सुर्खेतमा किशोरी बलात्कृत, अपराधी खोज्दै प्रहरी
सुर्खेत ।
भोालिपल्टको तीज । एकाविहानै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नराम्रो घटना घट्यो । तीजको अघिल्लो दिन दर खाने दिन भएकाले प्रायः चेलीबेटीहरुको मनमा छुट्टै उमंग हुने गर्दछ । त्यही उमंगका साथ विहानै मर्निङवाकमा निस्केकी एक किशोरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बलात्कृत भएकी छन् । विहीबार अबेर मात्र बाहिर आएको यो घटना सम्बन्धित किशोरीको परिवारमा भने तुरुन्तै थाह भइसकेको र प्रहरी प्रशासनलाई पनि खबर भइसकेकोले प्रहरीको घटनाको दोषि पत्ता लगाउनका लागि आन्तरिक रुपमा लागिसकेको थियो ।
बुधबार विहान पाँच बजेतिर छिमेकी साथीसँगै मर्निङवाकमा निस्केकी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । प्रहरीका अनुसार वीरेन्द्रनगरको पश्चिमतर्फको कालोपत्रे सडकमा हिँडिरहेका दुई किशोरीलाई लक्षित गर्दै अघाडिबाट एक युवकले ढुंगा प्रहार गरेका थिए । युवकको आक्रमणबाट बच्न दुई किशोरी मध्ये एउटा सडक हुँदै भागेर घर पुगिन् भने बलात्कृत भएकी किशोरी पूर्वतर्फको धान खेततर्फ भागिन् ।
खेतको हिलोका कारण किशोरी भाग्न सकिनन् । किशोरीमाथि खेतमै बलात्कार भयो। प्रहरीका अनुसार भागेर घर पुगेकी साथीले घर परिवारलाई खवर गरेकी थिइन् । ‘अभिभावकहरु त्यहाँ पुग्दा अभियुक्त भागिसकेको रहेछ’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘अभिभावकले खवर गरेपछि प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो ।’ घटनास्थल सडकदेखि नजिकै पर्छ ।
किशोरीको शरिरका विभिन्न भागमा चोट लागेको छ । बलात्कारको प्रतिकार गर्दा किशोरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। ‘धान खेतको हिलोका कारण किशोरी भाग्न पाइनन्, आफूमाथि बलात्कार हुँदा किशोरीले धेरै प्रतिकार गरेको देखिन्छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘हाम्रो मुख्य ध्यान बलात्कारमा संलग्नलाई पक्राउ गर्नेतर्फ केन्द्रीत छ ।’ प्रहरीसँग किशोरीले बलात्कार गर्ने युवकलाई यसअघि एक पटक देखेको बताएकी छन् । ‘अभियुक्तको पहिचान खुलिसकेकाले संभावित स्थानमा खोजीकार्य अघि बढाएका छौं,’ उनले भने, ‘अभियुक्त पक्राउ परेपछि धेरै कुरा खुल्छ ।’
कर्णालीको राजधानी समेत रहेको सुर्खेतमा पछिल्लो समयमा लागुऔषधदेखि बलात्कारका घटनाहरुसमेत बढिरहेका छन् । समाजमा बस्ने अपराधिक मानसिकता बोकेका अपराधीहरुबाट हुने यस्ता घटनालाई न्यूनिकरण गर्नका लागि प्रहरी प्रशासनदेखि अभिभावक र सम्बन्धित किशोरीहरु समेत सजग हुन आवश्यक छ भने अर्कोतिर अपराधिक क्रियाकलापमा संलग्नहरुलाई कानून बमोजिम कडा सजाय दिन आवश्यक छ । जसले गर्दा भविष्यमा अरु कसैले पनि त्यस्ता अपराधिक कार्यहरु गर्ने आँट समेत नगरोस् ।






