Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

निर्वाचनलाई उत्सवमय बनाऔं

यतिबेला देश प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । केही दिन अगाडि दशैं अनि त्यसको १५ दिन पछि तिहारको रमझम सकिन साथ निर्वाचनको माहोल निकै तातिन थालेको छ । १७ गतेका दिनदेखि विभिन्न पार्टीका झण्डा र साउण्ड सिष्टममा घन्किएका नाराले एकखालको उत्सवको संकेत गराइसकेको छ । वास्तवमा आवधिक निर्वाचन पाँच वर्षमा एक पटक आउने भएकाले पनि यो देश, जनता तथा नेताहरु सबैका लागि उत्सवको रुपमा आउनु पर्ने हो तर नेपालका राजनैतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको क्रियाकलापले यो उत्सव भन्दा पनि संग्रामको रुपमा देखा पर्ने गर्दछ । निर्वाचनलाई संग्रामको रुपमा विकास गर्ने दलका नेता तथा कार्यकर्ताहरु नै हुन् । निर्वाचन आयोगले तोकेका आचारसंहितालाई समेत वेवास्ता गर्दै नियम र कानून विपरित भएपनि जनतालाई क्षणिक वा दीर्घकालिन रुपमा दबाब र प्रभावमा पार्ने कार्यले निर्वाचनहरु उत्सव नभई संग्राम बन्ने गरेका छन् ।

पार्टीहरुले आफ्ना प्रतिवद्धताहरु जनता सामु ल्याउनका लागि घोषणा पत्र जारी गर्नु आवश्यक पनि छ र जायक पनि हो । घोषणा पत्र भनेको प्रतिवद्धता पत्र भएकाले आफूले निर्वाचन जितेको खण्डमा आफूले गर्ने कार्यहरु, निर्माण गरिने नीतिहरुका साथै जनताका लागि प्रत्यक्ष रुपमा सरोकार राख्ने विकासका खाकाहरु कोरिएको योजनातर्जुमा सहितको दस्तावेजलाई पछिल्लो समयमा जनता लोभ्याउने अस्त्रका रुपमा प्रयोग गरिनु लोकतन्त्रको उपहास मात्र होइन खिल्ली उडाउनु पनि हो । एउटा दलले गरेको प्रतिवद्धतालाई अर्को दलले केवल शब्द मात्र फरक पारी अर्थ एउटै लाग्ने ढंगले जनता समक्ष ल्याउनु भनेको जनतालाई भ्रममा राखेर स्वार्थसिद्ध गर्न तिर लाग्नु हो ।

आज भन्दा पाँच वर्ष अगाडि गरिएका प्रतिवद्धताहरु पूरा भए वा भएनन् भनेर सोच्दै नसोची वर्तमान फेरी तिनै बुँदाहरुलाई जनता समक्ष ल्याएर राजनीतिक दलहरुले आफूहरुले काम गर्न सकेनौ भन्ने कुरा स्वीकार गरेका हुन् । विद्यालयमा पाठ्यपुस्तक नपुगेकाले विद्यार्थीहरु पाठ्यपुस्तकको अभावमा पीडामा परेका बेलामा ल्यापटप वितरण गर्ने कुरा उल्लेख गर्नु आफैमा हाँस्यास्पद छ भने सबैका लागि निःशुल्क सेनिटरी प्याड भन्दै सस्तो लोकप्रियताका लागि लगाइएको नारा पनि त्यो भन्दा कम छैन । यतिबेलाको निर्वाचन पाँच वर्ष अगाडिको निर्वाचन जस्तो भने पक्कै हुने छैन । किनकी राजनीतिक रुपमा जनताको चेतनाको स्तर पाँच वर्षसम्म निकै परिवर्तन भइसकेको छ । जसले गर्दा घोषणा पत्रमा लेखिएका कुन कुन पूरा भए र कुन कुन करा परा भएनन् भनेर जनताले नेताहरुलाई सहर्ष रुपमा प्रश्न गरिरहेका छन् । अतः पूरा गर्न सकिने प्रतिवद्धता मात्र गरौं, स्वच्छ प्रतिस्पर्धा गरौं निर्वाचनलाई उत्सवमय बनाऔं, संग्राममय होइन ।
आजको सुक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित सम्पादकीय