Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

ज्योतिष ज्ञानः दशावर्ष ज्ञान फलम्

मैले विभिन्न समयमा ज्योतिषसँग र ज्योतिष विज्ञानसँग सम्बन्धित भएका प्रसंगहरु प्रस्तुत गर्दै आइरहेको छु । मैले आफ्ना लेखहरु मार्फत यहाँहरुलाई जानकारी गराउँदै आएको छु कि पछिल्लो समयमा ज्योतिष विधाको गणित फलित ज्ञान भन्दा पनि स्वअध्ययनले आफूलाई ज्योतिष बताउनेहरुले विभिन्न कार्यहरु गरिरहेका छन् । त्यसले तत्कालै त केही असर नगर्ला तर भविष्यमा ठूलो असर गर्ने निश्चित छ । कुनै समयमा राजा महाराजाहरुले होस् कि सामान्य नागरिकले होस् ज्योतिष विधाको प्रयोग विना कुनै पनि कार्यहरु गर्दैनथे । जसले गर्दा उनीहरुले सफतता प्राप्त गर्थे । राजा लडाईंमा जाँदा होस् अथवा एउटा किसानले बाली काट्नका लागि होस् शुभ साइत शुभ मुर्हुतको विचार गर्दथे । तर बीचमा केही समय यो विधाको वास्ता गरिएन । तरपनि विज्ञानले विज्ञानलाई छोड्ने कुरा त भएन । त्यसैले यो विधा जीवित भइराखेको हो ।

ज्यो. खगेन्द्र अधिकारी

आज बजारमा होस् कि समाजमा हामी ज्योतिषी हौं भन्नेहरुको कमी छैन । त्यस्ता ज्यातिषी हौ भन्नेहरुबाट नै यसको विश्वसनीयता माथि खतरा भने छ । एउटा उदाहरण के भने भगवान शिव र माता पार्वतीले गणेश र कुमारमा को ठूलो भन्ने कुराको प्रयोग गर्नका लागि सुमेरु पर्वतको परिक्रमा गर्नु पर्ने कुरा उठ्यो । मयूर जस्तो वाहन पाएका र सर्लक्क परेको जीउ भएका कुमारजी सुमेरु पर्वतको परिक्रमा गर्न निस्किहाले । ठूलो फसाद त गणेशलाई भयो । त्यसपछि गणेशले उपाय लगाए र भने मेरा लागि तीन त्रिलोक चतुर्थी भुवन भनेको पनि तपाईं मातापिता नै हुनुहुन्छ । सुमेरु पर्वत भन्दा ठूलो तपाईं मातापिता नै हुनुहुन्छ । त्यसले म तपाईंहरुको परिक्रमा गर्दछु । कर्पुरगौरं करुणावतारम्….. । यही महानताका कारण गणेश तीनै लोकमा प्रथम पूज्य भए । हाम्रा धर्मगुरुहरुले हामीलाई पनि त्यसैगरी आफ्ना मातापितालाई राखेर कर्पुरगौरं करुणावतारम्….. भन्न सिकाउनु पर्नेमा गणेशजीको मातापिताको फोटो राखेर वा मूर्ति राखेर कर्पुरगौरं करुणावतारम्….. भन्न सिकाए । जसले गर्दा त्यो फोटोको महत्व ठूलो भयो तर कतिपयले आफ्ना मातापितालाई बृद्धाश्रममा पठाए । आफ्ना मातापिता बृद्धाश्रममा छन् अनि गणेशजीका मातापिताको मूर्तिमा वा फोटोमा कर्पुरगौरं करुणावतारम्….. भनेर हाम्रो धर्मको रक्षा र सामाजिक व्यवहारको पक्ष कसरी सुन्दर हुन सक्छ ? प्रश्न गम्भीर छ ।

हो, त्यसैगरी आज हामी बेलैमा सचेत हुन सकेनौ भने नक्कली ज्योतिषका कारण भोली ज्योतिष विधामा पनि त्यस्तै खालको अवस्था नआउन भन्न सकिदैन यो चिन्ताको विषय बनेको छ । यही चिन्ताको विषयलाई चिन्तन गरेर मैले तपाईहरुलाई ज्योतिष विधासँग सम्बन्धित केही ज्ञानहरु सञ्चार माध्यम मार्फत भएपनि दिने कोसिस गरेको छु । जसले गर्दा गणित गरेर फलित गर्ने ज्योतिषलाई मात्र होइन फल बताइ माग्ने तपाईहरुमा ज्ञान भयो भने मैले भनिरहन पर्दैन नक्कलीदेखि सावधान ।

