लौके दमाईसँगै एउटा इतिहासको अन्त्य
सुर्खेत ।
कुनै समयमा हुड्के नाचका लागि प्रसिद्धि कमाएका कालिकोटका लौके दमाई (हुड्के) को निधन भएपछि हुड्के नाचका क्षेत्रमा एउटा इतिहासको अन्त्य भएको महसुस गरिएको छ । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ३ मा २०१६ साल जेठ १० गते जन्मिएका उनी हुड्के गायन र नृत्यमा पोख्त थिए । पल्लो गाउँ गएर घर फर्किने क्रममा भीरबाट लडेर उनको निधन भएको परिवारका सदस्यले बताएका छन् ।

कर्णाली आफैमा कला संस्कृतिका दृष्टिले धनि क्षेत्रका रुपमा चिनिन्छ । तर पछिल्लो पुस्ताले यस्ता संस्कृति र पहिचानको वेवास्ता गर्ने गरेको र सरकारले समेत यसको संरक्षणमा वास्ता नगरेका कारण पनि संस्कृतिहरु हराउन थालेकोमा चिन्ता गर्छन् कालिकोट तिलागुफा निवासी जनक बहादुर शाहीले बताए ।
उनले भने, ‘अब हुड्केका क्षेत्रमा ख्याती कमाएका मान्छे मरि हाले । पछिल्लो पुस्ताले उनीसँग केही सिक्ने चासो नै गरेन । पहिला हाम्रा बाबाका पालामा जत्ति हामी जान्दैनौ हाम्रा पालामा जति हाम्रा छोराहरु जान्ने छैनन् । संस्कृति जोगाउँछौ भनेर नारा लगाएर मात्र हुँदैन । व्यवहारमा उतार्न आवश्यक छ ।’
नेपालको पश्चिमी क्षेत्रमा लोकप्रिय रहेको हुड्के नाचको क्षेत्रमा लौकेले तत्कालिन राजा वीरेन्द्रबाट समेत सम्मान प्राप्त गरेका थिए । उनका छोरा १ छोरा ३ छोरी र श्रीमती छन् ।
कला, सीप र संगीतका धनि लौके दमाईलाई हाम्रो पनि हार्दिक श्रद्धा–सुमन ।






