ज्योतिष ज्ञानः मुहूर्त विचार
हामीले विभिन्न समयमा संकलन तथा सम्पादन गरेका लेखहरुले हाम्रा पाठकहरुलाई आंशिक रुपमा भएपनि सहज भएको पाठकहरुको प्रतिक्रियाले स्पष्ट भएको छ । हाम्रा पाठकहरुले हामीलाई विभिन्न मुहूर्तका बारेमा प्रश्न गर्न थाल्नु भएको छ । जसका कारण यस लेखमा हामी विभिन्न मुहुर्तहरुको बारेमा जानकारी दिने कोशिस गर्नेछौ । हाम्रा अधिकांश लेखहरुमा हामीले ज्योतिष विज्ञानका बारेमा र सामाजिक रुपमा रहेका यथार्थका बारेमा पनि स्पष्ट पार्दै आइरहेका छौ । मुहूर्तहरुमा प्रवेश गर्नु अगाडि एउटा पुरानो तर सूक्ष्म विषयको बारेमा यहाँहरुलाई भन्नै पर्ने हुन्छ ।
हामीसँग दुईवटा शास्त्रहरु छन् । एउटा धर्मशास्त्र (कर्मकाण्ड) अर्को ज्योतिष शास्त्र (विज्ञान) । आजको युगमा हामीले विज्ञानलाई आत्मसाथ नगरी सुखै छैन । भौतिक रुपमा भएका विकासहरु विज्ञानको कारणले भएको हो । प्रविधिको कारणले सहज बनाएको छ । त्यो प्रविधिको विकास विज्ञानबाट भएको हो । त्यो विज्ञानको विकास बेदबाट भएको हो । त्यसैले संसारकै पुरानो विज्ञानको रुपमा बेदलाई चर्चा गर्नु स्वभाविक हो । पाठकहरुको मनमा लाग्नसक्छ के नासाका वैज्ञानिकहरुले बेद पढेका हुन् र ? हो, नासाका वैज्ञानिकहरु बेदमा पोख्त छन् भन्ने कुरा धेरैलाई थाह नहुन पनि सक्छ । बेद केवल हिन्दुहरुको धर्मग्रन्थ मात्र होइन विज्ञान बारे ज्ञान दिने पवित्र पुस्तक पनि हो ।
बेदबाट नै कर्मकाण्ड र ज्ञानकाण्ड निकालिएका हुन् । कर्मकाण्ड विधिले कर्म गर भन्छ भने त्यो कर्म कतिबेला गर्ने र कसरी गर्ने भन्ने ज्ञान ज्योतिषशास्त्रले प्रदान गर्दछ । बेद र वेदाङ्गका बारेमा जानकारी नराखी विश्लेषण गर्नु भनेको मिथ्या हुने गर्दछ । वैदिक वाङ्मयको मूल स्वरुप नै वेद हो । बेदमा मूलभूत रुपमा दुईवटा काण्डहरु रहेका छन् एक ज्ञानकाण्ड र दुई कर्मकाण्ड ।
वेदलाई कार्य प्रकृतिका आधारमा चार भागमा विभाजन गरिएको छ । जसलाई हामी चार वेद भनेर मान्दछौ । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । यी वेदहरुमा कर्मकाण्ड र ज्ञानकाण्ड रहेका छन् । यही वेद भित्र ६ वटा अंगहरु रहेका छन् । जसलाई हामी वेदाङ्ग भन्दछौ । जसमा शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, र ज्योतिष । शिक्षा अर्थातको नाक । जसमा शिक्षा सम्बन्धि उपदेश, स्वर एवम् वर्णको उच्चारण, याज्ञवक्क्य शिक्षा, पाणिनि शिक्षा, हरेक वेदको शिक्षाको ज्ञान यस अंगमा रहेको छ । यसैगरी कल्प अर्थात हात । यस अंगमा वैदिक र लौकिक, स्रोतसुत्र र गुह्यसुत्र, स्मार्तसुत्र, शुल्यसुत्र आदि रहेका छन् भने व्याकरण अर्थात मुख अंगमा भाषाशास्त्र, प्रसिद्ध र व्याकरण इन्दु, चान्द्रु, काशकृत्वन, आपिशाली, शाकटायन, पाणिनि, अमर