लकडाउनमा पनि रोकिएन लागु औषध कारोबार
सुर्खेत ।
विश्वमा फैलिएको कोरोना महामारीले देश लकडाउन (बन्दाबन्दी) परेको बेला पनि आलु औषधको कारोवार भने रोकिएन । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लागु औषध ओसारपसार गर्ने हव जस्तै बनेको छ । नेपाल सरकारले लागु पदार्थको उत्पादन, ओसारपसार, विक्री वितरण, सञ्चय र सेवनलाई दण्डनीय अपराधको रुपमा परिभाषित गरेको छ । तरपनि सुर्खेतमा भने लुकीछिपी यसको विक्री वितरणदेखि सेवन गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

लकडाउनको अवधिमा २०७६ चैत्र ११ गतेदेखि २०७७ जेष्ठ ३२ गतेसम्म कर्णाली प्रदेशमा लागु औषध सम्बन्धि ४ वटा मुद्दा दर्ता भएका छन् । ती मध्य सुर्खेतमा ३ र जुम्लामा १ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यसैगरि लागु औषध कारोवार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका ४ पुरुष र १ महिला तथा जुम्लाका एक पुरुष रहेका छन् ।
यस अवधिमा सुर्खेतमा २१ ग्राम २८० मिलिग्राम ब्राउन सुगर र जुम्लामा १ सय ९ ग्राम चरेश प्रहरी पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेतले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको बबई तथा पश्चिमको पञ्चपुरी नाकाबाट सुर्खेतमा लागु औषध भित्रिने गर्दछ । यसरी सुर्खेत भित्रिएको लागु औषध अन्य जिल्लाहरुमा समेत ओसारपसार हुने गरेको छ ।
सुर्खेतमा रहेर लागुऔषधको कारोवार गर्नेहरु नेपालगञ्ज हुँदै रुपैडिहा पुगेर लागु औषध खरिद गर्ने र सुर्खेत ल्याएर बेच्ने गर्दछन् । रुपैडिहा नाका हुँदै आउनेहरुलाई जमुनाहा नाकामा रहेको सशस्त्र प्रहरीको विशेष टोली र लागु औषध ब्यूरोको टोलीले चेकजाँच गर्ने गरेपनि प्रहरीकै आँखा छलेर उनीहरु कारोवार गर्दछन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नेपालगञ्ज नजिकै रहेको र भारतको रुपैडिहा बजार नेपालगञ्जको नजिकै हुनु र अर्कोतिर खुला सीमा हुनुले पनि भारतीय बजारबाट लागु औषधको कारोवार गर्नेहरुलाई सहज भएको हुन सक्छ । त्यस तर्फ प्रहरी प्रशासनले सक्रियता बढाएको खण्डमा केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
जमुनाहा नाकामा चौविसै घण्टा चेकिङमा रहने लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गर्ने किशोर÷युवामा सुर्खेतका बढी हुने गरेका छन् । लागु औषधी बोकेर फर्किदा पक्राउ परेका किशोर÷युवाको तथ्यांक हेर्दा सुर्खेतका बढी रहेको लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्जले जनाएको छ ।
यता वीरेन्द्रनगर उपत्यका भित्रै पनि लागु औषधका कारोबारहरु हुने गरेका छन् । विशेष गरि युवा वर्गलाई नै प्रभावित हुने गरि गाँजा, भाङ, चरेश, अफिमलगायतका वस्तुहरुको कारोवार हुने गरेको छ । विशेष गरि सुर्खेत उपत्यकाको छेउमा रहेका बस्तीहरुमा यस्ता कारोवारहरु दिन दहाडै हुने गरेका छन् । भित्रको वस्तीसम्म प्रहरी नपुग्ने भएकोले पनि लागु औषधका कारोवारीहरु फस्टाइरहेका छन् ।
लागु औषध सेवनले घरमा झगडा, सम्बन्ध विच्छेद, दुर्घटना, सामाजिक अपराध र व्यभिचार समेत हुने गर्दछ । अर्को तर्फ लागु औषध सेवनकर्तालाई विभिन्न रोगको संक्रमण पनि अन्यहरुको दाँजोमा बढि हुने गर्दछ । तरपनि सजिलै पैसा कमाउन सकिने तथा अर्काको लहलहैमा लागेर कतिपय यूवाहरु यस कार्यमा लाग्ने गरेका छन् । तर यस्तो कारोवारले आफ्नो भविष्य नै अन्धकार हुने कुरामा उनीहरु किन सचेत हुन नसकेका होलान ?






