Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

भातृत्व नखल्बल्याऔं

पृथ्वीमा भएका अनेक प्राणीहरु अनेक प्रकारका युद्धहरु गर्ने गर्दछन् । त्यत्ति मात्र होइन कहिले काँही निर्जिव वस्तुहरुले पनि युद्ध गर्ने गर्दछन् । युद्ध आफैमा भयानक र नाशवान हुने गर्दछ । युद्धले कुनैपनि पक्षलाई राम्रो गर्दैन । हार्नेलाई भन्दा जित्नेलाई क्षणिक आनन्द दिएपनि युद्धले कहिल्यै आनन्द दिँदैन । चाहे त्यो राजनीतिक युद्ध होस् चाहे वैचारिक युद्ध होस् अथवा गृहयुद्ध होस् या धार्मिक युद्ध होस् । विभिन्न खालका सुनामीहरु आउनु, भूकम्प आउनु, ज्वालामुखीको विस्फोट हुनु, आँधि र तुफानहरु आउनु नै प्रकृतिले गर्ने युद्धहरु हुन् । विभिन्न ग्रहहरु एक आपसमा ठोक्किनु, एउटाको शक्तिलाई अर्काले क्षय गरिदिनु सौर्यमण्डलमा हुने युद्धहरु हुन् । त्यसले पनि विनाश नै निम्त्याउने गर्दछ । त्यसैले सकेसम्म युद्धमा होमिनु हुँदैन । तर जसरी एउटा भकुण्डोलाई जोडले भूमिमा बजारिन्छ त्यसले आफ्नो प्रतिक्रिया जनाउने नै भयो त्यो त्यत्ति नै जोडले माथि उफ्रिन्छ । जुन स्थानमा क्रिया हुन्छ त्यो स्थानमा प्रतिक्रिया हुनु विज्ञानको नियम नै हो ।

खगेन्द्र अधिकारी ‘अमृत’

हाम्रो देशले पनि विभिन्न समयमा विभिन्न युद्धहरुको सामना गरेको छ । आँधि र तुफानको युद्धबाट टाढा रहेपनि ज्वालामुखीको विस्फोट नभएपनि विभिन्न समयमा आउने बाढीपहिरो, भूकम्प, हिमपात, डुवानहरु पनि युद्धकै रुपमा सामना गरिरहनु परेको छ । त्यत्ति मात्र होइन राजनीतिक रुपमा हुने युद्धहरु झन भयानक बनेका छन् । राणा शासनको स्थापनाका लागि जंगबहादुर राणाले चलाएको कोतपर्वको युद्ध पनि निकै कहाली लाग्दो थियो भने त्यही राणा शासनलाई सिध्याउनका लागि गरिएको प्रजातन्त्रको स्थानपनाका लागि गरिएको युद्ध पनि कम्ती कहाली लाग्दो थिएन । २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुत्रपात गर्दाका बखत गाउँ गाउँसम्मका सर्वसाधारणले खेप्नु परेको सास्तीमय युद्धले पनि कतिको ज्यान लिएको थियो कति टुहुरा बनेका थिए ।

नेपालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि भएको २०४६ सालको आन्दोलन कहाली लाग्दो अवस्थामा पुग्नबाट जोगाउने कार्य तत्कालिन राजा वीरेन्द्रबाटै भएको थियो । जनताले चाहे अनुसारको शासन व्यवस्थामा राज गर्नु भन्ने उनको उदार नीतिका कारण २०४६ सालको युद्धले त्यत्ति धेरै घाउहरु लगाउन पाएन ।

मान्छेका असिमित चाहना र इच्छाशक्तिका कारण नै २०५२ सालमा माओवादी जनयुद्धको सुरुवात भएको हो । जनयुद्धको नाम दिइएको भएपनि त्यो सशस्त्र युद्ध थियो । जसले जनताका पक्षम हतियार उठाएको भन्दै जनताकै छोराछोरीलाई युद्धको निशाना बनायो । त्यसैले राज्यपक्ष र विद्रोही पक्षबाट गरेर १७ हजार बढिले ज्यान गुमाए । हजारौ अझैपनि वेपत्ता छन् भने घाइतेहरुको लेखाजोखा नै छैन ।

