Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

ज्योतिष ज्ञान : विवाह सम्बन्धी जान्नै पर्ने तथ्य

असारको महिनामा किसानलाई धान रोप्न निकै हतारो हुने गर्दछ । असारमा धान रोप्न हतार नगर्ने किसानको मंसिरमा भकारी भरिने कुरै भएन । असारमा मानो रोपियो भने पो मंसिरमा मुरी भित्र्याउन पाइन्छ । त्यसैगरी उमेर पुगेका युवा युवतीहरु पनि विवाह गर्नका लागि हतारिएका हुन्छन् । छोराछोरीको उमेर पुगेपछि आमाबाबुलाई उनीहरुको विवाह गरिदिन पाएको भन्ने लाग्नु स्वभाविक हो । अझ कतिपयले त उमेर ढल्कदै गर्दा पनि विवाह नगरिदिएपछि आमाबाबुमा चिन्ता बढ्ने गर्दछ । छोरा वा छोरीले विवाह गरिदिएको भए कति सन्तोष हुने थियो धेरैका आमाबाबुले यसो भनिरहेका हुन्छन् ।

ज्यो. खगेन्द्र अधिकारी

पहिले पहिले बालविवाह गर्ने प्रचलन थियो । जसले गर्दा मान्छेको जीवन त्यत्ति सुखमय हुन सक्दैनथ्यो । जुन समयमा शिक्षाको विकास भएको थिएन । प्रविधिको विकास भएको थिएन । मान्छेमा चेतनाको विकास भएपनि सचेतनाको अभाव थियो । त्यसैले पनि बालविवाहहरु हुने गर्दथे । अहिले बालविवाह न्यूनिकरण हुँदै गएको छ । यसमा सचेतना, शिक्षा र नेपाल सरकारले निर्माण गरेको कानूनले पनि प्रभाव पारेको छ ।

छोरीको रजश्वला हुनुभन्दा पहिले नै कन्यादान गर्नुपर्छ भन्ने रुढीवादी परम्परा थियो । कतिपय अव्यवहारिक कुराहरुलाई संशोधन गर्दै अगाडि बढ्न आवश्यक भएकाले पनि हामीले यो आध्यात्मिक र वैज्ञानिक कुरालाई जोडेर अगाडि बढ्न सके मात्र हाम्रो जीवन सफल हुने गर्दछ । बालविवाह गरेमा उमेर नपुग्दै र शारिरीक विकास नहुँदै बच्चा जन्मने अनि त्यो बच्चाको शारिरीक र मानसिक बृद्धिविकासमा समेत बाधा हुने भएकाले त्यो गलत थियो र छ । अर्कोतर्फ छोरा होस् कि छोरी उसको शिक्षा पूरा नहुने भएकाले उनीहरुको जीवनमा शिक्षाको ज्योति नपुग्ने अनि सानैमा उमेरमा हुने विवाहका कारण बहुविवाह हुने जस्ता सामाजिक र कानूनी रुपमा हुने अपराधहरुमा बृद्धि हुने हुँदा पनि बालविवाह गलत थियो । तर पछिल्लो समयमा बालविवाह न्यूनिकरण गर्दै त्यसलाई शुन्यमा झार्नका लागि कानून एकातिर बलवान भएर उभिएको छ भने विवाह गर्ने गराउनेहरु पनि सचेत भएका छन् । यो सुखद पक्ष हो ।

उमेर पुगेका युवायुवतीहरुका लागि विवाह गर्ने बेलामा दुलाहा र दुलही पक्षकाले जान्नै पर्ने केही महत्वपूर्ण कुराहरुको बारेमा यहाँ जानकारी गराउने उद्देश्य राखेर यो लेख तयार पारिएको छ । यो मंसिरको महिना जसलाई विवाह गर्न योग्य उमेरकाहरुले लगनको महिना पनि भन्ने गर्दछन् । यहाँ एउटा जोड्नै पर्ने तथ्य के छ भने विवाहका विभिन्न प्रकार अनुसार पछिल्लो समयमा मागी विवाहहरु कम हुन थालेका छन् भने भागी विवाह र प्रेम विवाहमा बृद्धि हुन थालेको छ । उमेर पुगेका, शिक्षा प्राप्त गरिसकेका र आफ्नो भविष्यको बाटो आफैले निर्माण गर्न सक्षम भएका युवा युवतीहरु प्रायः प्रेम विवाह गर्न थालेका छन् । प्रेम विवाह गरेकाहरु पनि सबै सफल भने छैनन् ।