कुनै पनि कुराको ज्ञान हुनका लागि गुरु हुन आवश्यक छ । बारम्बार भनिँदै आइएको छ नि बेदबाट विज्ञानको उत्पत्ति भएको हो भनेर । भलै सबैले यो तथ्यलाई सत्यतापूर्ण तरिकाले मान्लान् नमान्लान् त्यो सरोकारको विषय होइन । चाहे धर्ममा चाहे राजनीतिमा चाहे इतिहासमा आफू सर्वश्रेष्ठ ठहरिनका लागि विरोधका लागि विरोध गर्लान् तर एकमा एक जोडे दुई हुन्छ जुन ज्योतिष गणितले प्रमाणित गर्दछ र मान्दछ । त्यसैले मैलेपनि विभिन्न ग्रन्थहरुका सहायतामा नै यी विषयवस्तुहरु तयार पार्ने गर्दछु ।

अब लागौ आजको विषयवस्तु तिर । यो भन्दा अघिल्लो लेखमा जातकको आयू अल्पायू ज्ञानको बारेमा उल्लेख गरेको थिएँ भने यसपटक केही ग्रह र दशाको बारेमा स्पष्ट पार्ने जमर्को गरेको छु ।

सात वटा बारहरु छन् । तिनै सात बारका नामबाट ग्रहहरुका नामाकरण गरिएको छ । आइत, सोम, मंगल, बुध, बिही, शुक्र र शनि । आइतलाई आदित्य वा सूर्य, सोमलाई चन्द्रमा, मंगललाई मंगल वा भौम, बुधलाई बुध, विहीलाई बृहस्पति वा गुरु, शुक्रलाई शुक्र र शनिलाई शनि । तपाईंलाई लाग्न सक्छ ग्रह त नौ वटा हुन्छन् । हो ग्रह नौ वटा हुन्छन् । सात बारका नामबाट सात वटा र राहु र केतु छायाँ ग्रह भएकाले नौ ग्रह भएका हुन् । यसैगरी राशी १२ वटा हुन्छन् । सबैले जानेकै कुरा हो । ती राशीलाई १२ महिनाका नामबाट नामाकरण गरिएको छ । बैशाखलाई मेष, ज्येष्ठलाई बृष, असारलाई मिथुन, श्रावणलाई कर्कट, भाद्रलाई सिंह, असोजलाई कन्या, कार्तिकलाई तुला, मंसिरलाई बृच्छिक, पौषलाई धन, माघलाई मकर, फाल्गुनलाई कुम्भ र चैत्रलाई मीन । यसरी राशी र ग्रहहरुको बाँडफाँड ज्योतिष शास्त्रले गरेको छ । कुनैपनि जातक (बालक) को ग्रह र दशाको बारेमा जान्नका लागि यिनै राशी र ग्रहहरुको महत्वपूर्ण भूमिका रहन्छ । जबसम्म हामीले राशी र ग्रहको बारेमा जानकारी राख्दैनौं तबसम्म उसको बलाबल फलको बारेमा जानकारी हुन सक्दैन । राशी र ग्रहको बारेमा जान्नका लागि नक्षत्रको ज्ञान हुन जरुरी छ । ज्योतिष शास्त्र अनुसारको चक्रमा २८ वटा नक्षत्रहरु छन् । ज्योतिष विधामा सबैभन्दा बलवान हुन्छन् नक्षत्रहरु । अश्वनी, भरणी, कृत्तिका, रोहिणी, मृगशिरालगायत २८ वटा नक्षत्रहरुबाट नै गणित अगाडि बढ्ने गर्दछ ।

जस्तै कुनै बालकको जन्म भयो । त्यो बालकको जन्म कुन नक्षत्रमा भयो भन्ने प्रमुख रुपमा हेर्नु पर्दछ । त्यही नक्षत्रबाट नै उसको नामाकरण, राशीको निर्धारण, कुन स्थानमा कुन ग्रह बसे र कुन उमेर वर्षमा कुन दशा बसे भन्ने कुराको निर्धारण गरिन्छ । नक्षत्रको जानकारी नभई भभोग हुँदैन, भभोगको जानकारी नभई भयात हुँदैन, भयातको जानकारी नभई इष्टघटिकाको जानकारी हुँदैन । शुद्ध भभोग नभई चरण (पाउ) शुद्ध हुँदैन, चरण शुद्ध नभई जातकको नाम शुद्ध हुँदैन अनि ज्योतिषीय गणित फलितमा उसका दशा निर्माण, ग्रह निर्धारण, अन्तरदशादेखि उसको चिना (जन्मपत्रिका) समेत फरक पर्दछ र ज्योतिष विधाले निर्धारण गरे अनुसारको फल प्राप्त हुँदैन । अनि दोष दिइन्छ ज्योतिष विधालाई । त्यो दोष त भभोग, भयात, इष्टघटिका, चरणको निर्धारण गर्ने ज्योषितको हो ज्योतिष विधाको होइन ।

यहाँ नौ वटा ग्रहको बारेमा उल्लेख गरिसकियो । त्यसैगरी योगिनी दशा ८ वटा हुने गर्दछन् । मंगला, पिंगला, धान्य, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र संकटा । यी प्रत्येक दशाले फरक फरक फल प्रदान गर्दछन् । ग्रहको नामबाट नामाकरण गरिएका विशोंत्तरीय दशा हुन्छन् । तिनले पनि फरक फरक फल प्रदान गर्दछन् । त्यसैगरी विशोंत्तरीय दशा जस्तै त्रिभागी दशा पनि हुन्छ ।

योगिनी दशाको फल हेर्नु भन्दा पहिला योगिनी दशा निकाल्ने तरिकाको बारेमा जान्नु आवश्यक छ । त्यसैले योगिनी दशा कसरी साधना गर्ने भन्ने बारेमा एउटा श्लोक छ । ज्योतिष विधा भनेको गणित हो । त्यो गणितलाई सजिलो तरिकाले व्यवहारमा ल्याउनका लागि श्लोकहरु निर्माण गरिएका छन् । जसरी व्यवहारिक गणितमा सुत्र प्रयोग गरिन्छ त्यसरी ज्योतिषिय गणितमा श्लोक प्रयोग हुने गर्दछन् । अब योगिनी दशा निकाल्नका लागि प्रयोग हुने श्लोक हेरौंः

स्वक्र्ष पिनाक नयनैः संयोज्यं बसुभिर्हरेत्
बोगिन्यष्टौ समाख्याताः शुन्यपाते च संकटा । (ल.जा.)
जन्म नक्षत्रमा ३ संख्या जोड्नु आएको लब्धीलाई ८ ले भाग गर्नु । अनि जति शेष रहन्छ त्यसबाट योगिनी दशाको वर्ष दशा जान्नुपर्दछ । शेष १ रहे मंगला, २ रहे पिंगला, ३ रहे धान्य, ४ रहे भ्रामरी ५ रहे भद्रिका, ६ रहे उल्का, ७ रहे सिद्धा र ० रहे संकटाको दशा हुन्छ । अब योगिनी दशाको फलको बारेमा केही चर्चा गरौं ।

वैरिणा विवदनं विनाशनं बहुनस्य बहुरत्न लाभदा
कामिनीसुतगउहाद्विलासदा मंगला सकल मंगलोदया ।
यो श्लोकले स्पष्ट पारेको छ । जसको मंगलाको योगिनी दशा चलिरहेको छ त्यो समयमा शत्रुहरुसँग विवाद हुने भएपनि बहानमा सफलता हुन्छ । अनेक किसिमका रत्नहरुको लाभ हुन्छ भने सन्तानमा सुख गृहमा सन्तोष हुने गर्दछ । यसका साथै सबै प्रकारका मंगलदायक कार्यहरु हुने गर्दछ । त्यसैले जसको मंगलाको दशा चलिरहेको छ उसको समयमा राम्रो हुने गर्दछ । परिवारमा सन्तोष, रत्नको प्राप्ति, सन्तानका सुख भएमा शत्रुहरु त डाहा गर्ने नै भए अनि उनीहरुसँग विवाद हुने भयो । यसैगरी अर्को श्लोकमा भनिएको छः

दुःख शोक कुलरोग बृद्धिता व्यग्रता च कलहः स्वजनैश्च्व
अन्त्यभाग फलदा कथिताऽसौ पिंगला च विदुषां सुखऽऽदादौ ।
जुन जातकको पिंगलाको दशा चलिरहेका छन् त्यस जातकलाई अनेक प्रकारका दुःख, शोक, कुल कुटुम्बमा समेत रोगव्याधी हुने गर्दछ । त्यति मात्र होइन स्वजनहरुसँगको कलह हुने गर्दछ । जसमा गर्दा घरमा कहिल्यै पनि शान्ति हुँदैन । अझ यस दशाको अन्त्य भागतिर अर्थात् यो दशा सकिन सकिन लाग्दै गर्दा निकै कष्टकारक समयको व्यतित गर्नुपर्ने हुन्छ । यसैगरी अर्को श्लोक हेरौं

