जनावरबाट सर्ने रोगले बर्सेनि २० लाख मानिसको मृत्यु
संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले जुनोटिक रोग अर्थात् जनावरबाट मानिसमा सर्ने रोग झन् झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने भन्दै चिन्ता व्यक्त गरेको छ।
कोभिड १९ जस्तो रोगको उदय हुनुमा जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उसको ठहर छ।
राष्ट्रसंघको उक्त निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्नेमा जोड दिएको छ। पछिल्ल ५० वर्षयता विश्वमा मासु उत्पादन २६० प्रतिशतले बढेको बताइएको छ।
बेवास्ता गरिएका जुनोटिक भनिने जनावरबाट सर्ने रोगले हरेक वर्ष २० लाख मानिसको ज्यान गइरहेको उसले बताएको छ। इबोला, वेस्ट नाइल फिभर, सार्स, कोभिड १९ सबै जनावरबाट सरेका रोग हुन्। यी रोग आफैँ जनावरबाट मानिसमा सर्दैनन्। जनावरको मासुको माग, बदलिँदो कृषि अभ्यास तथा जलवायु परिवर्तन यिनका कारक हुन्।
राष्ट्रसंघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनले रोग सर्ने कारक मानवीय गतिविधिलाई ठानेको छ। वन्यजन्तुको दुरुपयोग, प्राकृतिक स्रोतको जथाभावी दोहन तथा जलवायु परिवर्तनका कारण मानव जाति र जनावरबीचको अन्तरसम्बन्ध परिवर्तित भएको प्रतिवेदनले जनाएको छ।
ुबितेको एक शताब्दीमा हामीले कम्तीमा ६ वटा नयाँ प्रजातिका कोरोना भाइरसको महामारी देखेका छौँ। कोभिड १९ भन्दा अगावै गएको दुई दशकमा यस्ता रोगले एक सय अर्ब डलर बराबरको आर्थिक नोक्सानी गराइसकेका थिए,ु राष्ट्रसंघकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले बीबीसीसँग भनिन्।
न्यून तथा मध्यम आय भएका मुलुकहरूमा यस्ता जुनोटिक रोगहरूका कारण हरेक वर्ष २० लाख मानिसको ज्यान गइरहेको उनले बताइन्। ुयदि हामीले वन्यजन्तुको दुरुपयोग जारी राख्यौँ र पर्यावरण प्रणाली ध्वस्त पारिरह्यौँ भने आगामी वर्षहरूमा जनावरबाट मानिसमा सर्ने रोग निरन्तर बढ्नेछ,ु एन्डरसनले भनिन्।







