Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

लिफ्टिङ प्रविधिले गाउँमै खानेपानी

दैलेख ।

जिल्लाको भैरवी गाउँपालिका–१ कुडामूलका ४५ घरधुरीलाई लिफ्टिङ प्रविधिमार्फत गाउँमा खानेपानीको सुविधा पुगेको छ । खानेपानी पुगेसँगै वर्षौँदेखि भोग्दै आएको पानीको समस्या समाधान भएको छ ।

भैरवी गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सोलार लिफ्टिङ प्रविधिमार्फत मुहानबाट २ सय ३ मिटर माथिको दूरीमा पानी लिएर गाउँमा पाँच वटा सार्वजनिक धारा निर्माण गरिएको हो। दैनिक पानी बोक्नुपर्ने भएका कारण समुदायका बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको थियो ।

घरनजिकै स्वच्छ पानीसँगै धारा निर्माण भएपछि समयको सदुपयोग भएको स्थानीय हरिसरा सुनारले बताइन्। स्थानीय कृपाराम ओलीले खुसी व्यक्त गर्दै भने, ‘लिफ्टबाट गाउँघरमै खानेपानी आएपछि टाढसम्म पुगेर कुवाको दूषित पानी खानुपर्ने समस्या हटेको छ ।

‘दिनमा आठ हजार लिटर पानी सोलार लिफ्टिङ प्रविधिमार्फत ट्याङ्कीमा जम्मा हुने गरेको जडामूल खानेपानी योजनाका प्राविधिक जंग रावलले बताए। उनले डाँडामा रहेको ५० घरधुरीको बस्तीमा सबैलाई सहज रूपमा खानेपानी र्पुयाउनका लागि अनुदानसँगै श्रमदान गरी ५० लाखको लागतमा पाँच वटा धारा निर्माण गरिएको बताए ।

गाउँपालिका–१ का वडा अध्यक्ष काशीराम कार्कीले गाउँमा खानेपानी योजना निर्माण भएपछि कुडामूलका स्थानीय जनतालाई सहज भएको बताए ।