कुनैपनि युद्ध हुनुमा कारण हुन्छ नै । कोतपर्वको युद्धले राणा शासनको उदय भयो । २००७ सालमा प्रजातन्त्र ल्याउनका लागि युद्ध भएको थियो भने २०१७ सालमा पञ्चायत । २०४६ सालमा बहुदलीय प्रजातन्त्रका लागि युद्ध भएको थियो २०६२/२०६३ मा गणतन्त्रका लागि युद्ध भएको थियो । कतिपय युद्धहरु स्वस्फूर्त रुपमा हुने गर्दछन् भने कतिपय युद्धहरु जबरजस्ती लादिएका हुन्छन् । माओवादीको नेतृत्वमा भएको युद्ध जबरजस्ती लादिएको युद्ध थियो भने २०६२/२०६३ को युद्ध स्वस्फूर्त रुपमा भएको थियो । स्वस्फूर्त रुपम युद्धको एउटा बलियो उदारहण कर्णाली प्रदेशको आन्दोलनको युद्ध पनि हो ।

युद्ध गर्नेहरुलाई योद्धा भनिन्छ । युद्धमा होमिने योद्धाहरुलाई युद्धको लक्ष्य र गन्तव्यका बारेमा सत्य बताइएको हुनुपर्दछ । तर माओवादीले गरेको युद्धको लक्ष्य र गन्तव्य यौद्धाहरुलाई सत्य लुकाएर गरिएको थियो भन्ने कुरा पछिल्लो समय प्रमाणित हुँदै गइरहेको छ । बाहिर भनिए झैँ व्यवहारमा लागु गर्न नसक्नु नेतृत्वकर्ता चुक्नु हो । माओवादी युद्धको नेतृत्वकर्ता प्रचण्ड चुकिसकेका छन् । लडाईमा पेर रगत पिएको सिपाहीको हुँकार जति नै ठूलो भएपनि उसले आफ्नो बलिदानीका बारेमा सोचिसकेको हुनाले केही समयका लागि मात्र त्यो हुँकार रहनसक्छ । तर दीर्घकालिन रुपमा सिपाही ढल्नै पर्छ । उसको ढलाईसँगै त्यो हुँकारको पनि अन्त्य हुन्छ । प्रचण्डको हुँकार त्यही सिपाहीको हुँकार मात्र हो ।

यौद्धाहरुलाई समानताका नारा, समृद्धिका नारा, समाजवादका नारा र साम्यवादका नाराहरु सुनाइएको थियो । जातीयताको अन्त्य, लैङ्गिक विभेदको अन्त्य, क्षेत्रीयताको अन्त्य, गरिबीको अन्त्य, बेरोजगारीको अन्त्य, धनि र गरिबहरुको बीचको खाडलको अन्त्य यस्तै यस्तै नाराहरुका साथमा बन्दुक बोकाएपछि न त्यो युद्धले भयानक रुप लिएको थियो । गणतन्त्रको स्थापना भइसकेपछि शाही शासनलाई पाखा लगाईसकेपछि आफूले तय गरेका नाराहरुलाई सार्थक बनाउने दिशा तर्फ अघि बढ्नु पर्नेमा सत्ता र स्वार्थको राजनीतिमा जब माओवादीहरु फसे तब त्यो युद्धको औचित्य पनि समाप्त भयो ।

संविधान सभाको निर्वाचनमा आइपुग्दासम्म साझा एजेण्डाहरु बोकेका कारण एक ठाउँमा रहेका माओवादीहरु संविधान सभाको निर्वाचनपछि जब सत्तामा पुगे तब उनीहरुले देश र जनताका अगाडि गरेका प्रतिवद्धताहरु बिर्से । त्यसको फलस्वरुप माओवादीको सशस्त्र युद्धमा यौद्धाका रुपमा मुक्ति या मृत्युका लागि होमिएकाहरु नै छिन्नभिन्न हुन पुगे । त्यो सब के का लागि ? पद, पैसा र प्रतिष्ठाका लागि मात्र । तर लक्ष्य कहाँ पुग्यो ? उद्देश्य कहाँ पुग्यो ? शहिद परिवारहरुको अवस्था के छ ? घाइतेहरुको अवस्था के छ ? वेपत्ता पारिएकाहरुका पारिवारिक अवस्था के छ ? त्यसको गहिरो विश्लेषण कहिल्यै कसैबाट भएन । एक लाख राहतको नाममा दिएर बाँकी ९ लाख दिने प्रलोभन देखाएर आफूहरु भाले हुने प्रचण्डको गोप्य भिडियोले स्पष्ट पारेकै छ ।

