पौडेल र केसीलाई भ्रष्टाचारको आरोप पत्र दायर
सुर्खेत ।
भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.विरूद्व दुइ लाख विगो दावी गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस बापतको रकम दुइ लाख लिएको आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।
झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज चित्र बहादुर के.सी.लाई घुस बापतको रकम रू.२,००,००० (दुइ लाख) लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको थियो ।
अनुसन्धानको सिलसिलामा भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलको आदेश योजना र निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन के.सी.ले उक्त नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसररिसवत लिएको आरोप पत्रमा उल्लेख गरिएको छ ।
अधिकृत र प्राविधकको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी गरिएको कार्यालयले जनाएको छ ।







