Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

कर्णाली सरकाले अझै पाएन पूर्णता

सुर्खेत ।
गत कार्तिक १६ गते मुख्यमन्त्री पदको सपथ लिएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अझै पनि कर्णाली प्रदेश सरकारलाई पूर्णता दिन सकेका छैनन् । नेपाली काँग्रेस, नेकपा (एकिकृत समाजवादी) र नेकपा औवादी (केन्द्र) को गठबन्धनको सरकार बनेपछि मुख्यमन्त्री नियुक्त भएको एक महिनामा एकिकृत समाजवादीका नेता चन्द्रबहादुर शाहीलाई भौतिक योजना मन्त्री र अर्को एक महिनामा माओवादी केन्द्रका नेता विन्दमान विष्टलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका मुख्यमन्त्रीले कर्णाली प्रदेश सकरारलाई कहिले पूर्णता दिने हुन् टुङ्गो छैन ।

तर यता नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठकले अबको एक हप्तामा सरकारलाई पूर्णता दिने गरी छलफल चलाउने भएको छ । दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको दलको बैठकले यस्तो निर्णय गरेको दलका प्रमुख सचेतक ठम्वर विष्टले जानकारी दिएका छन् ।

सत्ता साझेदार दलकै सहमतिमा मुख्यमन्त्री जीवन बहादुर शाहीले सत्ता समालेको करिब ३ महिना पुग्न लाग्दा समेत सरकारले पूर्णता नपाउनुमा सत्ता साझेदार दल भित्रै असमझदारी बढ्दै गएको हो की ? भन्ने आशंका गरिरहेका बेला माओवादी केन्द्र संसदीय दलको बैठकले सबैभन्दा ठुलो दलको हैसियतले सरकारलाई पूर्णता दिने विषयमा छलफल अगाडी बढाउने भएको हो ।

दलले सत्ता भागबण्डामा भने आफ्नो पुरानै अडानलाई कायम राखेको छ । सबैभन्दा ठुलो दलका हैसियतमा माओवादी केन्द्र सरकारमा सहभागी भएकाले प्रमुख सचेतक विष्टले अरु दल पनि यसैमा सहमतिमा आउनेमा आफ्नो दल विश्वस्त भएको बताए । ‘पछिल्लो समय सरकारले पूर्णता नपाउदा सत्ता गठबन्धन भित्रै केहि असमझदारी जस्तो देखिएको छ वास्ताविक त्यस्तो होइन, ‘प्रमुख सचेतक विष्टले भने,’ ‘राष्ट्रिय सभाको चुनाव पनि नजिकिएको छ योजना कार्यन्वयनका विषय पनि धेरै छन् त्यसैले गठबन्धन नै ती योजनामा कसरी लाग्ने भन्नेमा हाम्रो दल जिम्मेवार छ,।’ प्रमुख सचेतक विष्टका अनुसार नै दलको तर्फबाट विश्वासको वातावरण सिर्जना गर्न आफुहरु छलफलमा जुटेको समेत बताए ।

सत्ता साझेदारको अर्को दल नेकपा (एकिकृत समाजवादी) पनि आफूहरुले तीन मन्त्रालय नछोड्ने अडानमा छ । एमालेमा हुँदा फ्लोर नै क्रस गरेर भएपनि तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएको र त्यस समयमा नेपाली काँग्रेस तथा माओवादी समेतको सहभागीतामा भएको सहमतिलाई कार्यान्वयन गर्नु पर्ने समाजवादीका नेताहरुको अडान छ ।

सरकारले पूर्णता पाउन नसकेका कारण विकास निर्माणका कार्यमा समेत असर पर्न थालेको छ । प्रायः विकास निर्माणका कार्यका लागि खर्च हुनुपर्ने बजेट नै खर्च गर्न नसक्ने प्रदेश सरकारले सरकारलाई पूर्णता दिन नसकेका कारण चालु आर्थिक वर्षमा विकास बजेट अझैँ कम खर्च हुने आशंका उब्जिएको छ । मन्त्रालयमा मन्त्री नभएपछि मन्त्रीस्तरीय निर्णयबाट गर्नु पर्ने कामहरु प्रभावित हुने गरेका छन् ।