Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

बाचा पूरा गर्दै वडाअध्यक्ष शाही

जुम्ला ।
जुम्लाको हिमा गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष रतनबहादुर शाही आफ्ना बाचा पूरा गर्नेतिर लागेका छन् । निर्वाचनको समयमा जनता समक्ष गरेका बाचाहरु पूरा गर्नु मेरो कर्तव्य र जिम्मेवारी भएको बताउँदै पाँच वर्षपछि आउने निर्वाचनको समयमा होइन स्रोत साधनले भ्याएसम्म अहिलेदेखि नै आफ्ना बाचाहरु पूरा गर्दै अगाडि बढ्ने योजना रहेको वडाअध्यक्ष शाहीले बताए ।

No description available.
निर्वाचनको समयमा भेडीगोठालाहरु समक्ष मत माग्न गएका शाहीले आफूले निर्वाचन जितेमा पशुपालनका लागि स्थानीय तहबाट गर्नु पर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने बताएका थिए भने कृषि उत्पादन गरी सबैको पेट भर्ने अन्नदाता किसानहरुलाई नभुल्ने बाचा गरेका थिए ।
यो साउनको महिनामा भेडीगोठालाहरु साउने झरीमा रुझ्दै र भिज्दै भेडा चलाउन विवश भएकाले वडा नं. १ ले भेडीगोठालाहरुको लागि रेनकोट (वर्षादी) र पानी बुट (जुत्ता) तथा टर्च लाइन वितरण गरेको छ । पहिलो चरणमा मौसम अनुसारको कपडाको रुपमा २८ जना भेडीगोठालाहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको वडाअध्यक्ष शाहीले बताए ।

पहिलो पटक यसरी सामग्रीहरु पाउँदा आफू निकै खुसी भएको र भेडा चराउन गएको समयमा समेत पानीबाट भिज्नु नपर्ने बताउँदै पशुपालक गोविन्द शाहीले खुसी व्यक्त गरे । दल्जिते रावतले भने ‘हामी गोठालाहरुलाई मत माग्ने बेलामा दाजुभाइ भनेर नमस्कार गर्दछन् तर पछि फेरी फर्केर नहेर्ने परिपाटी रतन शाहीले तोडिदिएका छन् ।’ विकास आफ्ना लागि पनि हो भन्ने सुनेको भएपनि कहाँबाट कसले के गर्थे त्यो थाहा नपाउने हामीलाई अहिले वडाअध्यक्ष आफै आएर यसरी झरीबाट बचाउने रेनकोट दिनुभयो यो पनि हामीले ठूलो मानेका छौं उनको भनाई थियो ।

पशुपालक विशेषगरी भेडीगोठालाहरुलाई मौसम अनुसारको आवश्यक सामग्रीहरु वितरण गरेका छौ । जसले गर्दा पशुपालनका क्षेत्रमा लागेका किसानहरुलाई पनि हौसला होस् र सामग्रीले थोरै भएपनि राहत होस् भन्ने चाहाना रहेको छ महिला वडासदस्य जगा आचार्यले बताइन् ।