Loading... आजः २० माघ २०८२, सोमबार । Monday 2nd February 2026
ताजा खबर
  

यसरी भेटियो धर्तीकी अप्सरा ‘रारा’ लाई

रारा भन्ने वित्तिकै सबैको मनमा एउटा प्रश्न उब्जिने गर्दछ । कसरी पुग्ने होला ? जीवनमा पुग्नै पर्ने स्थानको रुपमा रारा सपनाको संसार बन्ने गर्दछ भने अर्कोतिर रारा पुग्न खेप्नु पर्ने चुनौतिको चाङ कसरी छिचोल्ने भन्ने अप्ठ्यारोले हैरानी पार्ने गर्दछ । धेरै पटक रारा जाने अवसर जुरेपनि यिनै दुई प्रमुख समस्याका कारण म रारा जान सकेको थिइन । रारा घुम्नु मेरा लागि पनि निकै आतुरताको विषय थियो भने रारा घुम्न पाएदेखि सारा घुमेको अनुभव त्यहीबाट बटुल्ने चाहाना पनि थियो । अझ तत्कालिन राजा महेन्द्रले स्वर्गकी परी नै धर्तीमा झरेर रारा बनेकी हुन् भन्ने कुराको इतिहास पढेपछि मैले धेरै पहिले राराको यात्रा तय गर्नुपर्ने थियो । तर जुर्न सकेको थिएन समय ।


समय निकै बलवान छ । समयलाई जित्न सक्ने पनि कोही छैन भने रोक्न सक्ने पनि कोही छैन । त्यसैले समय आयो । मैले पनि राराको यात्रा तय गरे ।

भोली रारा जानुछ । आज साँझ नै मलाई त्यत्ति राम्ररी खान रुचेन । रुचोस् पनि कसरी पहिलो पटक मनले चाहेको ठाउँमा जान पाउने समय आाखै अगाडि उभिएको छ । पेटले मागे जत्ति होइन आफूले चाहेजत्ति भएपनि खाएर सुते । विहानको दैनिकी अरुहरुका भन्दा फरक हुन्छ । हुन त सबैको दैनिकी फरक नै हुने गर्दछन् । तरपनि म प्रायः जसो एउटै खालको काम गर्ने भएकाले होला जहिले पनि विहानको नित्यकर्म एउटै हुने गर्दछ । ५ बजेको हाराहारीमा उठ्ने मान्छे आज ४ बजे नै मबाट निद्रादेवीले विदा मागिन् । किनकी आज रारा जानुछ ।

उठ्ने वित्तिकै आवश्यक सामग्रीहरुको झोला तयार । अनि सेभिङ्ग । त्यसपछि नित्यकर्म त्यो पनि अरु दिनमा १ घण्टा पूरै समय लाग्ने आज १५ मिनेट जति मात्र । ७ बजे हिड्ने योजना थियो । साढे ६ नबज्दै बाटो तताएँ मैले । त्यसपछिको मेरो पर्खाइ धमलाचोकमा भयो । साथीहरु ८ बज्दा पनि आइ पुगेनन् । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १२ को शैक्षिक अध्ययन भ्रमण टोलीले नै मलाई रारा जाने अवसर दिएको थियो । जसले गर्दा मैले जीवनको एउटा सपना पूरा गर्न आँटेको थिएँ । तर साथीहरुले समयलाई चिन्न नसकेका कारण मनमनै रिस उठिरहेको थियो भने छोडेरै गए कि भन्ने डर पनि पलाएको थियो । धन्न साथीहरु आए घररर्र गाडिमा । मेरो मन एक तमासले खुसी भयो ।


थोरै परिचित र धेरै अपरिचित अनुहारको बीचमा गाडि चढियो सामुहिक अभिवादन गर्दै । बल्ल मन शान्त भएको छ । खुसीका धर्साहरु निकै सल्बलाई रहेका छन् मनभित्र । सायद अनुहारले पनि त्यसैगरी खुसी पोखिरहेको थियो होला । हुन त आफ्नो अनुहार आफै हेर्न कहाँ सकिन्छ र ?

