पत्रकारको न्यूनतम् पारिश्रमिक बारे अन्तरक्रिया
सुर्खेत ।
न्यूनतम प्रारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको संयोजनमा ६ नं. प्रदेश स्तरीय पत्रकारहरुको न्यूनतम पारिश्रमिक बारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकारहरुको न्यूनतम प्रारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, दाङ लगायतका जिल्लाहरुका पत्रकारहरुको सहभागीता रहेको थियो ।
न्यूनतम प्रारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले कार्यक्रममा बोल्दै भने – स्थानीयस्तरमा संचालन भएका मिडियाहरुले पनि मिडियामा कार्यरत कर्मचारी र पत्रकारहरुलाई अनिवार्य रुपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउनु पर्ने नेपाल सरकारको कानुनी प्रावधान भएकोले त्यसलाई लागु गर्न पर्दछ । राष्ट्रिय तथा स्थानीय सबै तहका मिडियाहरुले न्यूनतम प्रारिश्रमिक लागु नगरे कानून बमोजिम कारवाही हुने प्रावधान रहेको समेत उनले स्पष्ट पारे । साथै उनले भने – मिडियाहरुको लागि समानुपातिक विज्ञापन प्रणालीको खाँचो भएकोले त्यस तर्फ नेपाल सरकारलाई पहल चाल्न अनुरोध गरिसकिएकोले समानुपातिक विज्ञापन प्रणालीको छिटै कार्यान्वयन हुने छ ।
कार्यक्रममा उपस्थित मिडियाका संचालकहरु एवम् पत्रकारहरुले आ–आफ्ना समस्याको बारेमा धारणाहरु राखेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारतीको अध्यक्षतामा भएको थियो भने सहजीकरण सचिव सुदीप पुरीले गरेका थिए । कार्यक्रममा उपस्थितहरुलाई उपाध्यक्ष माया थापाले शब्द स्वागत गरेकी थिइन ।






