ओलीको राष्ट्रियता कागजी बाघ
काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको आरोप लगाउनुभएको छ । गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरूसँगको भर्चुअल बैठकमा नेता पौडेलले ओली राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण बिगारेको आरोप लगाउनुभयो ।
वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरूको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताउनुभयो । उहाँले कम्युनिष्टहरूले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताउन्ुभयो । पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको भन्दै कम्युनिष्टहरूले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेल भन्दा अरू कुनै काम गर्ने ढंग नभएको बताउनुभयो ।
पौडेलले पहिलो संविधानसभाको पालामा तत्कालीन सभामुख र प्रधानमन्त्रीले व्यवस्थाको बदनाम गराउनका लागि प्रधानमन्त्रीको चुनाव १७÷१७ पटक गराएको बताउँदै उनीहरूले नै आफ्नो पनि बदनाम गराएको बताउनुभयो । पौडेलले कम्युनिष्ट सिद्धान्त भएका सभामुख र प्रधानमन्त्रीले संसदीय व्यवस्थाको बदनाम गराउनका लागि प्रधानमन्त्रीको चुनाव १७ पटक गराएको बताउनुभयो ।
उहाँले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरू सक्रिय हुन्छन् कि भन्नेमा खबरदारी गर्न आग्रह गर्नुभयो । क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने नेता पौडेलको भनाइ थियो ।
हिमालय टाइम्स






