कला, संस्कृतिको टिम ‘घ्यूपोखरीमा डुब्दा’

खगेन्द्र अधिकारी अमृत
कर्णाली प्रदेश आफैमा संस्कृतिको धनी प्रदेशको रुपमा चिनिन्छ । नेपालका सातवटै प्रदेश भन्दा फरक छ कर्णाली प्रदेश । कर्णाली प्रदेश यो मानेमा फरक छ कि नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेश हो । कर्णाली प्रदेश यो मानेमा फरक छ कि चार जना सपुतहरुको रगतले यसको सिमाङ्कन भएको हो । अनि कर्णाली प्रदेश यसकारण पनि फरक छ कि यहाँको जनजीवन, भूगोल, सहनसहन, चालचलन अनि यहाँका कला र संस्कृतिहरु अन्य प्रदेशका भन्दा फरक छन् । कर्णालीमा पैसेरी नाच, गर्रा नाच, मारुनी नाच, अनि कर्णालीका देउडाका भाकाहरु, कर्णालीका गीत, नाच र टप्पाहरु अन्य प्रदेशमा खोजेर पाउन मुस्किल पर्छ ।

कर्णालीको सिंगारु नाचले काठमाडौंमा धेरै पटक प्रथम स्थान हासिल गरिसकेका छन् । धेरैको मन लोभ्याइसकेका छन् । शताब्दी पुरुष सत्यमोहन जोशीको रोजाईमा परेको कर्णाली हो । धर्तीकी अप्सरा रारा ताल कर्णालीमा छ । योगी नरहरीनाथ कर्णालीमै जन्मे । मानसरोवरको बाटो कर्णालीबाटै प्रवेश गर्छ । काँक्रेविहार कर्णालीको राजधानीमै छ । महाबुदेखि देउतीबज्यैसम्म चन्दननाथदेखि पचाल झरनासम्म कर्णालीमै छन् । कुपिण्डे दह कर्णालीमै छ र कर्णालीमै छन् डोल्पाका धो गाउँ अनि हुम्लाका ठे गाउँपनि । यति मात्र होइन अग्ला भीरपाखाहरु कर्णालीमै छन् । सुर्खेत जस्तो शान्त उपत्यका कर्णालीको राजधानी हो । स्वर्गिय राजा वीरेन्द्रको मन कर्णालीले लोभ्याएको थियो । त्यसैले पनि कर्णाली अरु प्रदेश भन्दा फरक छ ।
कर्णालीमा भएका कला र संस्कृतिहरुको संरक्षण गर्ने लक्ष्य र उद्देश्यका साथ २०७२ सालमा सुर्खेतको वीरेन्द्रनगरमा कला, संस्कृति संरक्षण प्रतिष्ठानको स्थापना भयो । मौकाले यो पंक्तिकार पनि उक्त संस्थाको संस्थापक सचिव हुन पायो । कर्णाली नेपालमा चिनाउने र नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सफल वरिष्ठ कलाकार प्रेमदेव गिरी, कुशल नृत्यनिर्देशक कूलमान नेपाली, वरिष्ठ बाँसुरी बाधक ज्ञान बहादुर नेपाली जस्ता हस्तीहरुको साथ र सहयोगमा एकपातबाट दुई तीन हुँदै कला संस्कृति संरक्षण प्रतिष्ठानले आफ्ना ६ पात निर्माण गरिसकेको छ । यहाँको कला र संस्कृति मात्र होइन त्यो संग सम्बन्धित व्यक्तिहरुको बारेमा समेत अध्ययन र अनुसन्धान गर्दै त्यसको संरक्षण र सम्वद्र्धनमा लाग्ने उद्देश्य बोकेको यस संस्थाले भरखरै आफ्नो छैठौं साधारण सभा सम्पन्न गरेको छ ।
करिब एक वर्ष अगाडि सम्पन्न गरिसक्नु पर्ने साधारण सभा एक वर्ष ढिला गरी सम्पन्न भयो । त्यो दोष कोरोनाको थियो । त्यो दोष लकडाउनको थियो । त्यो दोष प्राकृतिक विपत्तिको थियो । अनेक कारण, बाध्यता र विवशतासँग जुधेर भएपनि छैठौं साधारण सभाको मिति तय भयो । त्यसपछि अरु भन्दा अलि फरक त्यो भन्दापनि गाउँमा भएका पुराना कुराहरुलाई नजिकबाट नियाल्न पाइने उद्देश्यका साथ स्थान भने सुर्खेत र दैलेखको सीमानास्थल भिउचुला तथा घ्यूपोखरी छनोटमा पर्न सफल भयो । भरखरै तोते बोली फुट्दै गरेको संस्था निकै कसिलो आर्थिक अवस्थालाई समेत ख्यालै नगरी भिउचुलातिरको यात्रामा निस्कने पक्कापक्की भयो ।
तँ आँट म पु¥याउला भन्ने युक्तिलाई आत्मसाथ गर्दै कला संस्कृति संरक्षण प्रतिष्ठानको टोली अगाडि बढ्ने जमर्कोमा लाग्यो । यात्रा गर्दा नीजि गाडिमा जत्ति सहज सार्वजनिक गाडिमा हुने कुरै भएन । त्यसैले हामी केही जिम्मेवार व्यक्तिहरु आ–आफ्नै मोटरसाइकलमा जाने निधोमा पुग्यौ । वीरेन्द्रनगरबाट हेर्दै गर्दा भिउचुला घ्यूपोखरीको आकाशमा कालो बादल मडारिरहेको थियो । कतिबेला पानीका थोपासँगै असिना नै बर्सने हो पत्तै थिएन । त्यो बादलले हामीलाई डर देखाइरहेको थियो । कुनैपनि प्राप्तिका लागि संघर्ष गर्नै पर्ने हुन्छ । त्यो बादलसँगको डराइले हामी पछि हड्ने कुरै भएन । पानी परेपनि संघर्ष गरौला । पहिरो आएपछि पन्छाउला भन्ने हिम्मत गर्दै हिडेको मान्छे बुद्धपथ पुग्दा नपुग्दै यात्राको सहयात्री विरामी भयो । मन चिसो भएर आयो । नजिकै ग्यारेजरुपी अस्पतालमा सहयात्रीको उपचार गराइयो ।
