Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

जन्ती बाटोबाटै फिर्ता

सल्यान ।

सल्यानमा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर कम भएको जानकारी पाएपछि आधा बाटोबाटै फर्किएका छन् ।
रोल्पाको गंगादेव गाउँपालिकाबाट सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर नपुगेका कारण आधा बाटोबाटै फिर्ता भएका हुन् । दुलही लिन करिब ४५ जना जन्तीसहित बस सल्यान प्रवेश गरेको थियो ।

‘प्रहरीलाई दुलाहाको विवाह गर्ने उमेर नपुगेको खबर आयो,’ जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख लक्ष्मण वलीले भने, ‘प्रहरीले सोधपुछ गर्दा साँच्चै नै बेहुलाको उमेर पुगेको रहेनछ ।’ बेहुलाको उमेर नपुगेको थाहा पाएपछि प्रहरीले जन्तीलाई बाटोबाटै फिर्ता पठाएको थियो ।

‘बेहुलीको उमेर २० वर्ष पूरा भएर २१ लागेको रहेछ तर बेहुलाको उमेर भने २० वर्ष पुग्न अझै तीन महिना बाँकी रहेको पाइयो,’ इन्स्पेक्टर वलीले भने, ‘त्यसैले बाटोबाटै जन्ती बोकेको बस फर्काएका हौँ ।’ उनले उमेर नपुगेको विवाह भएपछि कारबाही गर्नुभन्दा अगाडि नै विवाह रोकेर ठुलो दुर्घटनाबाट रोकेको बताए ।

बालविवाह गरे गराए वा संलग्न भएको खण्डमा दुलाहा, दुलहीसहित संलग्नलाई समेत तीन वर्ष कैद वा ३० हजार जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । पछिल्लो समय सल्यानमा बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रहरीलाई स्थानीय तह, मानवअधिकारकर्मी, स्थानीय लगायतले साथ दिँदै आएको छ ।