एकिकृत समाजवादीको प्रदेश कमिटीले लियो सपथ
सुर्खेत ।
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको सपथ ग्रहण भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको थियो । प्रदेश कमिटीको सपथ ग्रहण तथा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल सुर्खेत आइपुगेका हुन् । कर्णाली प्रदेशका १६१ जनाले प्रदेश कमिटीको विभिन्न पदमा सपथ ग्रहण गरेको एकिकृत समाजवादीले जनाएको छ ।

यसैगरी आज मंसिर १० गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुलाई पार्टी अध्यक्षले प्रशिक्षण दिने कार्यक्रम रहेको सुर्खेत जिल्ला कमिटीका सचिव शिवप्रसाद उपाध्यायले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहनेछ ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चितवनमा हुन लागेको एमालेको महाधिवेशनमा नबोलाएको विषयमा ‘जुन गाउँमा जानु छैन त्यो गाउँको बाटै नसोध्नु भन्छन्, त्यसैले हामीले कुनै वास्ता नै गरेका छैनौं’ भनेका छन् । समाजवादीलाई भएको समर्थन देखेर विद्रोही दल तथा नेताहरूलाई ईष्या गर्न थालेको उनले बताए । कर्णाली प्रदेश कमिटीको सपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत आइपुगेका नेपालले यस्तो बताएका हुन् ।
‘हामीप्रतिको समर्थन देखेर कतिपय मानिसहरू डाहाले जलिरहेका छन्, जथाभावी बकिरहेका छन्,’ नेपालले भने, ‘हामी त्यसै हिसाबले इँट्टाको जवाफ पत्थरले दिन चाहँदैनौं, बरू समृद्धि छाओस् भनेर कामना गर्न चाहन्छौं ।’
पुराना विकृति, विसंगतिलाई हटाएर आफ्नो पार्टी अघि बढ्ने नेता नेपालले बताए । पत्रकारहरूसँग कुरा गर्दै समाजवादी पार्टी नयाँ ढंगले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनतर्फ लागेको उनको भनाई थियो ।
‘हामी पुराना विकृति र विसंगतिलाई हटाएर नयाँ ढंगले अगाडि बढ्न चाहन्छौं, किनभने कम्युनिस्ट पार्टी विकृति र विसंगतिकै कारण डुब्दो रहेछ,’ उनले भने, ‘नीति प्रधान होइन, नेता प्रधान भएर कम्युनिस्ट पार्टी पछाडि परेका छन् ।’
आजबाट चितवनमा हुने नेकपा एमालेको महाधिवेशनबारे व्यंग्य गर्दै नेपालले थपे, ‘दिन थाल्यो भने कम्युनिस्ट आन्दोलन चौपट भइहाल्छ, अहिले कमसेकम गैंडाको हातमा झण्डा दिइएको छ, अब गैंडा पाइएन भने बाँदरको हातमा पार्टीको झण्डा दिने होला ।’
देशमा समाजवादीको पक्षमा उत्रिएको जनसागरले आफू उत्साहित भएको उनले बताए । आफूहरूको राजनीतिक क्रान्तिको उद्देश्य पूरा भएपनि सामाजिक, आर्थिक क्रान्ति पूरा नभएको नेपालले बताए । नेपाली जनताको हित र कल्याणमा आफ्नो पार्टीले काम गर्ने अध्यक्ष नेपालले बताए ।










