Loading... आजः २७ जेष्ठ २०८३, बुधबार । Wednesday 10th June 2026
ताजा खबर
  

निर्वाचनको सङ्घारमा प्रकाश शाहीको ‘शासन प्रणाली’

सुर्खेत ।
हुम्लामा चौरी गाई बल्याँ कर्णाली
सुर्खेत दुध खान्या चाहियो शासन प्रणाली
युवा सव रोजगारी हुन्या कर्णाली
विदेश नजान्या चाहियो शासन प्रणाली
यी गीतका अंश प्रकाश शाहीको देउडा एल्बम शासन प्रणालीमा गाइएका हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मुखमा जनतामा सचेतना ल्याउनका लागि नेताहरुलाई सुझाव दिनका लागि निकै उपयुक्त शाब्दिक भाव बोकेका यी गीतले सर्वसाधारण जनताको आवाजलाई बुलन्द गरेका छन् ।


भनिन्छ, हिमालको हिउँले तराईलाई शितलता दिनसक्नु पर्छ पहाडको गुराँसले हिमालसँग मुस्कान साटासाट गर्नुपर्छ त्यसरी नै प्रकाश शाहीले आफ्नो देउडा गीत मार्फत हुम्लामा भएका चौरीको दुध सुर्खेतमा बस्नेले पनि पिउन पाउनु पर्छ भन्ने उद्घोष गरेका छन् । कर्णालीलाई भौतिक रुपमा विपन्नताको रुपमा हेरिएपनि भौगोलिक रुपमा विकटताको रुपमा हेरिएपनि प्राकृतिक स्रोत र साधनका साथै संस्कृति र पहिचानका रुपमा धनि कर्णालीको रुपमा हेरिने गरिन्छ । तर कर्णालीका युवाहरु रोजगारको लागि कालापहाडदेखि खाडी मुलुकहरुमा धाउनु पर्ने बाध्यता भएकाले त्यो बाध्यता हटाउनका लागि पहल गर्नुपर्ने तर्फ अंकित गर्दै गीतका शब्दले भनेका छन्,
युवा सव रोजगारी हुन्या कर्णाली
विदेश नजान्या चाहियो शासन प्रणाली ।

जबसम्म जनताको अवस्थामा परिवर्तन ल्याउन सकिदैन तबसम्म कुनै पनि क्षेत्रमा परिल्याउन सकिदैन तर धुब्रसत्य कुरा के हो भने जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि शासन प्रणालीमा परिवर्तन आउन जरुरी छ । देशमा जहाँनियाँ राणा शासनदेखि, राजतन्त्रात्मक शासन प्रणालीको समेत अन्त्य भएर प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगे पनि शासन प्रणालीलाई नेताहरुले आफ्नो स्वार्थसिद्धिमा प्रयोग गरेका कारण जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको सत्यता कसैका सामु छिपेको छैन । अबको शासन प्रणाली जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि प्रयोग गरिनु पर्छ अनि मात्र कर्णाली समृद्धि हुन सक्छ । केन्द्रिय शासन प्रणालीका नजरमा दुरदराजमा रहेको कर्णालीले समृद्धि पाउन सक्यो भने देशले समृद्धिको ढोका खोल्न समय नलाग्ने कुरालाई निकै रोमाञ्चक र मार्मिक रुपमा शाहीले गीतको माध्यमबाट व्यक्त गरेका छन् ।
गाउँ–गाउँमा बिजुली जल्न्या कर्णाली
पहाड रेल चल्न्या चाहियो शासन प्रणाली
जनताको शासन चल्न्या कर्णाली
भ्रष्टाचार ढल्न्या चाहियो शासन प्रणाली ।

