Loading... आजः २ बैशाख २०८१, आईतवार । Sunday 14th April 2024

प्रदेशकै पहिलो गौरवको आयोजना, कर्णाली प्रदेश रंगशालाको शिलान्यास

सुर्खेत ।
कर्णाली प्रदेशकै पहिलो गौरवको आयोजनाका रुपमा प्रदेश रंगशालाको शिलान्यास भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश रंगशालाको शिलान्यास गर्नुभएको हो ।


प्रदेश सरकारको पहिलो प्रदेश गौरव आयोजना अन्तरगत राजधानी वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माण हुन लागेको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने गरी १० हजार दर्शक क्षमताको रंगशाला निर्माण थालेको हो । शिलान्यास भएको ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

प्रदेश खेलकुद विकास परिषद्ले १ अर्ब ५९ करोड रुपैयाँमा रंगशाला निर्माणको ठेक्का सम्झौता गरेको छ । शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले द्रुत गतीमा रंगशाला निर्माण गर्न निर्देशन दिएका छन् ।

‘मुख्य गौरव आयोजना समयमै सम्पन्न भएन भने यसले अर्थ राख्दैन । समयलाई उचीत व्यवस्थापन गर्न नसक्दा विकास निर्माणमा ढिलाई हुनेगरेका छन्’ शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘नेपाली समय हो भन्दैमा ढिलो गर्न पाइँदैन । ३० महिना भित्र द्रुत गतिमा रंगशाला निर्माण भएको हुनु पर्छ ।’

गौरव आयोजना निर्माणका लागि धेरै आयोजना छनोट भएपनि खेलकुद विकासलाई पहिलो प्राथमिकतामा राखेर पहिलो गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिएको मुख्यमन्त्री शाहीले बताउनु भयो । ‘गौरवका धेरै आयोजना थिए । तर खेलकुद विकासका लागि प्रदेश राजधानीमा रंगशाला अतिआवश्यक हुन्छ भनेर तत्काली मुख्यमन्त्री र मन्त्रीहरुले पहिलो प्राथमिकतामा राख्नु भएको हो ।’ शाहीले भन्नुभयो, ‘पात्र बदलिए पनि सरकार अविछिन्न हुन्छ, निरन्तर हुन्छ । त्यसैले यसको कार्यान्वयनमा विशेष जोड दिएका हौं ।’

प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन गर्ने योजना अघि सारेको भन्दै खेलाडीको प्रोत्साहनका लागि कार्यविधि बनाउन कार्यक्रम स्थलबाटै सामाजिक विकास मन्त्रालयका सचिवलाई मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो । ‘खेलाडीलाई प्रोत्साहन गर्न के गर्ने सोच गरिरहेका छौं । खेलका लागि त्याग खेलाडीको जीवन निर्वाहका परिकल्पना सरकारले गर्नुपर्छ ।’ ‘पदक जितेर आउने खेलाडीलाई कसरी प्रोत्साहन गर्नुपर्छ । त्यसका लागि के–कस्तो नीति आवश्यक पर्छ सामाजिक विकास मन्त्रालयका सचिवले यथासिघ्र कार्यविधि बनाएर पेश गर्नुहोस् ।’ मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो ।