जिल्ला प्रशासनको सूचनाकै अटेरी
सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले पटक–पटक विभिन्न नियमहरु बनाइएका सूचनाहरु प्रकाशित गर्ने गरेको छ । पछिल्लो समयमा विश्वमा फैलिएको महामारी कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ नेपाल सरकार र सरोकारवालाहरुले जारी गर्ने विभिन्न सूचना तथा निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि विभिन्न सूचनाहरु जारी गर्दै आइरहेको भएपनि सरोकारवालाहरु त्यस्ता सूचनालाई टेर्दैनन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही असार १७ गतेका दिनदेखि लकडाउनलाई केही कडाइ गर्ने योजनाका साथ सार्वजनिक सूचना जारी ग¥यो । जसमा असार १९ गतेदेखि लागु हुने गरि अत्यावश्यक सेवा बाहेकका पसलहरु प्रत्येक शनिबार बन्द गर्ने र अन्य दिनहरुमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुला गर्ने भनिएको छ । तर यो नियमको व्यहारिक रुपमा लागु भएको छैन ।
यसैगरि होटल तथा रेष्टुरेण्ट लगायतका खाजा पसलहरु होमप्याक बाहेक पूर्ण रुपमा बन्द गर्ने सूचना भएपनि यसको पनि पालना भएको छैन भने खुला रहने पसलमा अनिवार्य मूल्यसूची टाँस गर्ने सुूचना जारी भएको भएपनि अधिकांश पसलहरु मूल्यसूची टाँस नै नगरि संचालन भइरहेका छन् । सवारी साधन संचालनको सम्बन्धमा जोर विजोर प्रणालीलाई यथावत गर्ने भनेपनि सुर्खेतमा खास भन्ने हो जोर विजोर प्रणाली नै लागु भएको छैन भने तीन पाङ्ग्रे सवारी साधन (अटो) पूर्ण रुपमा बन्द गर्ने भनिएको भएपनि निर्वाध रुपमा मान्छे कोचाकोच गरि अटोहरु संचालन भइरहेका छन् ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत पदमलाल लामिछाने भने, ‘ नीति नियम र कानूनको अटेरी गर्नेलाई कारवाही गर्छौ ।’ अनुगमन गरेर सूचनाको अवज्ञा गरेको पाइएमा संक्रमक रोग ऐन अनुसार रु १०० सम्म जरिवाना गर्ने र त्यसमा पनि असहयोग गरेमा ६ सयसम्म जरिवाना गर्ने प्रावधान छ ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्ट भने प्रशासनका सूचनाहरु कार्यान्वयन भएको बताउँछन् । ‘सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकोले कार्यालय जाने कर्मचारी, अत्यावश्यक सेवाका लागि छोडिएको भएपनि यही असार १९ गते पछि कडाइ गरेका छौ । अटेरी गर्नेहरुलाई कारवाही गरेका छौ’ एसपी भट्टले बताए ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले ‘अनिवार्य रुपमा मास्क लगाउने बारे’ को सूचना जारी गरेको छ । ‘कोभिड –१९ नियन्त्रण, रोकथाम र प्रतिकार्यका लागि नेपाल सरकारबाट जारी बन्दाबन्दीको अवस्थालाई मध्यनजर गरि नारी गरिएका विभिन्न मितिका निर्णय, निर्देशनका बावजुद नेपाल सरकारद्वारा जारी आदेशको बर्खिलाप हुने गरि न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरि मास्क बिना मानिसहरुको आवतजावत हुने, भीडभाड गर्ने,, सामाजिक दुरी कायम नगर्ने प्रवृत्तिले कोभिड –१९ को जोखिम भयावह हुने अवस्था विद्यामान रहेकोले जनस्वास्थ्य र सुरक्षा मापखण्ड पालना गर्ने तथा मास्कको प्रयोग अनिवार्य गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’ साथै मास्क प्रयोग गर्न अटेर गर्नेहरु उपर संक्रमण रोग ऐन २०२० बमोजिम कडा कारवाही हुने समेत सूचनामा उल्लेख गरि सूचना प्रकाशित गरेको छ हेरौं यो सूचना कत्तिको पालना हुन्छ ।