कर्णालीका अनेकौ गाउँहरु अहिलेपनि विद्युतको पहुँच नपुगेका कारण अन्धकारमा छन् । ती गाउँहरुमा विजुली पु¥याउन पहल गरिने शासन प्रणालीको आवश्यकताको बोध गीतले गरेकोछ । त्यत्ति मात्र होइन विकासको ढोका खोल्न सकेको खण्डमा पहाडमा पनि रेल कुदाउन सकिन्छ भन्ने तर्फ आशावादी पनि बनाउँछन् शाहीका गीतका शब्दहरुले । हामीले आजको लोकतान्त्रिक शासन व्यवस्था प्राप्तिका लागि जति दुःख गरेपनि आजको शासन व्यवस्था पनि शक्तिमा हुनेहरुबाटै संचालन भएकाले अबको शासन प्रणाली जनताबाट चल्ने हुनुपर्ने माग गरेको शाहीको देउडा गीतले भ्रष्टाचारलाई ढाल्न सकिएन भने लोकतन्त्रको उपयोगीता माथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ ।
कर्णाली भेरीको पानी कर्णाली
घर–घर आउन्या चाहियो शासन प्रणाली

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर अहिले पनि पिउने पानीको अभावमा तड्पिरहेको छ । गर्मीको समयमा त काकाकुल नै हुने गर्दछ वीरेन्द्रनगर । त्यसैले घर–घरमा भेरी र कर्णाली नदीको पानी ल्याउन निर्वाचनको मुखैमा नेताहरुलाई सुझाव दिएको छ गीतले । कसैले पनि दुःख नपाउने अवस्थाको सिर्जना गर्न सकेको खण्डमा कर्णालीले नै समृद्धि छाउन सक्छ । कर्णालीका अधिकांश वस्तीहरुमा अहिले पनि छुवाछुतका कारण मान्छेको ज्यान गइरहेका छन् । त्यसैले छुवाछु्त कानूनमा मात्र होइन व्यावहारमै अन्त्य हुन आवश्यक शासन प्रणालीको परिकल्पना गीतले गरेको छ । गाउँ–गाउँको कुरा त परै छ कर्णालीको हुम्लाकै सदरमुकाममा अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन । वस्ती–वस्तीमा मोटरबाटो पुग्न आवश्यक भएको बताउँदै प्रविधिले युक्त गुणस्तरीय अस्पताल बनाउन सकेको खण्डमा कर्णालीका वासिन्दाले अकालमा ज्यान गुमाउनु पर्दैन गीतले संकेत गरेको छ ।

नारामा पर्यटकीय विकास भनेर मात्र नहुने भएकाले शासन प्रणालीमै विदेशी पर्यटकलाई कर्णालीका पर्यटकीयस्थलहरुमा पुग्न सहज हुने शासन प्रणालीको खाँचो रहेको छ । जसका लागि गुणस्तरीय सडकदेखि व्यवस्थित होटलहरुको समेत व्यवस्थापन हुनु आवश्यक छ । केवल आकाशमा चिलगाडी उडाएर मात्र कर्णाली समृद्ध हुन सक्दैन त्यसका लागि त कर्णालीका धर्तिका सबै कुना–कुनामा मोटर गाडि गुडाउन सक्नुपर्छ भन्ने सत्यतालाई बजो जोडतोडका साथ उद्घोष गरिएको छ ।

हामी हरेक कार्यका लागि पराईको भर पर्ने गर्दछौ । यो नै हाम्रो प्रगतिको सत्रु हो । देश विकास गर्नका लागि नेताको मात्र भर परेर हुँदैन जनता पनि एकजुट भएर अगाडि बढ्न सकियो भने देश विकासका क्षेत्रमा योगदान दिन सकिन्छ शाहीको गीतले यस्तै भावलाई उठान गरिदिएको छ । निर्वाचनको संघारमा आएको यो देउडा गीतले कर्णालीका नेता र जनता दुबैलाई एक दकम अगाडि सोच्न बाध्य बनाएको छ ।

बराल मुभि हाउसको प्रस्तुती शासन प्रणालीको गीतमा प्रकाश शाही र टीका पुनको स्वर रहेको छ भने शब्द तथा लय प्रकाश शाही, मोडल प्रकाश शाही र इन्द्रा शाही, अभिनय ज्ञानबहादुर नेपाली, छायाँङ्कनको प्रकाशमा प्रकाश बस्नेत तथा छायाँङ्कन निर्मल प्याकुरेल र निर्देशन चन्द्र मन्दिरको रहेको छ । श्रीनाथ फिल्मस प्रा.लि.को प्रोडक्सन रहेको गीतले कर्णाली बोलेको छ । (आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित)