काेभिड-१९ काे रोकथामका लागि वातावरणले दियाे १४ लाख
बैशाख १७, सुर्खेत ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि., वीरेन्द्रनगर ८, सुर्खेतले अहिले विश्वव्यापी प्रकोपको रुपमा लिइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि कर्णाली प्रदेश सरकार र कर्णाली प्रदेशका विभिन्न स्थानीय तहहरुलाई गरी १४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
संस्थाले कर्णाली प्रदेश सरकारको राहत कोषमा ५ लाख र कर्णाली प्रदेश अन्तर्गत संस्थाको कार्यक्षेत्र भित्र पर्ने सुर्खेत, दैलेख, सल्यान र जाजरकोट जिल्लाका २३ वटा स्थानीय तहहरुलाई ९ लाख गरी जम्मा १४ लाख रुपैयाँ सहयोग गरेको हो ।
नेपाल सरकारको कोरोना भाइरसको संक्रमण रोकथाम तथा राहत वितरण अभियानमा सहयोग पुग्नेगरी बुधवार संस्थाको केन्द्रीय कार्यालय मार्फत कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई तथा विभिन्न १२ वटा शाखा मार्फत स्थानीय तहहरुलाई उक्त रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष चन्द्रलाल आचार्य र सचिव राधाकुमारी ढकालले दिन प्रतिदिन नेपालमा पनि संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएकाले समुदायप्रतिको संस्थागत चासोलाई समेत ध्यानमा राख्दै नेपाल सरकारलाई सबै किसिमको सहयोग गर्न तत्पर भएर सहयोग रकम प्रदान गरेको बताउनुभयो ।
संस्थाले बुधवार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र सहकारी मन्त्री विमला के.सी. मार्फत कर्णाली प्रदेश सरकारलाई ५ लाख रुपैयाँ तथा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख मोहनमाया ढकाल मार्फत वीरेन्द्रनगर नगरपालिकालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।