जातीय विभेदको अन्त्य गर्छौ भन्नेहरुले जातीयतालाई अझ बढावा दिए । जात भनेका केवल महिला र पुरुष मात्र छन् भन्नेहरुले मगरात, थारुवान, लिम्बुवान, खम्बुवानका कुरा उठाएर समाजमा अराजकता फैलाए । धनि र गरिबका बीचको खाडलको अन्त्य गर्छौ भन्नेहरुले धनि झन धनि हुने र गरिबहरु झनै गरिब हुँदै जाने अर्थप्रणालीको विकास गरे । बेरोजगारीको अन्त्य गर्छौ भन्नेहरुले अहिलेसम्म एउटा कारखानाको स्थापना गर्न सकेका छैनन् भने भएका उद्योगहरुलाई पनि पुरानाको विनाश र नयाँको विकास भन्ने नारा लगाएर तहसनहस पारिदिए । अनि कसरी हुन्छ बेरोजगारीको अन्त्य ? युद्धको समयमा बुर्जुवा शिक्षा बढ्न हुँदैन भनेर कक्षा कोठामा पढिरहेका विद्यार्थीलाई बन्दुक थमाए । पढाइरहेका शिक्षकलाई विद्यालयकै थाममा बाँधेर निर्ममतापूर्वक हत्या गरे । नीजि क्षेत्रबाट संचालित विद्यालयका संचालकहरुलाई जिउँदै आगो लगाए तर अहिले तिनै कमरेडहरुका छोराछोरी कहाँ कहाँ पढिरहेका छन् त्यो हिजोको युद्धमा योद्धाका रुपमा मुक्ति या मुत्यूका लागि शीर कफन बाँडेर हिडेकाहरुले खोज्ने कि नखोज्ने ?

माओवादीको नेतृत्वमा भएको युद्ध के कसैका छोरी बुहारीलाई जनप्रतिनिधि बनाउनका लागि थियो ? के कसैका श्रीमतीलाई मन्त्री बनाउनका लागि थियो ? के नेताका छोराछोरीलाई विदेशी विद्यालयमा राजकीय ठाँटका साथ पठनपाठन गराउनका लागि थियो ? के डेढ लाखको बेडमा सुत्नका लागि थियो ? के श्रीमान् श्रीमती नै नेता बनेर जनताले तिरेको करबाट सुखसयलको जीवन विताउनका लागि थियो ? यी प्रश्नहरुको जवाफ घाइतेहरुले खोजिरहेका छन् । युद्धमा छोरा गुमाएकी आमाहरुले खोजिरहेका छन् । आमाको काखमा हुँदै गर्दा टुहुरो बनेको नावालकले खोजिरहेका छन् । शरिरमा गोलीका छर्राहरु बोकेर हिडिरहेका क. गम्भीर, क. आकाश, क. प्रकृति, क. रोशन जस्ता योद्धाहरुले खोजिरहेका छन् ।

हिजोको अफगानिस्थान र आजको अफगानिस्थानमा आकाश पातालको फरक छ । त्यहाँ गृहयुद्धको विष हालेर सोझा सिधा अफागानीहरुलाई ध्वस्त पार्ने जुन चाल अमेरिकी साम्राज्यवादले चलेको थियो त्यसलाई बुझ्न नसक्नुको परिणाम अहिले भोग्नु परिरहेको छ । हो, आफ्नो पक्षमा जनलहर ल्याउनका लागि आफू र आफ्नो परिवार अनि आसेपासे र झोलेहरुको स्वार्थ पूरा गर्नका लागि धर्म निरपेक्षताको विष फालेर माओवादीले जुन चाल चलेको थियो त्यसलाई अरुहरुले बुझ्न सकेनन् । स्वार्थ र सत्ताका लागि काँग्रेस र एमालेले समेत उसैलाई साथ दिएपछि जनताको समर्थन विनै दलीय ह्विपका कारण देशलाई धर्म निरपेक्ष घोषणा गरेर जुन जनहित विरोधी कार्य गरिएको छ त्यसले नेपालमा फेरी अर्को युद्धको सुनिश्चितता गरिदिएको छ ।

सस्तो लोकप्रियताका लागि होलीवाइन पिउनेहरुले देशमा धर्मयुद्धलाई लल्कारिरहेका छन् । छोरी बुहारीलाई जनप्रतिनिधि बनाउनका लागि गाई काट्नुपर्छ भन्नेहरुले आफ्नै भाइको गर्दनमा खुकुरी राखेर धर्मयुद्धलाई लल्कारिरहेका छन् । वाचनशिरोमणी नारायणप्रसाद पोख्रेल जस्ता विद्वानको हत्या गर्नेहरुले हिन्दु धर्म माथी धावा बोलिरहेका छन् । मुक्तिनाथ अधिकारी जस्ता शिक्षकहरुलाई निर्ममतापूवर्क हत्या गरेर संस्कृतका पुस्तकहरु जलाउनेहरुले धर्मयुद्धलाई लल्कारिरहेका छन् । राजनीतिक युद्ध सत्ता प्राप्तिका लागि हुन्छ । विश्वमा धर्मयुद्ध निकै भयानक हुन्छ । जातीय युद्ध निकै डरलाग्दो हुन्छ । आमा, बहिनी, छोरी र बुहारीको इज्जत रक्षाका लागि मर्न र मार्न कुनै नेताको आदेश कुर्नु पर्दैन । आस्थाको हरोहरको रुपमा रहेको धर्म माथि बोलिएको धावालाई ध्वस्त पार्नका लागि कुनै गुरुको आदेश कुर्नु पर्दैन । किनकी कसैलाई धर्म विहिन बनाउन खोजियो भने त्यसलाई पशुसमान बनाउन खोजिदैछ भन्ने स्पष्ट हुन्छ ।

