Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

संविधान दिवसमा मुख्यमन्त्रीको शुभकामना सन्देश

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिनु भएको छ । एक विज्ञप्ति मार्फत मुख्यमन्त्री शाहीले शुभकामना दिनुभएको हो । मुख्यमन्त्री शाहीले दिनुभएको शुभकामना सन्देशः

मिति : २०७८ असोज ३ गते ।

संविधान दिवस तथा राष्ट्रिय दिवस¬–२०७८ को शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णाली प्रदेशवासी तथा आम नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा हार्दिक बधाई तथां शुभकामना व्यक्त गर्दछु । सातौं संविधान दिवसको यो विशेष अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिका लागि आफनो ज्यानको आहुती दिने महान् शहीदहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै संविधान प्राप्तिका निम्ति विभिन्न कालखण्डमा भएका गौरवपूर्ण जनयुद्ध, जनआन्दोलनलगायतका सबै खाले आन्दोलन तथा जनसंघर्षका क्रममा बेपत्ता, घाईते तथा अपाङ्गगता भएका योद्धाहरुप्रति उच्च सम्मान गर्दै जनक्रान्ति तथा जनआन्दोलनमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।

दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्र रुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ साल आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका मूल्य मान्यताहरुप्रति प्रतिवद्ध रही विकास र समृद्धिको जनअपेक्षा कार्यान्वयन गर्दै सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिरहेको छ ।

संविधानको प्रस्तावनामै प्रतिवद्धता गरिएको आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चिततासहित समाजवादी व्यवस्था निर्माणको दिशामा अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व हो । यो दायित्वलाई भुलेर संविधानको मूल भावना विपरित मुलुकलाई फेरी पनि पश्चगमनतिर लैजान खोज्ने यथास्थितिवादी एवं प्रतिगमनकारी शक्तिहरुका चलखेलहरुप्रति सचेत रहन आवश्यक छ । संविधान कार्यान्वयनका क्रममा आ–आफ्नो क्षेत्रबाट भएका कमी कमजोरीको समीक्षा सहित ईमान्दारिताका साथ संविधानको कार्यान्वयन गर्दै तीव्र गतिको आर्थिक, भौतिक तथा सामाजिक विकास र समृद्ध नेपाल निर्माणको अभियानमा अघि बढ्नुको विकल्प हाम्रो सामु छैन । संविधान दिवसको विशेष अवसरमा राष्ट्रिय एकतासहित विकास र समृद्धिको दिशामा अघि बढ्न म सबै राजनीतिक शक्ति, राष्ट्रसेवक, नागरिक समाजलगायत सम्पूर्ण देशवासीमा हार्दिक अपिल गर्दछु ।

अन्तमा, आजको दिनले संविधानको कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकाससहित समाजवादी राज्य निर्माणका लागि प्रेरणा प्रदान गर्ने विश्वाससहित पुनः शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।
(……………..)
महेन्द्रबहादुर शाही