Loading... आजः ८ फाल्गुन २०८२, शुक्रबार । Friday 20th February 2026
ताजा खबर
  

नेपाल ज्योतिष परिषद्ले थाल्यो देशव्यापी प्रशिक्षण

ज्ञान आर्जन गरेर अघि बढेको खण्डमा कसैले औला उठाउन सक्दैन ः कार्यकारी निर्देशक आचार्य पन्थी

सुर्खेत ।
नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिले देशव्यापी प्रशिक्षणको सुरुवात गरेको छ । तीन महिनासम्म अनलाइन मार्फत संचालन हुने देशव्यापी प्रशिक्षणमा प्रारम्भिक ज्योतिषको शिक्षा प्रदान गरिने नेपाल ज्योतिष परिषद्का केन्द्रीय कार्यकारी सभापति कमलप्रसाद काफ्लेले बताउनु भयो ।


देशव्यापी प्रशिक्षणको उद्घाटन अनलाइन मार्फत नेपाल पञ्चांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्णम पन्थीले गर्नुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाल पञ्चांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्णम पन्थीले शुभकामना मन्तव्य दिँदै भन्नुभयो, नेपाल ज्योतिष परिषद्ले स्रहानीय कार्य गरेकोमा ज्योतिषहरुको सबैभन्दा ठूलो संस्था नेपाल ज्योतिष परिषद् धन्यवादको पात्र छ । ज्योतिष विद्याको जगेर्नाका लागि नेपाल ज्योतिष परिषद्ले गर्ने हरेक कार्यमा आफ्नो साथ र सहयोग रहने पन्थीले विश्वास व्यक्त गर्नुभयो । नेपाल पञ्चांग निर्णायक विकास समितिले ज्योतिषीय क्षेत्रमा गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने पन्थीले बताउनु भयो । ज्योतिष विद्या र ज्योतिषीहरुको विकास, विस्तार र संरक्षणका लागि राज्यको तर्फबाट कार्य गर्ने एकमात्र सरकारी संस्था नेपाल पञ्चांग निर्णायक विकास समिति भएकाले पनि आफूलाई त्यस संस्थाको बाट प्राप्त भएको जिम्मेवारीले आफूले आफ्नो कार्यकालमा उदाहरणीय कार्य गर्ने प्रयास गरिरहेको कार्यकारी निर्देशक आचार्य पन्थीले बताउनु भयो । ज्योतिषी, कर्मकाण्डी गुरुहरुलाई सूचिकृत गर्न जरुरी भएको बताउँदै भावनामा बगेर भन्दा पनि ज्ञान आर्जन गरेर अघि बढेको खण्डमा कसैले पनि ज्योतिषीहरु प्रति औला उठाउन सक्ने छैन पन्थीले थप्नुभयो ।
अब ज्योतिषहरु पनि प्रविधिमा खेल्न सक्नुपर्ने भएकाले पनि यो अनलाइन प्रशिक्षण सफल हुने मलाई विश्वास लागेको छ पन्थीको भनाई थियो । उहाँले भन्नुभयो, कूल परम्पराबाट सिकेकादेखि शैक्षिक संस्थाबाट योग्यता प्राप्त गरेका ज्योतिषहरुलाई सूचिकृत गरेर उनीहरुको हकहितका लागि के गर्न सकिन्छ भन्ने बारेमा नेपाल पञ्चांग निर्णायक विकास समिति लागि परेको आचार्य पन्थीले बताउनु भयो । त्यसैगरी मिथिला पञ्चांगलाई समेत समेटेर अगाडि बढ्ने योजना रहेको पन्थीले बताउनु भयो ।