त्यसैले भोटका लागि, सत्ताका लागि, स्वार्थका लागि, देशमा धर्म माथि जुन हस्तक्षेप भएको छ त्यो निन्दनीय मात्र होइन अक्षम्य अपराध पनि भएको छ । हो, नेपाल बहुभाषिक, बहुसंस्कृतिक, बहुधार्मिक देश हो । के धर्मनिरपेक्ष हुनुपूर्व यो देशमा बुद्धिष्टहरु थिएनन् ? यो देशमा मुस्लिमहरु थिएनन् ? यो देशमा क्रिश्चियनहरु थिएनन् ? यो देशमा जैनहरु थिएनन् ? थिए । उनीहरुका बीचमा भातृत्व थियो । सद्भाव थियो । एकले अर्कालाई सम्मानका दृष्टिले हेर्ने नजर थियो । त्यो सम्मानको दृष्टिमा अपमानको विष फ्याँकिदिने काम धर्म निरपेक्ष नामक शब्दले होइन राजनीतिक स्वार्थ लिने बेबकुफ नेताहरुले गरे । जसले गर्दा नेपालको गरिबीलाई हतियार बनाएर धर्म परिवर्तनका खेलहरु खेलिएका छन् । यो उनीहरुको गरिबी माथि गरिएको खेलबाड हो । आर्थिक प्रलोभनमा पारेर, सामाजिक विभेदमा पारेर झुटा आश्वासन र कुप्रचारहरु गरेर, वर्तमान संविधानको मर्म विपरित धर्म माथि हुने गरेका श्रृङ्खलाहरु नरोक्ने हो भने देशले धर्मयुद्धको सामना गर्ने दिन धेरै टाढा छैन ।

एउटा धर्मालम्बीले अर्को धर्मालम्बीलाई सम्मान गर्ने हामी नेपालीहरुका विचमा राजनीतिक स्वार्थलाई परिपूर्ति गर्नका लागि धर्मको हतियार बनाएर जुन खेल खेलिदैछ त्यो खेलमा भोली आफ्नै टाउको काटिन सक्छ भन्ने हेक्का यतिबेला कसैलाई छैन । जातीय विभेदको अन्त्य गर्छौ भन्नेहरुले के हेरेर बसेका छन् । दलित भएकै कारण दिनदहाडै मारिनु परेको छ । बेरोजगारीको अन्त्य गर्छौ भन्नेले के गरिरहेका छन् बेरोजगारीका कारण खान लगाउन नपाउने अवस्था भएकै कारण आफ्ना बालबालिकासमेतलाई लिएर एउटी आमा नदीमा हाम फाल्न विवश छन् । महिला मुक्तिको नारा लगाउनेहरुले के हेरिरहेका छन् दाइजोको कारण एउटा महिला जिउँदै जलिरहेकी छन् । लैङ्गिक विभेदको अन्त्यका लागि ज्यान दिन पछि पर्दैनौ भन्नेहरुले कुन होटलमा सुरा र सुन्दरीहरुसँग लिप्त भएका छन् यहाँ महिला दिदी बहिनीहरु दिन दहाडै बलात्कारको शिकार भएका छन् । यी कर्णालीकै उदाहरण हुन् । यस्ता हजारौ घटनाहरु छन् जुन बाहिर आउन सकेका छैनन् होला । अन्तमा, राजनीतिक स्वार्थक लागि सर्वसाधारणका बीचमा विष हालेर आफ्नो फाइदा उठाउन खोज्नेहरुका विरुद्धमा यदि जनताकै नेतृत्वमा जनताले अर्को युद्धको शंखघोष गरे भने भविष्यमा नेताहरुले पछुताउनु बाहेक केही रहने छैन । त्यसैले भातृत्वमा, सामाजिकत्वमा, धार्मिकतामा खलल पु¥याउने कुचेष्टा नगरेकै राम्रो ।