सानो गाडि भएपनि बसाई त्यत्ति सजिलो थिएन । सिट पनि कति सानो बनाएको । अनि सबैभन्दा पछाडिको सिट मेरो भागमा परेकाले अलि अलि मन कँुडिएको थियो । तरपनि केही पाउन केही गुमाउनुपर्छ भन्ने उखानलाई चरितार्थ पार्दै मनलाई शान्त बनाउनुको विकल्प थिएन । रारा घुम्ने योजना पुरा हुने भएपनि अगाडिको सिटमा ठोक्किदा मेरा घुँडाले खेप्नु परेको पीरको बारेमा खासै बयान गर्न सक्दिन र गर्नुपनि हुँदैन । कपासेदेखि उकालो लागियो । धेरै पटक हिडेको बाटो । खासै नयाँ अनुभूति हुने कुरै भएन । तर पनि साथीहरुको ओऽऽऽहो ओऽऽऽहो आवाजले गाडि भित्रको रौनकतामा फरक ल्याएको थियो । एक मनले भन्छ त्यसरी ओऽऽऽहो होइ गर्नेहरुलाई चुप लाग्न आदेश दिउँ अर्को मनले भन्छ ठीकै छ रमाइलो भइरहेको छ ।


गाडिमा भएका ५÷६ जना भने मेरा पूर्वपरिचित मान्छेहरु नै थिए । १२ नं. वडा कार्यालयका सचिव उत्तम अधिकारी, वीरेन्द्रनगर नगरपालिका शिक्षा महाशाखा प्रमुख धिरेन्द्रप्रसाद शर्मा, जनजागृत आ.वि. पदमपुरका प्रधानाध्यापक ज्ञानु गैरे, वीरेन्द्रनगर नगरपालिकाका गोविन्द दाहाल । जब गाडि कटकुवाको फन्को मार्दै अगाडि बढ्यो तब हाम्रो टोलीका सबैभन्दा रमाइलो मान्छे जनजागृत आ.वि. पदमपुरका प्रधानाध्यापक ज्ञानु गैरे जुरुक्क उठेपछि मैले औपचारिक अभिवादन गरे । मेरो औपचारिक अभिवादनसँगै ज्ञानु गैरे मेडमको नृत्य सुरु भयो । अनि बल्ल लाग्यो अब त मैले पनि ओऽऽऽहो है गर्नुपर्छ । मनमा सोचेको कुरा कतिबेला मुखबाट फुत्किएछ पत्तै भएन ।

गाडि आफ्नै रफ्तारमा गुडिरहेको थियो । हामी आफ्नै धुनमा थियौ । गुराँसे, तालपोखरी, तल्लो डुङ्गेश्वर, पादुकाखोला हुँदै पाल्तडा पुगेर विहानको खान दिउँसो साढे १२ बजे खाइयो । पाल्तडाको उखमाउलो गर्मीलाई पनि टेरेन भोकले । भोक मीठो कि भोजन मीठो ? गर्मीको बेवास्ता गर्दै फेरी हुइकिँयौ हामी आफ्नो गन्तव्य तर्फ । टुनिबगर, साइखोला, राकम कर्णाली मेरा लागि परिचित स्थान थिए । त्यो भन्दा अगाडि भने म पुरै अपरिचित थिएँ । जसले गर्दा गाडिको यात्रामा प्रायः निदाउने म निद्रादेवीलाई नजिक पर्नैै दिइन मैले । जब देखियो कालिकोटको मान्मा तब मन एक तमासको भयो । दैलेखको सदरमुकाम, जाजरकोटको सदरमुकामसँग तुलना गर्न थाल्यो मेरो मनले । प्रकृतिले दिएको सुन्दर ठाउँमा सदरमुकाम राखिएको रहेछ । मन खुसी भयो । अचम्म त त्यत्तिबेला लाग्यो जतिबेला ताडी पुगियो ।


ताडीमा भएको मन्दिरमा दर्शन गर्दै हामी फेरी अगाडि बढ्यौ । त्यत्ति बेलासम्म गाडिमा कोही साथीहरु वाक्क वाक्क र कोही हाक्क छुक्क गर्दै थिए । उनीहरुले पाल्तडामा खाएको भात सिध्याइसकेका थिए । तर मलाई भने अहिलेसम्म त्यस्तो भएको छैन । धन्य छन् भगवान ।

