Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सुदूरपश्चिममा एमालेका १० र वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

धनगढी ।

नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।

तर सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् । निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सांसद पूर्णा जोशीले सांसदको संख्या १४ भन्दा बढी हुने बताइन् । ‘नागरिकता लगायतका डकुमेन्ट नभएकाले सबै आउन सक्नुभएन,’ कानूनमन्त्री जोशीले भनिन्, ‘हाम्रो संख्या १४ भन्दा घट्दैन ।’

यसैगरी वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको थियो । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने ।

नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो ।