Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

कांग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित

सुर्खेत ।

नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

जिल्ला उपसभापति खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएको नवनिर्वाचित सभापति सिंहले जानकारी दिए । उनका अनुसार सह-सचिवमा खडक विसी (पजारु) र छवि पन्त चएन भएका छन् । कोषाध्यक्षपछि मनोनित गरिनेछ ।

त्यस्तै नगरपालिकाबाट तीन जना र गाँउपालिकाबाट दुई जना सदस्यसमेत सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समितिले निर्वाचित कार्यसमितिको औपचारिक घोषणा भने आज (सोमबार) दिउँसो गर्नेछ ।

‘पार्टीलाई थप बलियो बनाउन सर्वसम्मत नेतृत्व चएन गरेका छौं । सोमबार मात्रै पदाधिकारीको औपचारिक घोषणा हुन्छ’ नवनिर्वाचित सभापति सिंहले भने, ‘पार्टीलाई बलियो बनाउन र गुटगत राजनीतिको अन्त्य गर्न सर्वसम्मत नेतृत्व चयन गर्‍यौं ।’

यसअघि संस्थापन समूहमा रहेका सिंह पछिल्लो समय मध्यमार्गी नेताका रुपमा चिनिन्छन् । मध्यमार्गी नेता भएकै कारण उनी सर्वसम्मत सभापति बन्न सफल भएको नेताहरू बताउँन् । सभापति बाहेकका अन्य पदाधिकारी भने संस्थापन र संस्थापनइतर समूहले बराबरी लिएका छन् ।

यस्तै दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको जाजरकोटमा प्रदेश (क) को क्षेत्रीय सभापतिमा लिलाबहादुर शाह र (ख) मा जनक शर्मा (न्यौपाने) निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीलाई शुद्धीकरण गर्न यूवा नेतृत्व

देशभर जस्तै कर्णालीमा पनि वडादेखि नै संस्थापन र संस्थापनइतर समूहबीच नेतृत्व र प्रतिनिधि चयनमा प्रतिस्पर्धा भइरहेको छ । यहाँ संस्थापन पक्ष (शेरबहादुर देउवा)को महामन्त्री पूर्णबहादुर खड्का र संस्थापनइतर (रामचन्द्र पौडेल) समूहको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन् ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत भइरहेका निर्वाचन पनि यी दुई समूहबीच प्रतिस्पर्धा भै रहेको छ । तर यी दुई समूहको विवादका बीच पनि कांग्रेस जाजरकोटले वडादेखि जिल्लासम्मका पदाधिकारी सर्वसम्मत चयन मात्र गरेन युवाहरुलाई स्थानसमेत दिएको छ ।

अहिलेका राजनीतिज्ञले युवामा वितृष्णा पैदा गरेको आरोप लगाउँदै, गुम्दै गएको कांग्रेसको विरासत बचाउन युवा नेतृत्व आवश्यकता रहेको र सोही अनुसार नै युवाहरूलाई स्थान दिइएको नवनिर्वाचित सभापति सिंहले बताए ।

‘पार्टीलाई शुद्धीकरण गर्न आवश्यक छ । अब पार्टी पुरानै शैली र पद्धतिबाट चल्दैन । नेतृत्वमा नयाँ पुस्ता, आजको आवश्यकता हो’ नवनिर्वाचित सभापति सिंह भने, ‘त्यसैले नयाँ नेतृत्व चयनमा विवेक पुर्‍याएका छौं ।’

उनले अघि थपे, ‘हामीले सर्वसम्मत युवा नेतृत्व चएन गरेका छौं । र, शीर्ष नेतृत्वलाई पनि गुटगत राजनीति अनत्य गर्दै, सर्वसम्मत नेतृत्व छान्न दवाव दिएका छौं ।’

को हुन् वेदराज सिंह ?

जाजरकोटको बारेकोट गाउँपालिका-८, सक्लामा २०३७ साल वैशाख २४ गते जन्मिएका सिंह २०५६ सालमा नेपाल विद्यार्थी संघ जाजरकोटको जिल्ला अध्यक्ष बनेका थिए ।

त्यसपछि तत्कालीन अवस्थामा पार्टी विभाजन भएपछि नेपाली का‌ंग्रेस प्रजातान्त्रिकको जिल्ला सह-सचिव बने । २०६७ सम्पन्न पार्टीको १२औं महाधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचिन सिंह २०७२ मा सम्पन्न १३औं महाधिवेशनमा जिल्ला सभापतिमा ६ मत अन्तरले पराजित भए ।

उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा जाजरकोट प्रदेश (क) मा प्रदेश सभा सदस्यमा पराजित भएका थिए ।