र जैनेन्द्र रहेका छन् । निरुक्त अर्थात् कान । यस अंगमा कोष ग्रन्थ, शब्दको अर्थ व्यूत्पति, व्याख्याका साथै यास्कको निघण्टु सर्वप्राचिन, तिघण्टु, नेगम, र वैजत तीन खण्डहरु रहेका छन् । वेदको अर्को अंग भनेको छन्द अर्थात खुट्टा हो । जसमा शब्द उच्चारण सम्बन्धिको व्यवस्था, पिङ्गल प्राचिन छन्दको ज्ञान छ । यसैगरी अर्को महत्वपूर्ण अंगको रुपमा छ ज्योतिष अर्थात आँखा । यस अंगमा विक, देश र कालज्ञान, पञ्चसिद्धान्तिका, पिताम्, वशिष्ठ, रोमक, पुलिश, सूर्य, लगध, आर्यभट, बराहमिहिर, भाष्कर आदि विद्वानहरुले यसको चर्चा गरेका छन् । त्यसैले वेदको मुख्य अंग आँखा अर्थात ज्योतिष शास्त्र रहेको पाइन्छ । ज्योतिषशास्त्रले काल (समय), दिशाको बारेमा ज्ञान दिने गर्दछ । त्यसैले पनि ज्योतिषशास्त्र अकाट्य शास्त्र हो । जसलाई आधुनिक विज्ञानले पनि स्वीकार गरेको छ ।
माथि उल्लेख गरिएको ज्योतिषशास्त्र अन्र्तगत विभिन्न मुहूर्तहरुको निर्माण गरिएको छ । मुहूर्त भनेको के हो ? दुई घडीको समय वा ४८ मिनेटलाई मुहूर्त भनिन्छ । ज्योतिषशास्त्र अनुसार यात्रा, विवाह, व्रतबन्ध आदि कार्यका निम्ति तोकिएको शुभ वा अशुभ काल, साइत, लगन तथा कुनै पनि कार्य गर्नु पूर्वको काल (समय) ठीक छ छैन भनेर विचार गर्नु नै मुहूर्त विचार हो । स्पष्ट रुपमा बुझ्नु पर्ने कुरा के हो भने मुहूर्त भनेको शुभ समयमा दुर्मुहूर्त भनेको अशुभ समय । हामीले जहिले पनि शुभ कार्यको थालनी गर्दा मुहूर्तलाई ध्यान दिन आवश्यक छ ।
अवसर पठिता वाणी सुकाले च कृता कृषिः
शुभ भवत वै लोके न काले वितथं श्रमः
संसारमा हामी देख्तछौ वा भन्दछौ कि मौकामा भनिएको कुरा र शुभ समयमा खेती सफल हुन्छ । कुनै काम समय विना गरियो भने त्यो व्यर्थ हुन्छ । चलनचल्तीको भाषामा भन्ने हो भने मौका हिरा फोर्नु र बेमौकामा कौरी नतोड्नु त्यसै भनिएको होइन । असारमा धान रोपाइँ गरे पो मंसिरमा भकारी भर्न पाइन्छ । समयमा नै खाना पकाउन थालियो भने भोक लागेको बेलामा खान पाइन्छ । जति बेला भोक लाग्यो त्यत्ति बेला खान पकाउन सुरु गरियो भने खाना पाक्दापाक्दै भोक हराइसकेको हुन्छ । भोक मेटिएको हुँदैन हराएको हुन्छ । अनि पछि त्यो खाना पनि मीठो लाग्दैन र त्यस्तो खानाले स्वास्थ्यलाई फाइदा पनि गर्दैन । त्यसैले यो मुहूर्त भनेको पनि बेला हो समय हो । त्यसैले हामीले गर्नुपर्ने कामहरु मुहूर्तमा गर्नुपर्छ ज्योतिषिय मान्यता छ ।
साठी पलाको एक १ घडी हुन्छ । २ घडीको एक मुहूर्त हुन्छ । ३० मुहूर्तको एक अहोरात्र हुन्छ ।
मुहूर्त चक्र यस प्रकार रहेको छ ।
मुहूर्तका नाम नक्षत्र 
दिनमा
शिव –आद्र्रा
सार्प –अश्लेषा
मित्र –अनुराधा
पितृ –मघा
बसु –धनिष्ठा
अम्बु –पू.षा.
