एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता गम्भीर घाइते
अछाम
१२ असार २०७४
अछामको मेल्लेख गाउँपालिकाको सरानी गाउँमा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट दुई कांग्रेस कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
राजनीतिक आस्थाका आधारमा विवाद हुँदा एमालेका चार कार्यकर्ताले कांग्रेसका दुई कार्यकर्तालाई सोमबार बिहान खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका स्थानीय पदम खड्काले जानकारी दिए ।
एमाले कार्यकर्ता हेमराज खडका, केशर खड्का, उमेश खड्का र कृष्ण खड्काले कांग्रेस कार्यकर्ता युवराज खड्का र प्रकाश खड्कालाई खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको पदमको भनाइ छ । खुकुरी प्रहारबाट युवराजको टाउकोमा छ/सात ठाउँमा चोटपटक लागेको र प्रकाशको पनि टाउकोमा चोट लागेको र बायाँ हात भाँचिएको प्रहरीले जानकारी दिएको छ । घाइतेद्वय सहोदर दाजुभाई हुन् ।
त्यस्तै ढुंगा प्रहारबाट प्रकाशको आमा ललितादेबि खड्कासमेत घाइते भएकी छन् । घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि स्ट्रेचरमा हालेर मेल्लेखतर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।
घाइतेसँगै कुटपिटमा संलग्न चारै जना र उनीहरुबाट बरामद गरिएको दुई थान तरबारसमेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख डिएसपी निरन्जनदत्त भट्टले जानकारी दिए ।
आइतबार बेलुकीपख दुवै पक्षबीच झगडा भएको र बिहान एक्कासी आएर दुई भाईलाई खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । खुकुरी प्रहार गर्नेको शरीरमासमेत सामान्य चोटपटक देखिएको जानकारी दिँदै भट्टले दुवै पक्षबीचमा छलफल गरेपछि मात्र विस्तृत जानकारी हुने बताए ।






