किशोरीहरुलाई आत्मरक्षा तालिम सञ्चालन
सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ५, बाबियाचौरमा २५ जना किशोरीहरुलाई ५ दिने मनोसामजिक परामर्श तथा किशोरी आत्म रक्षा तालिम कार्यक्रमको आज उद्घाटन गरिएको छ ।

तालिम कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र बहादुर थापाले नगर प्रमुख उपेन्द्र बहादुर थापाले पञ्चपुरी नगरपालिकामा महिला, बालबालिकाहरु माथि हुने हिंसाहरु बढिरहेको परिस्थितिमा किशोरीहरुको कमजोर मानसिकतालाई परिवर्तन गर्न, किशोरीहरुको डर हटाई आत्मविश्वासी बन्न, कठिन परिस्थितिमा पनि नडराई कार्य गर्न केन्द्रित गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न यो तालिमले किशोरीहरुलाई सक्षम बनाउने विश्वास रहेको बताउनु भयो ।
महिला, बालबालिका शाखा प्रमुख पवित्रा गौतमले नगरमा किशोरीहरुको क्षमता विकास गराउने तालिमहरु आयोजना गरेरमा आवाज संस्थाले समाजका लागि एक उदाहरणीय कार्य गरेको बताउनु भयो ।

यस्ता कार्यक्रमहरु आगामी दिनमा समेत आवश्यक रहेको बताउँदै गौतमले भन्नुभयो, ‘नगरपालिकाको महिला तथा बालबालिका शाखाबाट के सहयोग गर्नुपर्छ त्यसका लागि हामी तत्पर छौ ।’ युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख तुल्सि के.सी.ले समुदायमा बालबालिकाहरु माथि हुने विभिन्न हिंसाहरु बढिरहेको अवस्थामा तालिममा सिकेका कुराहरु किशोरीहरुले समूहमा र विद्यालयमा शुक्रबार पढाई पछिको कक्षामा छलफल गरेर सबैलाई जानकारी गराउँदा अझैँ सार्थकता पाउने बताउनु भयो । पाँच दिनसम्म चल्ने तालिम कार्यक्रमको सहजिकरण सुर्खेत जिल्लाको आशा सञ्जालको पूर्वअध्यक्ष सजना सुनार, राष्ट्रिय किशोरी सञ्जालको सदस्य प्रतिमा के.सी.ले गर्नु हुनेछ ।

आवाज संस्थाको आयोजना र टिजिएच जर्मनीको सहयोगमा सञ्चालित यस तालिमले किशोरीहरुलाई अधिकारको संरक्षण गर्दै यौन शोषण, दुव्र्यवहार, हिंसा र आक्रमण भएको अवस्थामा पनि कसरी आफूलाई सुरक्षित गरी आत्मरक्षा गर्ने भन्ने सीप किशोरीहरुलाई सिकाएर थप सशक्त, सक्षम र आत्मविश्वासमा वृद्धि गराउन यो तालिमको आयोजना गरिएको आवाज संस्थाका कार्यक्रम संयोजक सुशीलकुमार कार्कीले क्वीकखबरलाई जानकारी दिनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा विशेष अतिथिमा नगरपालिकाको महिला, बालबालिका शाखा प्रमुख पवित्रा गौतम र नगरपालिकाको युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख तुल्सि के.सी. रहनु भएको थियो ।






