Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

मैले बाबाको मुख हेरिनँ अाज

कुशे अाैसी अर्थात् बाबाको मुख हेर्ने दिन
फेसबुकको भित्तोमै सही
सबैसबैले हेरे बाबाको मुख
म चढेर हट् घोडा हट् गरेको बाबाको ढाड
कुप्रिएको छ
मैले लडिबुडी खेलेको बाबाको छाती

ओम रिजाल
बेस्सरी दुख्छ
मलाई हिँड्न सिकाएको बाबाको हात
बाउडिएको छ
बुढ्याैलीले गलेको छ
मलाई बोकेको बाबाको काँध
खङ्खङ्खङ् खोक्नु हुन्छ बाबा
तातो पानी बन्न सक्दिनँ म
जरोले रन्नन रन्किनु हुन्छ बाबा
सिटामोल बन्न सक्दिनँ म
उभिन सक्नु हुन्न / हिँड्न सक्नु हुन्न
लाैरो बन्न सक्दिनँ म
अाफ्नो खुसीका लागि मुग्लानिएको म
बन्न सक्दिनँ बाबाको खुसी
बुढ्याैलीको सहाय बन्न नसक्ने म
कुन मुखले हेरुँ बाबाको मुख ?
हेर्न लायक भएँ भने कुनै दिन
निर्धक्क हेर्नेछु
मैले बाबाको मुख हेरिनँ अाज ।।