कालिकोटको पञ्चदेव माध्यमिक विद्यालयमा गएर बालविकास शिक्षण क्रियाकलापहरुको बारेमा जानकारी आदान प्रदान गर्दा मन निकै रमाएको थियो । उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीका अनुसार विद्यालयमा भित्रिएको राजनीतिक प्रभावका कारण विद्यालयले सोचे जस्तो प्रगति गर्न नपाएको नमीठो कुरा सुन्दा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र सबै क्षेत्रमा राजनीति हावी गर्नका लागि ल्याइएको होइन भन्ने किन बुझ्दैनन् राजनीतिक कार्यकर्ताहरु भनेर आफैले आफूलाई प्रश्न गरे तर उत्तर कहिले भेटिने हो थाह छैन । त्यहाँ विद्यार्थीहरुका लागि गरिएका क्रियाकलापहरुले निकै मन छोयो । हाम्रो समूहमा सहभागी ज्ञानु मेडमले भनिदिनुभयो, स्वार्थ पालेर बसियो भने विद्यालय बनाउन सकिदैन । स्टाफहरु बीच सहकार्य हुन जरुरी हुन्छ । अभिभावक र विद्यालय प्रशासन बीचको समन्वय आवश्यक हुन्छ । शिक्षक त साथी बनिदिनु पर्छ ।’


हस्तवीर आ.वि. का बाल विकास शिक्षिका निर्मला सुवेदीले बाल विकास केन्द्रको पाठ्यक्रमको अधिनमा रहेर मनोरञ्जनात्मक ढंगबाट बालबालिकाहरुलाई खुसी बनाउन सक्नु पर्ने बताउँदै आफ्नो विद्यालयको अनुभवहरु सुनाइरहँदा उक्त विद्यालयका शिक्षकहरु मख्ख परेका थिए । यशोसा मेडमले थपिदिनु भयो, अभिभावकको भूमिका झनै महत्वपूर्ण हुन्छ । अमर ज्योति नमुना मावि नेवारेका शिक्षक तिलक बहादुर खड्काले झन विद्यालयको वर्णन गर्न कञ्जुस्याँई गर्ने कुरै भएन । लोभै लाग्ने तरिकाले उहाँले गरेको वर्णनबाट उक्त विद्यालयका शिक्षकहरु मख्खिएको मैले मज्जाले हेरिरहेको थिएँ ।

आफ्नो विद्यालयको अवस्थाको बारेमा पञ्चदेव माविका सहायक प्रधानाध्यापक चन्द्र कोइरालाले बताउनु भयो । सोचें, राजनीतिक दबाबका कारण विद्यालयले कस्तो पीडा खेप्नु पर्दोरहेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीका अनुसार १० वर्षे जनयुद्धबाट थिलथिलो बनेको विद्यालयले अझै पनि आनन्दको स्वास फेर्न सकेको रहेनछ भन्ने स्पष्ट भयो । अलि अलि राम्रो पढ्नेहरु शहरमुखी भएर सुर्खेत, काठमाडौं जाने अनि निम्न वर्गीय परिवारका बालबालिकाहरु पढ्ने विद्यालयले राजनीतिक हस्तक्षेप भोगिरहेको कुराले मनमा अझै शान्ति मिलेको छैन । अनि हाम्रो शिक्षा कहाँ पुग्छ भन्ने प्रश्नको उत्तर कुनै दिन भेटे भने दिउँला ।


सरस्वती प्रा.वि. चनौटेको शिक्षक डिलसरा पुलामी र यशोदा खनाल, जनता प्रा.वि. खोरियाका शिक्षक पुष्पा कुमारी बिसी र भुमा कमारी खान (शाह), हस्तवीर आ.वि. चनौटेका शिक्षक लोककुमारी ढकाल, निर्मला सुवेदी र अमरज्योति मावि नेवारे तिलक बहादुर खड्का, टीका ढकाल र जनजागृत आ.वि. का लालपुरा शाहीलगायतले विद्यालयका बारेमा लिएका जानकारीहरु साँच्चिकै शिक्षाप्रद थिए ।

कालिकोटका विभिन्न भीरपाखाहरु नियाल्दै अघि बढ्ने क्रममा मैले एकपटक आफ्नै जन्मभूमिलाई सम्झे । मेरी आमा जंगलमा घाँस काट्न गएको बेलामा घाँसकै भारी नजिकै जन्मेको मान्छे हुँ रे म । आमाले एकातिर घाँसको भारी र अर्कोतिर मलाई बोकेर घर गएको कथा जस्तै लाग्ने यथार्थ म कहिल्यै भूल्दिन । तर साँच्चिकै नेपालका डाँडाकाँडा देखेको रहेनछु मैले । तल बगिरहेको नदी र माथिका ती नाङ्गा डाँडाहरु देखेर निकै उराठ लाग्यो । सम्झिएँ ती डाँडाहरुलाई हामीले सदुपयोग गन सकेको भए अर्बौ पैसा कमाउन सकिन्थ्यो होला । तर प्रविधि र पहुँचको कमीको कारण केवल हामीलाई उराठ बनाउने भन्दा अरु काम गर्न सकेका छैनन् ती डाँडाहरुले । विभिन्न घुम्तिहरु पार गर्दै जब नाग्मा पुगियो त्यहाँ १० जनाको ज्यान जाने गरी आएको पहिरो पनि अवलोकन गर्ने अवसर मिल्यो । त्यस्तो ठाउँमा बस्ती बस्नका लागि अनुमति दिने सरकारी संयन्त्रहरु दुर्घटना पश्चात राहत बोकेर जान्छन् । मन नराम्रो सँग कुँडियो फेरी एकपटक ।

चन्दननाथ र तातोपानीका बारेमा खुबै सुनेको, पढेको मान्छे म । मलाई जुम्लाको खलंगामा रहेको चन्दननाथको मन्दिरमा दर्शन गर्नु थियो । अझ त्यहाँ राखिने लिंगोको बारेमा जान्नु थियो र नियाल्नु थियो त्यो चन्दननाथको लिंगोलाई । जुन कुरा मेरो रारा यात्राले पुरा गर्दै थियो । राती अबेर जुम्लाको मानसरोवर होटलमा पुगेर सुस्ताइयो । भोली पल्ट विहान चन्दननाथको दर्शन गरियो । जुम्ला खलंगाको बारेमा वर्णन गरिदिने स्थानीय पत्रकार राज्यलक्ष्मी हमालको सहयोग अतुलनीय रह्यो । हुन त मैले मित्र रतन शाहीलाई पनि फोन नगरेको होइन तर उहाँ काम विशेषले बाहिर भएकाले भेट हुन सकेन । मन खल्लो भयो । हमालका अनुसार पारी पट्टिको कर्णाली प्राविधिक शिक्षालय, पैकेलोले गरेको कृतिहरुका बारेमा केही जानकारी संगाल्दै हामी तातोपानीमा पुग्यौ ।


मैले सुने अनुसार तातोपानीको कथा जस्ताको त्यस्तै पाएँ । प्रकृतिले पनि के के दिएको छ हामीलाई । त्यस्तो चिसो ठाउँमा पनि बारम्बार बगिरहने ताऽतोपानी । वा ! तातोपानी । तातोपानीमा नुहायो भने वाथरोग, नशारोग जस्ता रोगहरु पनि सञ्चो हुने विश्वास भएकाले नुहाइयो तातोपानीमा । एउटा सपना पूरा भयो ।

त्यसपछि हामी लाग्यौ नाग्मा हुँदै शिजा उपत्यकातिर । नेपाली भाषाको उद्गमस्थलमा पुग्ने रहर पनि पूरा भयो । गाडिमा गुडिरहेकै बेलामा पनि नेपाली भाषाको उद्गमस्थललाई मनैदेखि नमन गरें । हिमा गाउँपालिकामा रहेको चिउडी साँगु र कुडारीको साँगुले सम्झायो स्व. राजा वीरेन्द्रको परिवारलाई । जुम्लामा रहेको ऐतिहासिक स्थल पाण्डु गुफाको वर्णन गरेर त्यसको महत्वलाई म हल्का बनाउनै चाहान्न । ती घुम्तीहरु विभिन्न मोडहरु अनि धुलाम्य सडकलाई छिचोल्दै अगाडि बढ्ने क्रममा पुगियो पाटन । चैत्रको महिना भएपनि चिसो हावाको झोक्काले ग¥यो स्वागत । दुई चारवटा बाछिटा पनि बर्सिए हामी माथि । पारी पट्टि चरिरहेका घोडाहरुले जुल्फी हल्लाउँदै गरेको अभिवादन स्वीकारेर अघि बढेका थियौ हामी । लागेको थियो अब त यहाँभन्दा माथि अर्को डाँडा छैन होला । रारा आइपुग्नै लाग्यो होला । आकाशै छुन पाएको जस्तै लागिरहेको थियो । चराको झै पखेटा भएको भए भुर्र उड्न हुन्थ्यो भन्ने सोचिरहेको थियो मनले ।


अब त रारा आयो होला भन्ठानेको फेरी बाटो ओरालो लाग्यो । पुगियो तलको खोँचमा । फेरी उकालिँदै पुग्यौ सल्लेरीमा । सल्लेरी पुग्दा करिब ९ बजिसकेको थियो । साँझ जेनतेन एउटा होटलमा कोचाकोच गरेरै भएपनि बसियो । होटलमा कामदार कम भएकाले हामी आफैले खान पकाउन सहयोग ग¥यौ । वनभोज खाए झै कति साथीहरु त बस्ने ठाउँको अभावमा उभिएरै खान खायौ । आहा ! कम्ता रमाइलो भएन भन्या ।

यसपालिको यात्रामा जे हास् आफूभन्दा जिम्मेवार मान्छेहरु साथ भएकाले पनि मन ढुक्क थियो । गाडिमा बज्ने गीतको तालमा नाच्नेदेखि बेला बेलामा भुटेका मकै, अलिकति अमिलो थोरै पिरो अचार, साँदेको चाउचाउ खान दिने शिक्षिकाहरु निकै जिम्मेवार थिए । उमेरले पाका भएकाले पनि खाजाको जोहो गरेका होलान् उनीहरुले । अझ भन्ने हो भने ज्ञानु मेडम जत्तिको रमाइलो मान्छे त अरु कोही लाग्दै लागेन । उहाँ साथमा नभएको भए रमाइलो आधा मात्र हुन्थ्यो होला मेरो मनले यसै भनिरहेको छ । नाच्न होस् कि दोहोरी गाउँन कसले रोक्ने उहाँलाई । कोही साथीहरु भने कला नभएर हो वा किन हो भलाद्मीपन देखाइरहेका थिए । म पनि पटक पटक नाचिदिन्थे आफ्नो क्षमता अनुसार ।

भोलीपख सूर्यले आफ्ना किरण पृथ्वीमा पु¥याउन नपाउँदै अब रारासँग मिल्नका लागि अगाडि बढ्यौ । साथीहरुको सल्लाह बमोजिम घोडा चढेर जाने योजना बन्यो । म पहिले पनि घोडा चढेका कारण खासै डराइन तर केही साथीहरु त डराए पनि । डराउनेहरुको नाम यहाँ उल्लेख भने गर्नुहुँदैन भन्ने सम्झे ।

अघि अघि म हातमा राष्ट्रिय झण्डा हल्लाउँदै घोडामा सवार थिएँ भने पछि पछि मित्र गोविन्द । घोडाधनीले हाम्रो सवारी चलाएका थिए । ठूलै मान्छे हौ झै लागिरहेको थियो कारण जीवनमा पहिलो पटक रारा पुग्दै थियौ । रारा पुग्नेहरु सबै ठूला हौ भन्ने सम्झिदा हुन् आफूलाई मैले जस्तै ।


