पूर्वराजा ज्ञानेन्द्रलाई भव्य नागरिक अभिनन्दन
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पूर्व राजा ज्ञानेन्द्रलाई भव्य नागरिक अभिनन्दन गरिएको छ । परिवारका सदस्यहरु सुर्खेत आइपुगेका पूर्वराजा ज्ञानेन्द्रलाई मुकुन्दश्याम गिरीको संयोजकत्वमा गठित १ हजार १ नागरिक अभिनन्दन समितिले भव्य अभिनन्दन गरेको हो ।
राजा वीरेन्द्रसहित ज्ञानेन्द्र र धिरेन्द्रसमेतको योजनाले सुर्खेतलाई सुन्दर र विकसित बनाउन २०२९ सालमै चालेको कदमले सुर्खेत आजको अवस्थामा आइपुगेको स्मरण गर्दै राजपरिवारको तर्फबाट सुर्खेतका लागि गरेको योगदान स्वरुप पूर्वराजालाई अभिनन्दन गरिएको मूल समारोह समितिले जनाएको छ ।

नागरिक अभिनन्दन समारोहलाई सम्बोधनगर्दै पूर्वराजा ज्ञानेन्द्रले भने, आफ्नो पहिचान हाम्रो शान हो । आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो ।’ शाहले भने, ‘हामी जहाँ–जहाँ पुग्छौं, त्यहाँ–त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु । त्यसैले अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अंगाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं ।’
राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुने उल्लेख गर्दै शाहले अगाडि भने, ‘नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ । अब हामी भन्छौं, मिलौं । हामी सबै एक भएर जुटौं । हामी नफुटौं । परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं । स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं ।’

पूर्वराजा ज्ञानेन्द्रलाई सुर्खेतमा मूल समारोह समितिसहित अन्य एक दर्जन संस्थाहरुले समेत नागरिक अभिनन्दन गरेका थिए । नेपालमा भएको राजनीतिक परिवर्तन पश्चात २४० वर्षे शाहवंशीय परम्परालाई पाखालगाएर गणतन्त्रको घोषणा भएपश्चात २०७२ सालमा नयाँ संविधान जारी भएपछि देश संघीयता शासन प्रणालीमा संचालन भइरहेको छ । अहिले राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिय प्रणाली रहेकाले संविधानले राजा मान्दैन । तर राजसंस्थालाई पाखा लगाउँदा जनमत संग्रह नगरेको, जनभावना विपरित राजसंस्थालाई पाखा लगाएको र देशलाई मनोमानी रुपमा धर्मनिरपेक्षता बनाएको भन्दै राजावादी दलहरुले समेत आपत्ति जनाउँदै आइरहेका छन् ।
राजावादी दल तथा व्यक्तिहरुले अहिले पनि राजसंस्थाको पुनस्र्थापना हुनु पर्ने बताउँदै आइरहेका बेलामा देशभर राजाको अभिनन्दन भइरहनुले गणतन्त्रवादी दलहरु त्रसित भएको राजनीतिक विश्लेषकहरुले बताउँदै आइरहेका छन् । देशमा भ्रष्टाचारले सीमा नाघेको, एकले अर्का माथि विश्वास गर्न नसकेको, नेताहरु देश र जनताका लागि भन्दा पनि आफू र आफ्नाहरुका स्वार्थमा लिप्त भइरहेको अवस्थामा कतै राजासंस्था पुनस्र्थापना हुने त होइन भन्ने कुराले पनिचर्चा पाइरहेको छ ।

यसैक्रममा राजाको अभिनन्दनको पूर्व सन्ध्यामा शुक्रवार कर्णाली प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सन्तोष शाहीले वडामहाराजाधिराज नागरिक अभिनन्दनका लागि सुर्खेत आउन लाग्नु भएकोमा हार्दिक स्वागत गर्दछु भन्ने अभिव्यक्ति दिएपछि सदनमै हंगामा मच्चिएको थियो । जसमा माओवादी केन्द्रका सांसद विन्दमान विष्ट र नेपाली काँग्रेसका सांसद जीवनबहादुर शाहीले नियमापत्ति गरेका थिए । जसले गर्दा केही समय सदनमै हंगामा मच्चिएको थियो ।