विश्वेदेव –उ.षा.
अभिजित् –अभिजित्
ब्रम्हा –रोहिणी
इन्द्र –ज्येष्ठा
इन्द्राग्नी –विशाखा
निशाचर –मूल
जलाधीश –शतबारका
अर्यमा –उ.फा.
भग –पू.फा.
रात्रीमा
शिव –आद्र्रा
अजैकपाद –पूर्वाभाद्रपद
अहिर्बुध्न्य –उत्तरभाद्रपद
पूषा –रेवती
दस्र –अश्विनी
यम –भरणी
वह्रि –कृत्तिका
ब्रम्हा –रोहीणी
चन्द्र –मृगशिरा
अदिति –पुनर्वसु
गुरु –पुष्य
विष्णु –श्रवण
सूर्य –हस्त
त्वष्ठा –चित्रा
वायु –स्वाती
अब लागौ मुहूर्तको ज्ञान तर्फ ।
जातकर्म र नामाकरण मुहूर्तः
जाते पुत्रे तिा स्नात्वा बृद्धि श्राद्धं विधानतः
कृत्वाकर्माखिलं कुर्यात नान्यैरालम्भनात् पुरा ।
पुष्यार्कत्रय मैत्रभे तु मृगभे ज्येष्ठाधनिष्ठोत्तरा
दित्याख्पेषु न नामकर्मशुभदं योगे प्रशस्ते तिथौ
अह्रिद्वादशके तथान्यदिवसे शस्ते तथैकादशे
गोसिहालिघटेषु ह्यर्कबुधयोजवि शशांकेपि च ।
यसको अर्थ के हो भने सन्तान उत्पन्न भएको सुन्ने वित्तिकै बाबुले कसैलाई पनि नछोई लगाएकै लुगाले पहिले नुहाउनु उत्तम हुन्छ । त्यसपछि बृद्धिश्राद्ध वा उसको बदलामा सुन अथवा सुनको मूल्य बराबरको द्रव्यले सांकल्पिक श्राद्ध गर्नु अनि नालच्छेदनादी जातकर्म गर्नु त्यसपछि बालक पैदा भएको दिनबाट एघारौ, बाह्रौ वा कुनै अड्चन परे कुनै राम्रो दिन हेरेर शुभ तिथिमा पुष्य, हस्त, चित्रा, स्वाती, अनुराधा, मृगशिरा, ज्येष्ठा, धनिष्ठा, तीनै उत्तरा, पुनर्वसु यी नक्षत्रहरुमा वृष, सिंह, बृच्छिक, कुम्भ लग्नमा सूर्य, बुध, गुरु, चन्द्र यी ग्रहहरुको केन्द्रकोण स्थितिवस नामाकरण संस्कार गर्नु उत्तम रहन्छ । हाम्रा पाठकहरुले अत्याधिक गर्ने प्रश्न हो अन्न प्रशान कहिले गर्दा ठीक हुन्छ । त्यसको लागि अन्न प्रशान मुहूर्तको बारेमा जानकारी लिऔं ।
पूर्वाद्र्रा भरणी भुजङ्ग वरुणं त्यक्त्वा कुजार्की तथा
नन्दा पर्व च सप्तमीमपि तथा रिक्तामपि द्वादशीम् ।
षष्ठे मास्यथवान्नभक्षण विधिं स्रीणामयुक् पञ्चमे
गो कन्या झष मन्मथेषु धवले पक्षे च योगे शुभे ।