राराको समिपमा पुगेपछि घोडाबाट झरेर रारालाई नमन गर्न मन लाग्यो । किनकी धर्तीकी अप्सरालाई अभिवादन नगरी उनको समीपलाई स्पर्श गर्नु हुँदैन भन्ने सोचिरहेको थिएँ मैले । घोडाबाट झरेपछि पहिलो नमस्कार रारालाई गरें । अनि राराको पवित्र जल लिएर
आदिदेव नमस्तुभ्यं प्रसिदं मम भास्कर
दिवाकर नमस्तुभ्यं प्रभाकर नमस्तुते ।

यही मन्त्रले श्रीसूर्य नारायणलाई जल चढाएँ । गोविन्द जीले हो मा हो मिलाउनु भयो । अनि बल्ल रारासँग परिचयात्मक कार्यक्रम अघि बढ्यो । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले मात्र पुग्दैन भनेको साँच्चै रहेछ । किनकी राराको आगनमा हामी पुगेको बेलामा फूल फुलेका थिएनन् । हिउ परेको थिएन । राराको आगनमा फूलेका फूलहरु हेर्नका लागि जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा पुग्नुपर्छ रे । अनि ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ रे । यो ताललाई हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ रे । हामी त चैत्रको अन्तिमै पुग्यौ । त्यो सुन्दरता हेर्न नपाएकोमा मन खिन्न भयो । मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १६७ मिटर रहेछ हामीलाई डुङ्गामा शयर गराउने माझीले बताएका हुन् यी कुराहरु ।


राराको सुरक्षाका लागि मात्र होइन पर्यटकीय स्थलको प्रचार प्रसारमा समेत सहयोग पुग्ने र वन्यजन्तुको समेत सुरक्षा हुने भएकाले त्यहाँ निकुञ्ज बसेको छ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइदा रहेछन् । । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ ।

रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल रहेछ । समय अभावका कारण त्यहाँ पुग्न सकिएन । फेरी एकै पटकको यात्रामा त्यहाँ पुग्ने हो भने दोहो¥याउँदा के हेर्ने ? मनमा यही सकारात्मक सोच निकालें आफै । मुर्माटपबाट यो मौसम सफा भएको समयमा मध्य र सुदुरपश्चिमका ६ वटा जिल्लासमेत देख्न सकिन्छ रे । रारा तालको किनारै किनार पुरै एक फन्को मार्न ५ घण्टा लाग्दोरहेछ ।

सवारी साधन छोडेपछि करीब ३० मिनेटको यात्रापश्चात तालको छेउमा पुगियो । जब तालको छेउ पुगियो अनि लगातार २ दिनको गाडीको यात्राको थकान सबै मेटियो । राराताल मुगुको मात्रै नभएर देशकै गहना हो । यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको कारण थुप्रै आन्तरिक पर्यटकहरु थिए हामी जस्तै । कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार बन्न सक्छ रारा राष्ट्रिय निकुञ्ज ।

रारा ताल मात्रै नभएर समग्र कर्णाली प्रदेश नै पर्यटनको हब बन्न सक्छ । तर, कर्णाली प्रदेशमा जति पर्यटक पुग्नु पर्ने हो, त्यति पुग्न सकेका छैनन । यसो हुनुको प्रमुख कारण भनेको कर्णालीको सुन्दरताको प्रचार जति हुनुपर्ने हो, त्यति हुन नसक्नु नै हो । राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।

यसरी रारालाई फन्को मारेर हामी फेरी भेट्ने बाचासहित बाहिरियौ राराबाट । सल्लेरी पुगेर खान खाइ रमना भयौ आफ्नो गन्तव्य तिर ।

जुम्लाको हिमा गाउँपालिका १ बड्कीमा रहेको कालिका माध्यमिक विद्यालयमा आएर विद्यालयका शिक्षकहरुसँग गरियो साक्षात्कार । विद्यालयको भवन निर्माण भइरहेको । त्यता जाँदै गर्दा एक जना अधवैशे महिलाले सोधिन्, ‘रारा गईकन आयौ ?’ त्यहाँका मान्छेहरु अलि फरक मान्छे देख्न साथ रारा गएका आएका हुन् वा रारा जान आएका हुन् भनेर सजिलै अनुमान गर्दारहेछन् । किनकी धेरै मान्छेहरुको आवतजावत भनेको राराकै लागि हुँदोरहेछ ।