धनं धान्यबृद्धि धरानाथमान्यां सदा युद्धभूमौ जयं धैर्यवन्तम्
कलत्राङ्गनानां सुखं चित्रवस्तैर्युतं धान्यका धातुबृद्धिं करोति ।
जब कुनै पनि जातकको योगिनी दशामा धान्यका दशा चलिरहेका छन् भने उसका सुदिन अर्थात सफल समयको संचालन भइरहेको छ भनेर बुझे हुन्छ । धान्यको दशामा माथिको श्लोकले भनेको छ, धनको बृद्धि हुन्छ, राज्यबाट सम्मान पाइन्छ । युद्धमा विजय हुन्छ, सन्तान र दाम्पत्या जीवनमा सुख हुन्छ । चित्रविचित्र वस्तुहरु किन्न मन लाग्छ । धातुहरु सुन चाँदी हिरा मणिकहरुको बृद्धि हुन्छ । त्यसैले धान्यको दशा अतिउत्तम दशा हो ।

विव्हशेभ्रमं हानिमुद्वेगता च कलत्राङ्ग सुखै र्वर्जितं च
ऋणं व्याधिबृद्धि तथा भूपकोपं दशाभ्रामरी भोग भङ्गं करोति ।
भ्रामरीको दशा चलेको समयमा विदेशमा भ्रमण गर्नुपर्ने हुन सक्छ । त्यो भ्रमण सुखको भ्रमण होइन दुःखको भ्रमण हुने गर्दछ । विरामी भएर उपचारका लागि अर्थात् धनआर्जनका लागि विदेश जानु पर्ने हुनसक्छ । धनसम्पत्तिमा हानी, उद्वेग, स्त्री पीडा, कुनै प्रकारका सुख नमिल्ने, ऋण तथा रोग व्याधीको बृद्धि हुने राज्य पक्षले पनि दुःख दिने समय रहन्छ ।

धनानां विबृद्धि गुणानां प्रकाशं समीचीनवस्त्रागमं राजमानम्
अलहर दिव्याङ्गना भोग सौख्यं दशाभद्रिका भद्रकार्य करोति ।
कुनै पनि जातको यो दशा चलिरहेको बेलामा धनको बृद्धि हुने, गुणको प्रकाश छरिने, सुन्दर वस्त्रहरुको लाभ हुने, राजसम्मान प्राप्ति हुने अलंकार युक्त सुन्दर स्त्रीको प्राप्ति हुने कल्याण तथा जनहितकारी कार्यमा मन लाग्ने गर्दछ । जसका कारण दुःख भोग्नु पर्दैन । कुकर्ममा मन जाँदैन भने यसै सुख प्राप्ति हुने नै भयो ।

जनानांविवादं, ज्वराणां प्रकोपं धनादिष्टदारादिकानां वियोगम्
स्वगोत्रे विवादं सुहृद्बन्धुवैरं दशा चोल्किकाऽनर्थकत्र्री सदैव ।
जुन जातकका उल्का दशा चलिरहेका हुन्छन् त्यस्तो जातकलाई आफ्नै स्वजनहरुमा विवाद उत्पन्न हुने गर्दछ । ज्वरो तथा रोगको प्रकोप बढ्ने गर्दछ । धन, स्त्री, इष्टमित्रहरुसँग वियोग हुनुपर्दछ । आफ्नै बन्धुबान्धवसँग पनि विवाद हुन्छ । मित्रहरुसँग वैरभाव हुन्छ । सदैव अनर्थ कार्य हुन्छ । यसले गर्दा उल्का दशा चलिरहेको समयमा राम्रो हुँदैन ।

राज्ञोऽधिकारं स्वजनादि सौख्यम् धनादिलाभं गुणकीर्तिंसिद्धिम्
बमादिलाभं सुतबृद्धिसौख्यम् विधां च सिद्धा करोति पुंसाम् ।
दशा भरिमा सबैभन्दा राम्रो दशाको रुपमा चिनिएको सिद्धा दशा । यो दशा चलिरहेको बेलामा राजकीय कार्यमा अधिकार प्राप्त हुन सक्छ । स्वजनादिहरुबाट सुख प्राप्त हुन्छ । धनको बृद्धि हुन्छ । गुण र कीर्तिमा बृद्धि हुन्छ । स्त्री तथा पुत्रबाट लाभ हुन्छ । जीवनमा सुख प्राप्त हुन्छ भने विधामा समेत बृद्धि हुने गर्दछ । जसले गर्दा जीवनको यो समयमा सर्वसिद्धि हुने नै भयो । यसैगरी अर्को दशा हो संकटाको दशा हो । संकटाको दशा चल्यो भने के हुन्छ भन्ने कुरालाई तलको श्लोकले स्पष्ट पारेको छः

जनानांविवादं ज्वराणां प्रकोपं कलत्राटिकष्टं पशुनां विनाशं
गृहे स्वल्पवासं प्रवासाभिलापं दशा संकटा संकटं राजपक्षात् ।
जब कुनै जातकको संकटाका दशा चल्दछन् उसको स्वजनसँग विवाद हुने भयो रोगहरु बढेर जाने भए स्त्री वर्गबाट समेत कष्ट भोग्नु पर्ने भयो । विदेश जाने पर्ने जन्मभूमिलाई त्याग्नुपर्ने हुनसक्छ भने राज्यपक्षले पनि संकट उत्पन्न गराउने जस्ता कार्यहरु हुने गर्दछन् ।

यी दशाहरुल फल प्रदान गर्नका लागि माथि भनिए झैँ भभोगदेखि भयातसम्म स्पष्ट निकालिएको हुनुपर्दछ । त्यसका साथै स्थिर ग्रहहरुले पनि साथ दिएको हुनुपर्दछ । ग्रहहरु उच्च र नीच हुने गर्दछन् । त्यसको बारेमा संक्षिप्तमा जानकारी राखौ ।

सूर्य ग्रह मेष राशीमा उच्च हुन्छ भने तुला राशीमा चीन हुने गर्दछ । चन्द्रमा वृष राशीमा उच्च हुने गर्दछ भने बृच्छिक राशीमा नीच हुने गर्दछ । मंगल मकर राशीमा उच्च हुने गर्दछ भने कर्कट राशीमा नीच हुने गर्दछ । बुध कन्या राशीमा उच्च हुने गर्दछ भने मीन राशीमा नीच हुने गर्दछ । बृहस्पति कर्कट राशीमा उच्च हुने गर्दछ भने मकर राशीमा नीच हुने गर्दछ । शुक्र मीन राशीमा उच्च हुने गर्दछ भने कन्या राशीमा नीच हुने गर्दछ । शनि तुला राशीमा उच्च हुने गर्दछ भने मेष राशीमा नीच हुने गर्दछ । यसैगरी राहु बृष राशीमा उच्च हुने गर्दछ भने बृच्छिक र धनु राशीमा नीच हुने गर्दछ । केतु बृच्छिक र धनु राशीमा उच्च हुने गर्दछ भने बृष र मिथुन राशीमा नीच हुने गर्दछ ।

योगिनी दशा तथा त्यसको फल र ग्रहहरुको उच्च र नीच स्थानको बारेमा जानकारी त भयो । तर विंशोत्तरीय, त्रिभागी दशा कसरी निकाल्ने भन्ने बारेमा पनि जान्न आवश्यक छ । हामीले जसरी एउटा श्लोकको सहायताबाट योगिनी दशा निकाल्न सक्छौ त्यसरी नै एउटा श्लोकको सहायताबाट विंशोत्तरीय तथा त्रिभागी दशा पनि साधना गर्न सकिन्छ ।

नेत्रीनं जन्मनक्षत्रं नन्द भागावशेषितम्
आ.चं.भौ.रा.बृ.श.बु.के.शु.नां स्युः क्रमतोदशा ।
विंशोत्तरीय दशाको साधना गर्दा पनि योगिनी दशाको साधना गरे जस्तै श्लोक अनुसार जन्म नक्षत्र संख्यामा २ घटाएर ९ ले भाग दिनुपर्छ । आएको शेष अनुसार नै विंशोत्तरीय दशामान जान्नु पर्ने हुन्छ । शेष १ रहेमा सूर्य, २ रहेमा चन्द्रमा, ३ रहेमा भौम एवम् प्रकारले श्लोकमा भनेजस्तै दशाहरु रहन्छन् र ० शेष रहेमा शुक्रको दशा हुन्छ । विंशोत्तरीको दशा र त्रिभागीको दशाका ग्रहहरु एउटै हुन्छन् तर भोग्य वर्ष मात्र फरक हुने गर्दछ । त्यसैले त्रिभागी दशा साधना गर्दा विंशोत्तरी दशाको वर्षमानलाई ३ भाग लगाई १ भाग छोडिदिनु र बाँकी २ भागलाई एक ठाउँमा जोड्नु योगफल जति हुन्छ त्यसलाई त्रिभागी दशा जान्नु ।