Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

पत्रकार विसीको उपन्यास ‘रमा’ विमोचित

सुर्खेत |

पत्रकार तथा साहित्यकार पुनम विसीको उपन्यास ‘रमा’ विमोचन गरिएको छ । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका विच विसीको उपन्यास ‘रमा’ विमोचन गरिएको हो ।

कर्णाली महिलाका भोगाई समेट्दै लेखिएको उपन्यास ‘रमा’ विसीको पहिलो उपन्यास हो । विसीले भने, ‘०७० साल देखि यो उपन्यास लेख्न थालेको हुँ । धेरै समय लाग्यो । सानो कथाका रुपमा लेख्न सुरु गरेको थिए । विभिन्न आरोह–अवरोहका विच त्यो कथा अहिले उपन्यासका रुपमा तपाईंहरु सामु आउन सफल भएको छ ।’

‘उपन्यासमा कर्णालीका महिलाको अवस्थाका वारेमा चित्रणको प्रयास गरिएको छ । कथाले केही वर्ष पहिलेको कर्णालीका महिलाको सामाजिक अवस्था चित्रण गर्न खोजेको हो’, पत्रकार विसीले भने, ‘कर्णाली महिलाका मौनताको कथा उपन्यासमा समेट्न खोजेको छु । विविध कारण बोकेर कर्णालीका महिलाको मौनतालाई बाँध्ने समाजको चित्रण नै रमा हो, यहाँ महिलामा बाँधिएको मौनताका वारेमा प्रस्तुत गरेको छु ।’

पत्रकार विसी तथा उनि सक्रिय रहेको संस्था ‘पुनम फाउन्डेसन’ले ०७२ यता सुर्खेतमा रगत अभावका समयमा तत्काल रक्तदाता उपलब्धततामा समन्वयकारी भुमिका निर्वाह गरिरहेको छ । पत्रकार विसीले उपन्यास बिक्रि–वितरणबाट आउने रकम सोही अभियानका लागि सहयोग गर्ने बताएका छन् ।

फाउन्डेसनले हाल निर्माण सम्पन्न गरेको ‘कर्णाली ब्लड एड’ नामक मोवाईल एप सञ्चालनको अन्तिम तयारीमा छ । उपन्यासका लेखक विसी सो एप सञ्चानार्थ उपन्यासको आम्दानी खर्चन चाहन्छन् । उपन्यास लेखनका क्रममा सहयोग गर्ने सम्पुर्णमा उनले धन्यावद दिए ।

नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको ३१ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा पत्रकार विसीको उपन्यास विमोचन गरिएको हो ।