Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कांग्रेस महाधिवेशन : ६४ जिल्लामा एकैपटक हुन सकेन पालिका अधिवेशन

काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबारबाट ५४ जिल्लामा गाउँ/नगर अधिवेशन सुरु भएको छ । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामध्ये ५४ जिल्लामा शनिबारबाट पालिका अधिवेशन सुरु भएको निर्वाचन समितिले जनाएको छ । समिति सदस्य गोपालकृष्ण घिमिरेले बाँकी १० जिल्लामा विभिन्न कारणले शनिबारबाट अधिवेशन सुरु हुन नसकेको बताउनुभयो । उहाँका अनुसार केही जिल्लाले विभिन्न मितिमा पालिका अधिवेशन गर्ने मितिसमेत तोकेका छन् । केहीमा भने वडा अधिवेशनमा भएका विवादलगायत कारणले ढिलाइ भएको हो । ‘५४ जिल्लामा शनिबारदेखि पालिका अधिवेशन सुरु भएको छ । कतै सहमति गर्दैछन्, कतै निर्वाचन भइरहको छ,’ उहाँले भन्नुभयो, ‘कतै शनिबार निर्वाचन भएर आइतबार गणना हुन्छ । कतिमा आइतबारसम्म पनि सहमति हुन्छ । बाँकी १० जिल्लाको कसैले ‘रिसेड्युलिङ’ गरेको छ । जस्तो काठमाडौंले १६ गते गर्ने भनेको छ । मोरङमा पनि त्यस्तै छ । सिन्धुपाल्चोकमा अलिअलि वडाको विवाद कायमै रहेकोले ढिलाइ भएको हो ।’ कांग्रेसले यसअघि ६४ जिल्लामा वडाअधिवेशन सम्पन्न गरेको छ भने १३ जिल्लाको अहिलेसम्म क्रियाशील सदस्यता विवरण नै सार्वजनिक हुन सकेको छैन । १३ जिल्लामा वडा अधिवेशन कहिले सुरु हुन्छ भन्ने अन्योल छ । शुक्रबार बिहान बसेको पदाधिकारी र पूर्व-पदाधिकारीहरूको बैठकले ६४ जिल्लाको अधिवेशन एकैपटक गर्ने निर्णय गरेको थियो ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । कांग्रेसले यसअघि ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

पालिका अधिवेशन सुरु नभएका १० जिल्लामा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, मुगु, नवलपुर, संखुवासभा, कपिलवस्तु, डडेल्धुरा, मोरङ र झापा रहेका छन् ।

स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन सभापति देउवाको आग्रह

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारदेखि प्रारम्भ भएको गाउँ÷नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी सहभागी हुन आग्रह गर्नुभएको छ । शनिबार एक सन्देशमार्फत गाउँ÷नगर अधिवेशनको प्रक्रियामा सहभागी नगर र गाउँका प्रतिनिधिप्रति स्वागत तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रतिनिधिको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्दै सभापति देउवाले जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गर्नुभएको छ ।

कांग्रेस सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको उद्घोष

‘पुरानै नेतालाई नेतृत्व सुम्पिए प्रजापरिषद्को जस्तै हालत हुन सक्छ’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा उममेदवारी दिने बताउनुभएको छ । आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको भन्दै नेता सिंहले शनिबार उम्मेदवारी दिने बताउनुभयो । कांग्रेस काठमाडौं महानगरपालिका-१७ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन सभापतिमा उम्मेदवारी दिने स्पष्ट पार्नुभयो । उहाँले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको दोहोर्‍याउनुभयो । लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले अब सभापति भएर काम गर्न चाहेको उहाँको भनाइ थियो ।

‘मैले अनुभव बोकेको छु, देखेको छु । पार्टीमा आमूल परिवर्तन ल्याउन ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ,’ उहाँले भन्नुभयो, ‘मैले आफ्नो अनुभवबाट के निष्कर्ष निकालेँ भने अब चाहिँ ‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु ।’

अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उहाँले आरोप लगाउनुभयो । १४औं महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने उहाँले चेतावनी दिनुभयो । ‘सबै नेताहरूलाई हामी सम्मान गछौं । लोकतन्त्र ल्याउन उहाँहरूले पनि त्याग, तपस्या गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘तर अवसर पाएका बेला काम नगरेकोले पार्टी लथालिंग अवस्थामा छ । यदि हामीले यो लथालिंग अवस्थामा १४औं महाधिवेशनमा पनि ठीक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौँ भने पार्टी प्रजापरिषद्को बाटोमा जान धेरै दिन लाग्दैन है ।’

उहाँले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत् ढंगले अघि बढाउने बताउनुभयो । नेता सिंहले पार्टी नेतृत्वले १४औं महाधिवेशनको मिति फेरि पनि सार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।