यात्रामा निस्कनु पर्दा समयमा नै निस्कनु पर्छ र समयमा नै पुग्नुपर्छ भन्ने मान्यता राख्ने म सहयात्रीको कारण अलि पछाडि परे । अरु बेलाको जस्तो जोस छैन उसमा पनि र म मा पनि । साथीहरु अघि–अघि म पछि पछि हिडिरहेका छौ । सुर्खेत उपत्यका छोडेपछि एक पटक लामो सास फेर्ने ठाउँ अरुले कटकुवा भन्छन् म दहिच्यूरे चौतारो भन्छु त्यही भेटिए केही साथीहरु । कटकुवालाई म यो मानेमा दहिच्यूरे चौतारो भन्छु कि सुर्खेत दैलेख मोटरबाटोको निर्माण हुनुपूर्व पनि त्यो ठाउँमा दहिच्यूरा खान पाइन्थ्यो । उकाली चढेर स्याँ–स्याँ गर्दैगर्दा होस् कि ओराली झरेर खुट्टाका धुरनशाहरु थर–थर काँपिरहेका बेलामा होस् । त्यहाँको दहिच्यूरा खान पायो भने विरामीले ओखती खान पाए झैँ हुन्छ । भोकाले खाना खाए झैँ हुन्छ भने प्यासीले पानी पिए झैँ हुन्छ । त्यो ठाउँमा पुग्नेहरु दहीच्यूरा मात्र खाँदैनन् अलि अलि गफिन्छन् पनि । जंगलको हरियालीका बीचमा निकै सुन्दर ठाउँ भएकोले बडो आनन्दित ठाउँ छ दहिच्यूरे चौतारो । त्यसपछि छेडा, लादे, सिद्धपाइला हुँदै नातानाङ्गा पुगेपछि अलि अलि भोक मेटाए सबै जनाले । त्यसपछि अलि धेरै घुम्ति भएको बाटो, अलि साँघुरो बाटो सुरु हुनेवाला छ भने चिसोले पनि आफ्नो साम्राज्य जमाउन सुरु गरिसकेको थियो ।
गन्तव्यमा पुग्नका लागि न जाडो न डाँडाकाँडा ढाकिने गरी लागेको कुहिरो कसैले पनि रोक्न र छेक्न सक्ने कुरै भएन । अन्ततः हामी पुग्यो घ्यूपोखरीमा । आफैले बोकेका साना ठूला त्रिपाल मिलाएपछि बास बस्न सजिलो हुने महसुस भयो । पदमपुरा, चित्रकलालगायतको टिम खाना पकाउने कार्यमा ज्टयो हामी पनि कोही दाउरा त कोही पानीको जोहो गर्न । नामै कला संस्कृति भएकाले कलाकारहरुको टिम हो भन्ने यसैपनि थाह छ त्यसैले वरपरका केही मान्छेहरु हामीलाई हेर्न आउथे । सोध्थे के के हुन्छ यहाँ । हामी सामान्य उत्तर दिन्थ्यौ । एवम् रितले अलि अलि आएका पानीका बाछिटाहरुसँग मितेरी लाउँदै तात्तातो दात भात र तरकारीले पेट भरियो ।
भोलीपल्ट विहान घडी चरोले कराउन नपाउँदै उठिसकेका थियौ । विहानको चियापछि फेरी टोलि जुट्यो भान्सामा । अनि कोहीले कार्यक्रमको तयारी गर्दै विहानको समय वित्यो । खाना पछि लाग्यौ हामी औपचारिक कार्यक्रममा । कला संस्कृति प्रतिष्ठानको छैठौ साधारण सभाको सारथीको काम गर्ने मौका सचिवको नाताले मैले नै प्राप्त गरे । औपचारिक कार्यक्रमसँगै विभिन्न गीत र नृत्यहरुले सबैको मन आफैमा तानिरहेको थियो । त्यहाँका स्थानीयहरु पनि हाम्रा कलाकारहरुका नृत्यसँग रमाउँदै थिए । छोटो र मीठो कार्यक्रम पस्केर मैले सारथीको भूमिका पूरा गरे । आफ्ना लागि लगेका आफ्ना भौतिक सामग्रीहरुसँगै घ्यूपोखरीका स्थानीयहरुको मायालाई पोको पार्दै लाग्यौ हामी फेरी वीरेन्द्रनगरतिर ।
संस्थाका अध्यक्ष भक्तबहादुर थापा, उपाध्यक्ष विजयराज सेजुवाल, महासचिव पूर्णबहादुर शाहीलगायतले संस्थाको नेतृत्व मात्र गर्नुभएन निभाउनु भयो अभिभावकीय भूमिका पनि । सायद त्यसैले होला साधारण सभाले पुनः उहाँहरुलाई नै कार्यसमितिको तत्तत् पदमा दोहो¥यो भने म आफ्नै कार्य व्यवस्ताका बाबजुद सचिवबाट बाहिरिए । कला, संस्कृति संरक्षण प्रतिष्ठानको सचिवको नाताले मैले औपचारिक कार्यक्रम संचालन गरेको यो नै अन्तिम कार्यक्रम बन्यो । संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामनाका साथै नयाँ कार्यसमितिलाई बधाई ।