यसको अर्थ हो अन्नप्राशन गर्दा तीन उत्तरा, आद्र्रा, भरणी, अश्लेषा, अतभिषा यी नक्षत्र, मंगल र शनिबार, नन्दातिथि, पर्व (कृष्णपक्षको चतुर्दशी, अष्टमी, अमावश्या, पूर्णिमा तिथि र रविको सक्रान्ति), रिक्ता तिथिलाई छोडेर शेष तिथि बार तथा नक्षत्रमा छैठौ मासमा र कन्याको पाँचौ वा विषम (विजोर) महिनामा वृष, कन्या, मीन र मिथुन लग्नहरुमा तथा शुक्लपक्ष र शुभयोगमा गर्नु । अन्नप्राशन लग्नबाट दशमस्थान ग्रहरहित हुनुपर्दछ । दशमस्थान स्थित शुभ ग्रहपनि अशुभकारक नै हुन्छ भन्ने पारिजातको मत छ ।
नासिका वेध मुहूर्तः
कर्ण वेधोक्तभे शस्तं कन्यायाः घ्राण वेधनम्
त्र्युत्तराजलपस्वातौ पूर्वाद्धे शुक्लपक्षके ।
कन्याको नाक छेड्दा कर्णवेधोक्त नक्षत्र एवम् तिनै उत्तरा, शतभिषा, स्वाती, यिनमा तथा शुक्लपक्ष र पूर्वाङ्गमा कन्याको नासिका वेध गर्नुपर्दछ । यहाँ यो बुझ्न पनि जरुरी छ कि नासिका वेध वैदिक संस्कार अन्तर्गत पर्दैन ।
मुण्डन मुहूर्तः बालकको क्षौरकर्म तथा कपाल काट्ने विषयमा तेस्रो वर्षदेखि अथवा जन्मदेखि विषय वर्षमा अष्टमी, दशमी, द्वादशी, रिक्ता तिथि, प्रतिपदा, षष्ठी, पर्व, या चैत्रमास यिनलाई छोडेर सूर्य उत्तरायण हुँदा सूर्य, बुध, चन्द्र, शुक्र तथा बृहस्पति बारमा यिनै ग्रहहरुको लग्न या नवांशहरुमा जन्मराशी या जन्मराशीबाट आठौ लग्न छोडेर लग्नबाट आठवाँ गृह ग्रह रहित होस् ज्येष्ठा नक्षत्रले युक्त र अनुराधा नक्षत्रलाई छोडेर मृद, चर, एवम् लघुसंज्ञक नक्षत्र र पापग्रह लग्नाबट एघारौं, छैठौं, र तेस्रो स्थानमा हुन् त मुण्डन गर्नु शुभ हुन्छ । तर जुन बालककी आमाको पाँच महिना भन्दा बढिको गर्भ छ त्यस बालकको मुण्डन गर्न हुँदैन । यदि बालक पाँच वर्ष भन्दा बढि उमेरको भइसकेको छ भने आमा गर्भवती भएपनि मुण्डन गर्दा दोष लाग्दैन । अर्को महत्वपूर्ण कुरा के छ भने आमा ऋतुमती भएको बेलामा, जेठो छोराको जेठमा मुण्डन गर्नु हुँदैन । हाम्रो चलनमा आमा हुने छोराको माघमा पनि मुण्डन गर्नु हुँदैन भन्ने परम्परा छ । यदि तारा दुष्ट होस् र चन्द्रमा शुभ भए ताराको दोष क्षौरकर्म तथा यात्रामा हुँदैन ।
व्रतबन्ध मुहूर्तः
ब्रतबन्धस्तु विप्राणां गर्भाद्वाजन्मतोऽष्टमे
षष्ठेब्दे सप्तमे मध्यो विद्याकामस्य पंचमे