यसैगरी नेपाल ज्योतिष परिषद्का केन्द्रिय अध्यक्ष केशव प्रसाद धितालले भन्नुभयो, हामीलाई समाजले हेर्ने दृष्टिकोणदेखि समाज भइरहेका गतिविधिहरुमा के हो ज्योतिष र को हुन् ज्योतिषी भन्ने कुरालाई सबै समक्ष लैजानु हाम्रो मुख्य उद्देश्य रहेको छ । यसलाई हामीले ज्ञानयज्ञको रुपमा लिएका छौ । नेपाल ज्योतिष परिषद्ले आयोजना गरेको यस कार्यले हामीलाई कागजको पानामा मात्र ठूलो संस्था छ भन्ने होइन कार्यमा पनि हामीले गरेका गतिविधि अब्बल छन् भन्ने प्रमाणित गर्न लागिरहेका छौ ।
अध्यक्ष धितालले भन्नुभयो, हाम्रो प्रशिक्षण यत्तिमा मात्र सिमित रहने होइन यो निरन्तर चल्ने भएकाले हिजो प्रशिक्षण प्रशिक्षक लिएका सबै गुरुहरुलाई परिचालित गरेर अघि बढ्ने योजना रहेको छ । यसैगरी हामी केवल प्रशिक्षकको जिम्मामा मात्र छोड्दैनौ त्यसको अनुगमन तथा निरिक्षण समिति समेत निर्माण गरेर अघि बढ्ने अध्यक्ष धितालले बताउनु भयो । दोस्रो चरणमा माध्यामिक र उच्च माध्यामिक तहको शिक्षा प्रदान गर्ने योजना रहेको अध्यक्ष धितालले बताउनु भयो । आध्यात्म र विज्ञान बीचको समानता के हो भन्ने कुरा समाजलाई बुझाउनु आजको आवश्यकता रहेको उहाँले बताउनु भयो । यसमा सबै जातजाती, समुदायका व्यक्तिहरुले शिक्षा लिन सक्नेछन् । हामीले हाम्रो शिक्षा पुस्तान्तरण र हस्तान्तरण जरुरी छ धितालले थप्नुभयो ।
यसैगरी उद्घाटन कार्यक्रमका विशेष अतिथि नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. अर्जुनप्रसाद भट्टराईले भन्नुभयो नेपाल ज्योतिष परिषद्ले आयोजना गरेको यस कार्यक्रमले एक अर्कामा ज्ञान बाँड्न सहयोग पुग्ने र नयाँहरुलाई पनि ज्ञान लिनका सहयोग पुग्ने भएकाले यो कार्यक्रम स्तुत्य रहेको बताउनु भयो ।
पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका ज्योतिषको ज्ञान लिन चाहनुहुने झण्डै १०० जना प्रशिक्षार्थीहरु सहभागी रहेको परिषद्का सचिव शिवलाल पौडेलले जानकारी दिनुभयो । १८ वर्ष उमेरदेखि ७५ वर्ष उमेर समूहका व्यक्तिहरु प्रशिक्षणमा जोडिएको पौडेलले बताउनु भयो । पहिलो चरणमा प्रशिक्षार्थीहरु ४ वटा समूह ८४ जना प्रशिक्षणार्थी रहनेछन् भने प्रशिक्षकमा सन्तोष पोख्रेल, दीपक शर्मा दाहाल, गोविन्द डुवाडी र गौरीशंकर शर्मा पहिलो चरणमा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गर्ने बताइएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रशिक्षक एवं कोशी प्रदेशका प्रमुख सल्लाहकार सन्तोष पोख्रेलले भन्नुभयो नेपाल ज्योतिष परिषद्ले आयोजना गरेको यस प्रशिक्षणले देशभरका ज्योतिषहरुमा एकरुपता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ज्योतिष परिषद्ले यस अघि १५ जना ज्योतिषहरुलाई प्रशिक्षक प्रशिक्षण दिएर प्रदेशस्तरीय जिम्मेवारीसहित प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षार्थीहरुको आन्तरिक र बाह्य मूल्यांकलन समेत रहने बताइएको छ ।
नेपाल ज्योतिष परिषद्का केन्द्रिय अध्यक्ष केशव प्रसाद धितालको सभापतित्वमा संचालन भएको थियो भने केन्द्रिय सचिव शिवलाल पौडेलले सहजिकरण गर्नुभएको थियो ।