Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

भाइ सहयोग जुटाउने, दिदी बिरामीको सेवा गर्ने

सुर्खेत ।
अस्टेलियामा बस्दै आउनु भएका पपुलर बुढाथोकी र उहाँकी दिदी प्रतिभा बि.सी. ले त्यहाँ रहेका अन्य साथीहरुसँगको सहकार्यमा २ लाख ८१ हजार २ सय ६० रुपैयाँ सहयोग पठाएपछि दैलेखको दुल्लु अस्पतालमा कार्यरत पपुलरकी दिदी डा. पूजा बि.सी. लाई विरामीको उपचार गर्न झनै सजिलो भएको छ । यतिबेला विश्वमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरस दैलेखमा तिब्रगतिमा फैलिरहेको छ । यस्तो अवस्थामा अग्रभागमा रहेर काम गर्ने डाक्टरहरु नै जोखिममा रहेको बेला डा. पूजा बि.सी. भने गर्भवती, सुत्केरी महिला तथा अन्य विरामीहरुको उपचारमा तल्लिन हुनुहुन्छ ।


पपुलर बुढाथोकीले सहयोग वापत पठाएको पैसाबाट विभिन्न स्वास्थ्य सामग्रीहरु खरिद गरिएको डा. पूजा बि.सी. को भनाई छ । उहाँले भन्नुभयो, पपुलरले गरेको सहयोगबाट सर्जिकल मास्क २ हजार थान, सेनिटाइजर ५० लिटर, नेबुलाइजर २ थान, अक्सिजन कन्सनथ्रेटर मेसिन १ थान पिपिइ रियुज्यावल ३० सेट र केएन ९५ मास्क ५० थान खरिद गरि अस्पतालमा पुगिसकेको छ ।

अस्पतालमा सामग्रीहरु आएपछि आफूहरुलाई समेत काम गर्नमा सहजता भएको डा. पूजाको भनाई छ । उपलब्ध सामग्रीहरु बुझ्दै देश बाहिर रहेर पनि आफ्नो मातृभ्रमिलाई माया गरि यसरी सामग्रीहरु पठाएर सहयोग गरेकोमा दुल्लु अस्पतालकी प्रमुख समेत रहनु भएकी डा. पूजाले सहयोग सबैलाई धन्यवाद दिनु भएको छ ।


सुरुका दिनहरुमा कोरोना बारे कतिपय भ्रमहरु समेत फैलिएको संक्रमितका परिवार मात्र होइन चिकित्सकका परिवारलाई समेत सम्झाउनु पर्ने अवस्था सिर्जना भएपनि अहिले सहज रूपमा जिम्मेवारी निर्वाह गर्ने वातावरण बनेको डा. पूजाले बताउनु भयो । कोरोनाविरुद्वको लडाइँमा डा. पूजाको भूमिका फराकिलो छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण कर्णालीमा नदेखिँदासम्म डा. पूजा बीसीको परिवार ढुक्क थियो । जब जेठ ५ मा दैलेखमै पहिलो पोजिटिभ संक्रमित भेटिए, तब बुबा देवकिरण बीसी, आमा ज्ञानुकुमारी थापासहित परिवारका अन्य सदस्यहरू पनि सशंकित बने । ‘मैले अस्पतालको नेतृत्व गरेकीले ड्युटी नगर भन्न त सक्नुभएन,’ पूजाले भनिन्, ‘तर घरबाट आमाले आत्तिएर फोन गर्ने, चिन्ता गर्ने गर्दा सम्झाउनै मुस्किल भयो ।’ अस्पतालमा तीनजना चिकित्सकको दरबन्दी भएपनि दरबन्दीमा उहाँ एक्लै हुनुहुन्छ । स्वास्थ्य मन्त्रालयबाट करारमा आउनु भएका डा. प्रशान्त चौलागाईं र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काजमा खटिनु भएका डा. दिनेश शाही र रोजनिन प्रधानले उहाँलाई साथ दिइरहनु भएको छ ।