प्रेममा परेर, एक अर्कालाई राम्रोसँग बुझेर, व्यापक रुपमा जीवन र भविष्यका बारेमा छलफल गरेर गरिएको विवाह पनि किन असफल हुन्छ त ? निकै गम्भीर प्रश्न आउँछ । किनकी उनीहरुले प्रेमको कुरा गरे । भविष्यको कुरा गरे । आर्थिक उपार्जनको कुरा गरे । जागिरको कुरा गरे । तर उनीहरुले भूमण्डलको, सौर्यमण्डलको, ग्रहमण्डलको, तारामण्डलको कुरा गरेनन् । विज्ञानको कुरा गरे ज्ञानको कुरा गरेनन् । विज्ञानलाई पनि ज्ञान दिने भनेको ज्योतिषशास्त्र हो भन्ने कुरा धेरैलाई विश्वास नलाग्न सक्छ । यो कुराको विश्वास उसैले गर्छ जसले ज्योतिष ज्ञान अर्थात आध्यात्म विज्ञानको बारेमा केही बुझेको छ, केही पढेको छ केही सुनेको छ । त्यसैले ज्योतिषज्ञानको बारेमा कुनै पनि महत्व नराखी गरिएका त्यस्ता विवाहहरु भविष्यमा असफल हुने गर्दछन् । सुरुका दिनहरुमा भएको माया प्रेम, आत्मियता, विश्वास पछि गएर किन सानो सानो कुरामा टुक्रिन थाल्दछ भन्ने कुरालाई जो कोहीले पनि सहज अनुमान गर्न सकिन्छ । कहिँ न कहिँ ग्रह, राशी जस्ता कुराहरुले असर गरिरहेका हुन्छन् । यो भनेको कसैले मदिरापान गरेपछि मान्छे नशामा जसरी लठ्ठिन्छ त्यसरी झ्वाट्ट हुने कुरा होइन । विस्तारै जीवनमा असर हुने भएकाले विवाह बन्धनमा बाँधिदा ज्योतिष ज्ञानलाई विशेष महत्वका साथ हेर्नै पर्दछ ।

विवाह गर्नु भनेको एक अर्कोको सहारा बन्नु हो । जसरी एउटा चराको दुईटा पखेटा हुन्छन् एउटा पखेटा कमजोर भयो भने उसको जीवन कति दुःखदायी हुन्छ । एक रथका दुई पाङ्ग्रा त भन्छौ तर एउटा पाङ्ग्रा कमजोर भयो भने रथ गुड्न सक्दैन । त्यसैले एउटा सुन्दर र सुखद घरमा स्त्री पुरुषको पारस्परिक मित्रभावले मात्र चाहे जस्तै रमाइलो र सोचे जस्तै सुख ल्याउन सक्छ । मागेर विवाह गर्नेहरु वा भागेर (प्रेम) विवाह गर्नेहरु पनि ब्राह्मण, देवगणहरु, अग्नीलाई साँक्षी राखेर विवाह बन्धनमा बाँधिने गर्दछन् । ती साँक्षीहरु राख्दै गर्दा ज्योतिषशास्त्र अनुसार उनीहरुको विवाह मेल भएको रहेनछ भने कसरी जीवन सुखी हुन्छ । विवाह गर्दा वर कन्या दुबैका ग्रहहरुमा मेल हुनुपर्दछ । बृहज्योतिसारमा भनिएको छः

ग्रहमेलापके योग्यः न भोग्यः भिषजां मते
धर्मशास्त्र मते हीनः नोद्वाहः तत् प्रशस्यते ।
यसको अर्थ के हो भने, यदि जन्मनक्षत्रबाट ग्रह मेलापक र नक्षत्र मेलापक बनिरहेको छ । किन्तु बैद्यहरुको दृष्टिमा र धर्माशास्त्रको दृष्टिमा बर एवं कन्या दसषित भए उनीहरुको परम्परमा विवाह कदापी गर्नु हुन्न । अर्थात वर एवं कन्याका पिता एवं माता आदिको कर्तव्य हो कि जसरी ज्योतिषीको अदृष्य विषयमा सम्मति लिन्छन् उसैगरी विवाहका पहिला दिनहरुको दृष्यको सिद्धि विषयहरुमा बैद्य धर्मशास्त्रीहरुको पनि राय लिउन् र तिनीहरुको पनि कर्तव्य हो कि निर्भिकता पूर्वक उचित राय दिउन् । अनि मात्र विवाहका लागि अन्य प्रक्रियाहरु अगाडि बढ्नु ।

विद्वानको मत अनुसार जन्म महिनामा विवाह गर्नु हुँदैन । त्यसैगरी त्रिजेष्ठा पारेर विवाह गर्नु हुँदैन । त्रिजेष्ठा भनेको वर र कन्याको जन्म महिना पनि जेष्ठ अनि विवाह पनि जेष्ठ महिनामा हुने भएमा त्रिजेष्ठा हुन्छ । त्रिजेष्ठामा गरिएको विवाह कालान्तरमा दुःखदायी नै हुन्छ ।

हामी व्यवहारिक रुपमा ३२ लक्षणले युक्त कन्या वा बरको कुरा गर्दछौ । ती बत्तिस लक्षण भन्दा पनि ज्योतिषशास्त्रमा ३६ गुण प्रधान रहेको छ । त्यसैले ३२ लक्षण व्यवहारमा चलेको भएपनि ३६ गुणहरु हुनुपर्दछ । तर ३६ मा ३६ गुणले नै युक्त भेटिन अपवाद बाहेक सम्भव छैन । त्यसैले ज्योतिषशास्त्रले पनि आधाभन्दा बढी गुण हुनुपर्दछ भनेको छ । आधाभन्दा कम गुण छन् भने विवाह राम्रो मानिदैन भने कतिपय यस्ता अवस्थाहरु छन् जुन अवस्थामा गुण आधाभन्दा बढि भएपनि विवाह गर्दा दोष हुनसक्छ ।

वर कन्या दुबैका जन्मपत्रिका (चिना) को सहायताबाट विवाह मेलापक हेर्ने गरिन्छ । जसको जन्मलग्न, चन्द्रलग्न र शुक्रबाट १२, २, ४, ७, १ र ८ स्थानहरुमा मंगल (मंगल पापग्रहरुको उपलक्षण मात्र हो, यसकारण सूर्य, शनि, राहु, केतु आदि ग्रहहरुलाई गन्नुपर्छ) भएदेखि तिनीहरुको (पापग्रहहरुको) समानता भए त्यो विवाह गर्दा दम्पत्तिको दीर्घायू, पुत्र, मित्र, प्रशस्त धनले युक्त हुन्छ । यहाँ निकै महत्वका साथ ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरा के हो भने यदि वर कन्या दुबैका जन्मपत्रिकामा मंगल अथवा पापग्रहहरुको स्थिति वैषम्य हुन्छ भने उनीहरु मध्ये सके दुबैको भएन एक जनाको मृत्यु हुन्छ भनेर प्रसिद्ध आचार्यहरुले बताएका छन् ।

ग्रह मेलापकमा कन्याको मंगली योग वा वैधब्य योग परेको छ र वर मांगलिक योग नभएको छ अर्थात मंगलसँग मांगलिक योग परेन तैपनि उसको कुण्डलीमा दारहा योग बन्छ भने गुणहरुको अधिकता छ भने ती दुईको विवाह गर्दा फरक पर्दैन । वर कन्या दुबै मांगलिक योगका छन् गुण अधिकता कम छ भनेपनि विवाह गर्दा हुन्छ । यसैगरी बृहज्योतिसारमा उल्लेख गरिएको छ किः

सूर्य भोमाकिं बारेषु तिथि भद्रा शताभिधम्
अश्लेषा कृत्तिका चेत्स्यात्तत्र जाता विषाङ्गना ।
अर्थात, कन्याको जन्म समयमा रवि, मंगल, र शनिबारमा भद्रा अर्थात द्वितीया, सप्तमी, द्वादशी यिन मध्ये कुनैपनि तिथि र शतभिषा, कृत्तिका, अश्लेषा यिन मध्ये कुनैपनि एक नक्षत्र भए सो कन्या विषकन्या हुन्छे । विषकन्या भनेको निकै रिस गर्ने, झगडा गर्ने, घरमा कहिल्यै पनि मेलमिलाप नहुने, परिवारदेखि छिमेकीसम्ममा फाटो ल्याउने खालकी हुन्छे भन्ने हो । तर विवाहको मेलापक हेर्दा के ख्याल गर्नुपर्दछ भने कन्याको जन्म वा चन्द्र कुण्डलीबाट सातौं भावमा सप्तमेश अथवा शुभ ग्रह भएमा उसलाई अनपत्य, वैधव्य र विषकन्या सम्बन्धि दोष हुँदैन ।
विवाह जुराउदाको निकै महत्वपूर्ण पक्ष के हो भने गुण । यहाँ माथि पनि गुणहरुको बारेमा केही उल्लेख गरियो । ती गुणहरु कसरी निकाल्ने त ? पाठकबृन्दको प्रश्न आउने भयो । त्यो प्रश्नलाई निवारण गर्नका लागि गुणहरु निकाल्ने बारेमा पनि केही सहज तरिकाहरुको बारेमा उल्लेख गर्न बान्छनिय छ । वर्ण, वश्य, तारा, योनी, ग्रहमैत्री, गणमैत्री, भकुट र नाडी । यिनै आठवटा तत्वहरुबाट गुणहरुको बारेमा विचार गरिन्छ ।

कुन नक्षत्रमा जन्मेमा के गुण पर्दछ भन्ने बारेमा उल्लेख गरेमा कहिले काँही पाठकहरुले असल ज्योषित नभेटेको खण्डमा समेत आफैले विचार गर्नमा सहयोग पुगोस् भन्ने हेतुले गुणविचारका बारेमा उल्लेख गरिदैछ ।

वर्ण ः मीन, बृच्छिक र कर्कट राशीको ब्राह्मण वर्ण हुने गर्दछ । मेष, सिंह र धन राशीको क्षत्रीय वर्ण हुने गर्दछ । मिथुन, तुला र कुम्भ राशीको शुद्र वर्ण हुने गर्दछ भने वृष, मकर र कन्या राशीको वैश्य वर्ण हुने गर्दछ । वर्णमा श्रेष्ठ कन्या उत्तम हुन्न । पतिभन्दा श्रेष्ठ ब्राह्मणी विशेष बर्जित छन् । हीनवर्ण वरको मृत्यू हुन्छ । उदाहरणको लागि ब्राह्मण वर्णकी कन्या र शुद्र वर्णको वर छ भने त्यो कन्या चाँडै विधवा हुन्छे ।

वश्यः वश्यलाई सजिलो तरिकाले बुझ्नका लागि संज्ञाका मार्फत उल्लेख गरिएको छ । मकर राशीको पूर्वाद्ध, मेष, सिंह र धनु राशीको दोस्रो भाग अर्थात् उत्तराद्र्ध या बृष राशीको चतुष्पद संज्ञा हुन्छ । कर्कट राशीको कीट संज्ञा हुन्छ भने बृच्छिक राशीको सर्पसंज्ञा हुन्छ । यसैगरी तुला, मिथुन, कन्या र धनुको पूर्वाद्ध द्विपद संज्ञा हुन्छ भने मकरको दोस्रो भाग, कुम्भ, र मीन यी राशी जलचर संज्ञाका हुन्छन् । द्विपद राशीका सबै सबै राशीहरु वश्य हुन्छन् । केवल एउटा सिंह वशमा रहँदैन । द्विपद राशीका जलचर भोजन हुन्छन् र सर्पबाट द्विपद राशीलाई भय हुन्छ ।

ताराः कन्याको नक्षत्रसम्म गनेर दुबै अंक पृथक पृथक राख्नु । ती दुबै संख्याहरुमा ९ ले भाग दिँदा ३, ५ या त शेष बचे अशुभ तारा जान्नु अन्यमा शुभ हुन्छ ।

योनीः जुन नक्षत्रमा वर या कन्याको जन्म भएको छ त्यसबाट नै योनी ज्ञान हुन्छ । अश्विनी र शतभिषाको अश्व योनी, स्वाती र हस्ताका महिष योनी, पूर्वाभाद्रपद र धनिष्ठाको सिंह योनी, भरणी र रेवतीको गज योनी, कृत्तिका र पुष्यको मेष योनी, श्रावण र पूर्वाषाढाको बानर योनी, उत्तरषाढा र अभिजितको न्याउरी योनी, रोहिणी र मृगशिराको सर्प योनी, ज्येष्ठा र अनुराधाको मृग योनी, मूल र आद्र्राको कुकुर योनी, पुनर्बसु र अश्लेषाको विरालो योनी, पूर्वाफाल्गुनी र मघाको मुषक योनी, विशाखा र चित्राको व्याघ्र योनी, उत्तरभाद्रपद र उत्तरफाल्गुनीको गौ योनी हुन्छ । गाई र बाघ, भैसी र घोडा, कुकुर र मृग, सिंह र हात्ति, बानर र भेडा, न्याउरी र सर्पको परस्परमा वैरी हुन्छ । त्यसकारण विवाहमा योनीलाई पनि महत्वका साथ हेर्नु पर्दछ ।

ग्रहमैत्रीः सूर्यको मंगल, बृहस्पति र चन्द्रमा मित्र, शुक्र र शनि शत्रु, तथा बुध समग्रह हुन् । चन्द्रमाको बुध र सूर्य मित्र हुन् र शत्रु कुनै पनि छैनन् । मंगल, बृहस्पति, शुक्र र शनि चन्द्रमाका समग्रह हुन् । मंगलको चन्द्रमा, बृहस्पति र सूर्य मित्र हुन् । बुध शत्रु हो । शुक्र र शनि सम हुन् । बुधको शुक्र र शनि मित्र चन्द्रमा शत्रु तथा बृहस्पति शनि र मंगल सम मानिन्छन् । बृहस्पतिको सूर्य, मंगल र चन्द्रमा मित्र बुध र शुक्र शत्रु, शनि सम हुन् । शुक्रको बुध र शनि मित्र, चन्द्रमा र सुर्य शत्रु, मंगल र बृहस्पति सम हुन् । शनिको शुक्र र बुध मित्र, सूर्य चन्द्रमा र मंगल शत्रु, बृहस्पति सम मानिएको छ ।

गणमैत्रीः मघा, अश्लेषा, धनिष्ठा, ज्येष्ठा, मूल, शतभिषा, कृत्तिका, चित्रा र विशाखा यी नक्षत्रहरुका राक्षस गण हुन्छ भने तीनै पूर्वा, तीनै उत्तरा, रोहिणी, भरणी र आद्र्रा नक्षत्रको मनुष्य गण हुन्छ । यसैगरी अनुराधा, पुनर्बसु, मृगशिरा, श्रवण, रेवती, स्वाती, हस्त, अश्विनी, र पुष्यको देवता गण हुन्छ । गणको गुणमा ख्याल गर्नुपर्ने कुरा के भने आफ्ना आफ्ना गण अर्थात एउटै गण परेमा अतिउत्तम, देवता गण र मनुष्य गणमा भएमा मध्यम खालको सम्बन्ध रहन्छ भने राक्षस गण र मनुष्य गण भएमा मनुष्य गणवालाको मृत्यु हुन्छ । राक्षस देवता गण भएमा दुबैमा निरन्तरता झगडा भइरहन्छ ।

भकुटः कन्याको जन्म राशीबाट वरको जन्म राशी अनि वरको जन्म राशीबाट कन्याको जन्म राशी छैठौं वा आठौं भए षडष्टक हुन्छ । जसको फल दुबैको मृत्यू हुनु हो । नवौ या पाँचौ भए नवम पञ्चम हुन्छ । जसको फल सन्तानको हानी हो । दोस्रो या बाह्रौ भए द्विद्र्धादश हुन्छ जसको फल दुबै निर्धन हुनु हो । यी योगहरु भन्दा अतिरिक्त योग भए दुबैलाई सुखी बनाउनेवाला हुन्छ । षडष्टकका दुई भेद छन् । एक मृत्यु र दोस्रो प्रिति षडष्टक । कन्याको मेषसित, बृषको धनसित, मिथुनको बृच्छिकसित, कुम्भको कर्कटसित, मकरको सिंहसित र तुलाको मीनसित मृत्यु षडष्टक हुन्छ ।

नाडीः नाडी तीन प्रकारका हुन्छन् । जन्म नक्षत्रबाट नै नाडी निर्धारण गरिएको हुन्छ । ज्येष्ठा, मूल, आद्र्रा, पुनर्बसु, शतभिषा, पूर्वाभाद्रपद, उत्तराफाल्गुनी, हस्त, र अश्विनी नक्षत्रको आदि नाडी हुने गर्दछ । पुष्य, मृगशिरा, चित्र, अनुराधा, भरणी, धनिष्ठा, पूर्वाषाढा, पूर्वाफाल्गुनी र उत्तरभाद्रपदको मध्य नाडी हुने गर्दछ । स्वाती, विशाखा, कृत्तिका, रोहिणी, अश्लेषा, मघा, उत्तराषाढा, श्रवण र रेवती नक्षत्रको अन्त्य नाडी हुने गर्दछ । नाडीको ज्ञान हेर्दा वर कन्याको:

आदि नाडी परे वरलाई पिर्ला
मध्य नाडी परे दुबैतिर फिर्ला
अन्त्य नाडी परे कन्या विनाश
जोगाउनु नाडी हेर्ने ज्योतिष ।
यति कुराहरुको विचार गरिसकेपछि वर्गको पनि ख्याल गर्नै पर्ने हुन्छ । ज्योतिषशास्त्र अनुसार आठ वटा वर्गहरु विभाजित गरिएको छ । अ वर्ग, क वर्ग, च वर्ग, ट वर्ग, त वर्ग, प वर्ग, य वर्ग र श वर्ग । यिनमा गरुडको अ वर्ग, मार्जारको क वर्ग, सिंहको च वर्ग, श्वानको ट वर्ग, नागको त वर्ग, मुषकको प वर्ग, हरिणको य वर्ग मेषको श वर्ग हुने गर्दछ । (श वर्गलाई न्याउरीको वर्ग पनि भनिन्छ ।) जस्तै अ वर्गको गरुड हो भने त वर्गको नाग हो । गरुड र नाग परेमा विवाह हुन सक्दैन ।

ज्योतिषशास्त्र अनुसार अझ भनौ ज्योतिष विज्ञानको ख्याल नगरी विवाह गरिहालियो । केटी ल्याइ सकियो । कर्मकाण्डिय विवाह गर्न बाँकी छ भने त्यो अवस्थामा ज्योतिषशास्त्र अनुसार विवाहको मेलापक हेर्नु पर्दछ । तर ज्योतिषशास्त्र अनुसार विवाहको मेलापक मिलेन । अव समस्या उत्पन्न भयो । त्यसको निराकरण कसरी गर्ने समाधान कसरी गर्ने भन्ने तर्फ लाग्नु नै उचित हुन्छ । किनकी मन परेर र पारेर ल्याइ सकेकी केटीलाई छोड्न पनि सकिदैन र मिल्दैन पनि । कानून बमोजिम ऊ आइसकि र आफूले ल्याइसकियो । त्यस्तो अवस्थामा अझ ध्यान दिएर ज्योतिष विधाका विधिहरुलाई केलाउन आवश्यक छ ।

जस्तै भकुट मिलेन । भकुट नमिलि विवाह गर्न सकिदैन भन्ने छ तर वर कन्याका राशीहरुको स्वामी एउटै भएमा विवाह शुभ हुन्छ । वर कन्याका राशीहरु मैत्री भए विवाह शुभ हुन्छ । नाडीशुद्धि नक्षत्रशुद्धि भए ताराशुद्धि भए राशीवश्यता पनि उचित भए राशीहरुको या ग्रहहरुको शुत्रभाव या समभाव भए दोष हुँदैन । यसैगरी वर कन्याका राशीहरुका स्वामीहरुमा दुबैका राशीहरुमा नवांशका स्वामीहरुमा मित्रता भए गणहरुको दोष लाग्दैन । यसैगरी रोहिणी, आद्र्रा, मृगशिरा, विशाखा, पुष्य, श्रवण, रेवती, उत्तराभाद्रपद यी नक्षत्रहरुमा बर कन्याका नक्षत्र छन् भने नाडी दोष लाग्दैन । यति हुँदाहुँदै पनि सोचे जस्तो कतैबाट जोगिन सक्ने परिस्थिति परेन भने पनि ल्याइसकेकी दुलहीलाई फर्काउन त मिलेन । अब त्यसको उपचार के त ? त्यसको पनि उपचार छ । जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुन्छ । कुनैपनि समस्या समाधान विनाको हुँदैन ।

नाडी दोषमा मृत्यूञ्जयको जप गराउनु पर्छ । ब्राह्मणलाई सुन दान दिनुपर्छ । वर्णादी दोषमा पनि सुन दान, गोदान, अन्नदान, बस्त्रदानसहितको दान गर्नुपर्छ ।

अन्तमा, पाठकवर्गलाई लाग्न सक्छ । दोष नभएको कहाँ होला र ? यो उत्तम प्रश्न हो । दोष असंख्य छन् । सब चीज दोषहरुले नै त परिपूर्ण छ । दोषरहिता दुर्लभ छ । कुनैमा कुनै दोष त कुनैमा कुनै दोष छन् । तर वैवाहिक जीवन सुखमय बनाउनका लागि गुणहरुको अधिकता र दोषहरुको न्यूनतालाई ख्याल गर्नुपर्छ । निषिद्ध मेलापकमा शास्त्र विहित दान र शान्ति गरेर विवाह गरेमा उत्तम हुने शौनकादि ऋषिले बताएका छन् । जुन कुरा बृहद्दैवज्ञरञ्जनमा उल्लेख गरिएको छ । हामीमा एउटा प्रचलन छ, वैशाख शुक्ल तृतीया अक्षय तृतीयामा, आश्विन शुक्लको नवरात्रमा, मार्गशुक्ल पञ्चमी विवाह पञ्चमीमा विवाहका लागि साइत हेर्नु पर्दैन भन्ने तर माथि उल्लेख गरिएका दिनहरुमा विवाहलाई तोकिएको नक्षत्र र लग्न भएमा विवाह गर्दा हुन्छ तर ती दिनहरुमा विवाहका लागि लग्न र नक्षत्र तोकिएको छैन भने कन्यादान दिँदा र लिदा समेत ख्याल गर्नुपर्दछ । भन्नुको मतलब शुभसाइत विवाहका लागि तोकिएका नक्षत्र र लग्न जुराउँदै पर्दछ । (बृहज्योतिसारः, बृहद्दैवज्ञरञ्जन, पञ्चाङ्ग र ज्योतिष गणितफलितमा आधारित सामग्रीको सहयोगमा । लेखक)