नारायण भागीरथी सेवा सम्मान दीपमाला आधारभूत विद्यालयलाई प्रदान
सुर्खेत ।
नारायण भागीरथी सेवा समाज, सुर्खेतले सुर्खेतको वीरेन्द्रनगर १ स्थित दीपमाला आधारभूत विद्यालयलाई आज विद्यालयमा एक समारोह आयोजना गरी वि.सं. २०७८ को नारायण भागीरथी सेवा सम्मान प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी प्रजापति थानीले विद्यालयका अध्यक्ष जुना नेपालीलाई समाजद्वारा प्रदान गरिएको नगद रु.१५ हजार र सम्मान पत्र तथा विद्यालयको सहयोगार्थ उमेश गिरीद्वारा प्रदान गरिएको रु. १० हजारका साथै केसरी गिरीद्वारा प्रदान गरिएको रु.४ हजार १ सय प्रधानाध्यापक मञ्जु सुनारलाई सोही समारोहमा हस्तान्तरण गरिएको छ ।
उहाँले परम्परागत सरादको विकल्पमा मातापिताप्रति सम्मान अर्पण गर्न समाजले अँगालेको नयाँ तरिका विशिष्ट र उदाहरणीय रहेको बताउनु भयो ।
समारोहमा समाजका संरक्षक प्रा.डा.जीवेन्द्र देव गिरी, वीरेन्द्रनगर नगरका पूर्व प्रमुख बालाराम शर्मा, उत्तरगङ्गा गाउँ विकास समितिका पूर्व अध्यक्ष डिलाराम गिरी र विद्यालयका प्रधानाध्यापक मञ्जु सुनारले सांस्कृतिक रूपान्तरण तथा जनचेतना अभिवृद्धिका निम्ति समाजले खेलेको भूमिका उदाहरणीय र अनुकरणीय भएको बताउनु भयो ।

समारोहमा वरिष्ठ कलाकार द्वय भीमबहादुर कार्की र प्रेमदेव गिरीले मातापिताप्रति सम्मान व्यक्त गर्ने सुमधुर गीति प्रस्तुति तथा लक्ष्मणदेव गिरीले नारायण भागीरथीको योगदान झल्काउने कविता वाचन गर्नुभएको थियो । समाजसेवी नारायण गिरी र उहाँकी जीवनसँगिनी भागीरथी गिरीका नाममा स्थापित उक्त समाजले वि.सं.२०६७ देखि सुर्खेत उपत्यकाका विभिन्न विद्यालय, पुस्तकालय, वृद्धाश्रम, सङ्गोष्ठी आयोजक, बालविकास संस्था आदिलाई प्रतिवर्ष सो सम्मान प्रदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष गोपाल देव गिरीको अध्यक्षता र हुपेन्द्रदेव गिरीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शब्द स्वागत अमरबहादुर कार्कीले गर्नुभएको थियो ।






