दु नारीहरुको महान पर्वको रुपमा मनाइने तीज आउँदैछ । तीजको बेलामा नारीहरुले विभिन्न विरहका भाकाहरु गाउँदै नाच्दै रमाइलो गर्ने र वर्षभरी घरमा भोग्नु परेको तथा बाहिर ल्याउन नसकेको दुःख पीडाहरुलाई ओकल्थे । पछिल्लो समयमा प्रविधिको विकासक्रमले दिदीबहिनीहरुका मौलिक तीज भाका भन्दा पनि डिस्को तथा पप डान्सहरु हुन थाले भने अर्कोतिर त्यसलाई पनि कोरोनाले प्रभावित पारिदिएको छ ।

नेपालीहरुका सबैभन्दा ठूला पर्वको रुपमा मनाइने दशैं र तिहार तथा छठ पर्व नै हुन् । यी महान पर्वहरु पनि नेपालीहरुले खुलेर मनाउन सक्ने अवस्था छैन । एकातिर कोरोनाको त्रास बाँकी नै रहेको छ भने अर्कोतिर विज्ञहरुले यसका विभिन्न भेरिएण्टहरु आउने क्रम जारिरहेकाले पनि सजकता अपनाउन भनिरहेका छन् । यस्तो अवस्थामा मानव स्वास्थ्यको जोगाउनु र जोगिनु सबैको दायित्व र जिम्मेवारी समेत भएकाले सबै सचेत हुन आवश्यक छ । महामारीको बेलामा जोगिन सकियो भने संस्कृति, जात्रा तथा मेलापर्वहरु अर्को वर्षपनि मनाउन पाइन्छ तर ज्यान नै जोगाउन सकिएन भने सधैँका लागि संसार विरानो हुन्छ ।

धर्म, संस्कृति, परम्परा र चाडपर्वहरुलाई जोगाइ राख्नका लागि घर परिवारका सदस्यहरु त्यो पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर सिमित रुपमा आ–आफ्नै घरमा मनाउनु र सरकारले तोकेका नियमहरुको पालना गर्नु नै यतिबेला बुद्धिमानी ठहर्छ ।