षष्ठेब्दे चैकादशेऽद्वे वा क्षत्रियाणामुदीरितः
वैश्यानां द्वादशेऽब्दे स्षदष्टमे गर्भतोऽपि वा ।
ब्राह्मणहरुको यज्ञोपवित गर्भाधानबाट या जन्मदिनबाट आठौ वर्षमा श्रेष्ठ छ । छैठौ वा सातौ वर्षमा मध्यम छ । विद्याकाम (छिटै वेद अध्ययन गर्न चाहनेहरुका लागि) पाँचौ वर्षमा उपनयन गर्न सकिन्छ । छैठौ या एघारौ वर्षमा क्षत्रीयको र जन्मबाट या गर्भबाट आठौ या बाह्रौ वर्षमा वैश्य वर्णका बालकहरुको यज्ञोपवित संस्कार शास्त्रहरुम बताइएको छ । यो उपनयनको मुख्य काल हो यो उमेर वितेपछि गौणकाल सुरु हुन्छ । जसमा सोह्रौ वर्षमा ब्राह्मणको, बाइसौ वर्षमा क्षत्रीयको चौबिसौ वर्षमा वैश्यको लागि गौणकाल बताइएको छ । त्यसपछि प्रायश्चित गरेर गणहोम विधिले यज्ञोपवित हुन्छ । पूर्वषाढा, श्रवण, धनिष्ठा, शतभिषा, अश्विनी, मृगशिरा, हस्त, चित्रा, स्वाती, रेवती, ज्येष्ठा, पुष्य, पूर्वाफाल्गुनी, उत्तरायण, शुक्लपक्ष, वृष, मीन, कन्या, धनु, सिंह लग्न शुक्र, सूर्य, बृहस्पतिबार, पञ्चमी, दशमी, एकादशी, द्वादशी र तृतीया यी तिथिहरुमा उपनयन गर्नु श्रेयस्कर छ । यस सम्बन्धमा बृह्ज्योतिषसारमा के उल्लेख छ भने,
वर्णाधिपे च शाखेशे बलोपेते क्रिया हिता
सर्वेषां च गरौ सूर्ये चन्द्रे च बलसंयुते ।
वर्णाधिप (वर्णस्वामी) र शाखापति बृहस्पति, सूर्य र चन्द्रमा जब उपनयन लिनेवाला बालकको जन्मराशीबाट अनुकूल हऊन त्यस समयमा यज्ञोपवित ग्रहण हितकारक हुन्छ ।
हामीले जीवनमा गर्ने धेरै कार्यहरु छन् । ति सबै मुहूर्तका बारेमा यहाँ उल्लेख गरेर साध्य छैन । वृक्षारोपण गर्दा, पशुचौपायाको खरिद विक्री गर्दा, हलसार गर्दा, अन्नबाली छर्दा, अन्नबाली काट्दा, लत्ता कपडा सिलाउँदा, लगाउदा, नयाँ अन्न (नवान्न) खाँदा, उखु पेल्दा, तेल पेल्दा, सवारी साधनको खरिद गर्दा, घर बनाउँदा, गहना बनाउँदा, नयाँ पसलको सुरुवात गर्दा, यात्रा गर्दा अनेक कार्यहरु गर्दा मुहूर्तको बारेमा जानकारी राखेर शुभ समयमा काम गरियो भने अवश्य पनि त्यसले शुभफल प्रदान गर्दछ । सन्दर्भसामग्रीः बृहद्ज्योतिषसार, अप्रकाशित गुरुलेख र गुरुमुखबाट ।






